• १६ भदौ २०८१, आइतबार

सुदूरपश्चिममा सभामुख चयनका लागि पुनः चुनाव हुँदै

blog

प्रकाशविक्रम शाह
धनगढी, पुस ३० गते । 
सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि पुनः चुनाव हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक नरेशबहादुर शाहीले आज (शनिबार) बसेको सर्वदलीय बैठकले साँझ ६ बजे सभामुख चयनका लागि पुनः  चुनाव गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सभामुखका लागि सत्तारुढ दलका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलबीच प्रतिस्पर्धा हुने प्रमुख सचेतक शाहीले बताउनुभयो । ५३ सदस्यीय प्रदेशसभाको ५१ प्रतिशत अर्थात् २७ जनाको मत पाएर सभामुख छानिन नसकेपछि आज पुनः चुनाव हुने लागेको हो ।

पुस २८ गतेको निर्वाचनमा सत्तापक्षका उम्मेदवार भण्डारीले २६ र कांग्रेसका रावलले २३ मत पाउनुभएको थियो ।  निर्वाचनमा सत्ता पक्षको एक मत बदर भएको थियो । यस्तै, गरेर सत्तापक्षकै नेकपा (एमाले) का चक्रबहादुर मल्ल र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी मतदानमा सहभागी हुनु भएन । यस्तै, सभामुखको भूमिकामा रहेकाले प्रतिपक्षका शिवराज भट्ले मतदान गर्न पाउनुभएन ।

प्रदेश सभामा सत्तापक्षका दल नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक गरेर २९ जना प्रदेश सभा सदस्य हुनुहुन्छ । यो सङ्ख्या सभामुख छान्नलाई  आवश्यक पर्ने भन्दा दुई बढी हो । यस्तै, प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्र एक गरेर २४ जना छन् ।