राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विभिन्न राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरे। त्यसअघिका केही राजाले एकीकरण प्रयास नगरेका होइनन् तर सफल हुन सकेका थिएनन्। सेनकालीन राजा मुकुन्द सेन र लोहाङ सेनले राज्य विस्तार गरे पनि तिनीहरूले आआफ्ना छोरालाई भागबण्डा लगाइ पुख्र्यौली सम्पत्तिका रूपमा प्रयोग गरे । त्यसभन्दा अघि भक्तपुरका राजा यक्ष मल्लले पनि दक्षिण हरिहरक्षेत्र पाटलीपुत्र (पटना) सम्म राज्य विस्तार गरे पनि छोराहरूलाई काठमाडौँ उपत्यका कान्तिपुर, पाटन र भक्तपुरका राज्य भाइमाझ भागबण्डा गरिदिए।
गोरखाका राजा पृथ्वीनारायणले राज्य विस्तार नगरी एकीकरण गरे। त्यसैले उनी राष्ट्रनिर्माता कहलिए। तत्कालीन गोरखा सानो राज्य थियो। बलियो साधन र स्रोतको अभाव रहे पनि त्यहाँका राजा पृथ्वीनारायण निकै साहसी र दूरदर्शी थिए। त्यतिबेला भारतमा अङ्ग्रेजले इस्ट इन्डिया कम्पनीको रूपमा शासन गरिरहेको थियो। वरिपरिका राज्यमाथि आक्रमण गरी कम्पनी सरकारमा विलीन गराउने अभियान उनीहरूले चालेका थिए। त्यसैले नेपालमाथि पनि गिद्धे दृष्टि लगाएका थिए। यसको जानकारी पृथ्वीनारायणलाई भइसकेको थियो। त्यसैले उनी विभिन्न राज्य रजौटालाई एकीकरण गरी विशाल नेपाल बनाउन चाहन्थे। वि.सं. १८०० मा राज्याभिषेकपछि १९ वर्षको उमेरमै एकीकरणको अभियान थाले। सर्वप्रथम वि.सं. १८०१ असोज १५ गते नुवाकोटमाथि आक्रमण गरी एकीकरण आरम्भ गरे। वि.सं. १८११ साउन २१ गते नगरकोट र दहचोकमाथि आक्रमण गरेका शाहले त्यसपछि विशाल मकवानपुर राज्यमाथि आक्रमण गर्दा ठूलो सङ्घर्ष गर्नुपर्यो। मकवानपुर राजाको सहयोगमा आएका बङ्गालका नबाव मिरकासिमको सेनासित गोर्खाली सेनाको कैयौँ दिनसम्म युद्ध चल्यो र बङ्गाली सेना पराजित भए।
पृथ्वीनारायणले ठूलो त्याग र बलिदान गरी तराई मधेश एकीकरण गरी विशाल नेपालको नासो स्थानीयलाई नै सुम्पिए। त्यसैले यसको अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्नु सबै राष्ट्रवादी नेपालीको कर्तव्य हो ।
पृथ्वीनारायणले वि.सं. १८२२ चैत ३ गते कीर्तिपुरमाथि आधिपत्य जमाए। कान्तिपुरका राजा जयप्रकाश मल्लको सहयोगार्थ अङ्ग्रेजी फौज आएको थाहा पाएपछि गोर्खाली सेनाले सिन्धुलीगढीलाई चारैतिरबाट घेरा हाली आक्रमण गर्यो। त्यस युद्धमा हजारौँले मृत्युवरण गरे भने कति ज्यान जोगाएर भागे। वि.सं. १८२५ असोज १५ गते कान्तिपुर (काठमाडौँ) माथि गोर्खाली फौजले सजिलैसित विजय हासिल गरी एकीकरण गरे। त्यसको लगत्तै ललितपुर र भक्तपुर पनि गाभियो।
पहाडी भूभाग एकीकरण गरेपछि पृथ्वीनारायणले तराईका मकवानपुर राज्यअन्तर्गत रहेका भूभागमाथि आक्रमण गरी एकीकरण गर्ने योजना बनाए। सन् १७६७ सेप्टेम्बरमा सिन्धुलीको लडाइँमा हारेर कप्तान किनलक फर्किंदा पृथ्वीनारायणले केही हलुका महसुस गरे। सिन्धुलीबाट कप्तान किनलक तल्लहट्टीमा आएर बारा, पर्सा र रौतहटमा मालपोत तहसिल गर्थे। बागमती नदीदेखि पूर्वपट्टि रौतहट, सर्लाही र महोत्तरी तथा पश्चिमका बारा, पर्सा, मकवानपुर राज्यमा भएकाले त्यो गोरखा राज्यमा एकीकरण भएपछि स्वतः नेपालमा गाभियो। सन् १७६७–७० का बीचमा बङ्गाल र विहारको अवस्था परिवर्तन भइरह्यो। सन् १७६७ मा किनलक हटेर गएपछि सन् १७६९ मा बङ्गालको गभर्नरमा कार्टियरको नियुक्ति भयो।
मकवानपुर मालका सुब्बा दीनानाथ उपाध्याय (दाहाल) चतुर र देशभक्त थिए। उनका पिता पुर्खासमेत मकवानपुर राजाका पालादेखि मालपोत विभागमा काम गर्दै आएका र उनी पनि यसै विभागका कारिन्दा हुनाले त्यहाँ रहेका सबै कागजपत्रका बारेमा जानकारी थियो। मकवानपुरमा गोर्खालीको अधिकार भएपछि उनी पनि गोर्खाली बनेका थिए । मालपोतसम्बन्धी काममा निपुण भएकाले पृथ्वीनारायणले उनलाई मकवानपुर मालका सुब्बामा नियुक्त गरे।
बङ्गाल, बिहारका घटनाबारे पृथ्वीनारायणलाई राम्रो ज्ञान थियो। त्यस समय अङ्ग्रेजहरूको शक्ति गलेकाले र काठमाडौँ उपत्यका पनि आफ्नो अधीनमा आइसकेको हुँदा तल्लहटी (तराई) को समस्याको समाधान गर्ने प्रयासमा लागेका थिए। त्यसैले सुब्बा दीनानाथ उपाध्यायलाई काठमाडौँ झिकाइ परामर्श गरे । मकवानपुरका राजाले मुगल सम्राट् औरङ्गजेबका समयदेखि प्रतिवर्ष १४ हातको एक हात्ती तथा चौध तमसुकको एक हात मालपोत स्वरूप दिल्लीका बादशाहलाई दिल्लीमा पठाउने गरिएको थियो। पछि मुर्सिवादको नबावको हातमा सत्ता आएपछि यिनै नबावहरूको पटनामा रहेका अफिसरहरूलाई १२ तमसुकको एक हात र साढे १२ हातको हात्ती बुझाउने गरेको थियो। यसै स्रेस्ताका आधारमा पृथ्वीनारायणले दीनानाथलाई अङ्ग्रेजसित सम्झौता गरी तराईको समस्या समाधान गर्ने निर्णय गरे।
यस कामका लागि पृथ्वीनारायणले आवश्यक कागजपत्रका साथ सुब्बा दीनानाथलाई खटाए। सन् १७७१ को जनवरी पहिलो साता तराईको महोत्तरी जिल्लासँग जोडिएको दरभङ्गा जिल्लाका हाकिम मेजर केलीसमक्ष पुगेर उनले आफू आउनाको उद्देश्य बताए। केलीले पनि उपाध्यायलाई पटना पठाइदिए । पटना पुगेर उनले त्यहाँका कौन्सिल हाकिमसमक्ष पृथ्वीनारायणले पठाएको पत्र पेस गरे । त्यसपत्रमा ‘पर्सादेखि महोत्तरीसम्मको तलहट्टी (तराई) मकवानपुरका राजाहरूको अधीनमा थियो। अब मकवानपुरका राज्यमाथि मेरो अधिकार कायम भएकाले उक्त क्षेत्रहरू पनि मेरा अधिकारभित्र आएका छन्। मकवानपुरका राजाहरूले तिरेसरहको मालपोत म पनि तिर्न तयार छु, त्यसैले मेरो अधिकार कायम होस्’ भनी उल्लेख गरिएको थियो।
यसका जवाफमा पटना काउन्सिलका प्रमुखले सम्बन्धित स्रेस्ता जाँचेपछि सुब्बा दीनानाथका दाबीलाई स्वीकार गरी
औरङ्गजेबका समयदेखि बुझाउँदै आएको चौध तमसुकको एक हात र चौध हातको हात्तीका साथ गतवर्षको बक्यौता रकम १५ हजार रुपियाँ माग गरे। हुन त आधा तलहट्टी (तराई) को मालपोत सन् १७६७ देखि किनलकले र पूर्वपट्टिको आधा जति उपाध्यायले उठाउने गर्थे। तापनि सधैँका लागि कचिङ्गल समाप्त होस् भनी बक्यौता १५ हजार उपाध्यायले दिन स्वीकार गरे । यसप्रकार विवादको टुङ्गो लाग्यो। यस वर्षदेखि नापबमोजिमको हात्ती र १५ हजार दिने कबुलियत गरिदिए। सन् १७७१ अप्रिल महिनामा किनलकले आफ्ना मातहतका सैनिक फिर्ता गरे। सुब्बा दीनानाथले पनि रकम बुझाइ कबुलियत फिर्ता लिए। पछि मेजर केलीले रौतहटतिरको तौतर प्रगन्नाको बारे विवाद उठाएपछि त्यो पनि समाधान भयो । यसरी पूर्वी मध्य तराईका समस्या समाप्त भई अङ्ग्रेजले उक्त भूभाग नेपाललाई सुम्पे।
त्यसपछि पूर्वी पहाड र पूर्वी तराईका क्षेत्र पृथ्वीनारायणका सेनापति अभिमानसिंह बस्नेतको नेतृत्वमा कब्जा गरियो। मकवानपुरका राजा हेमकर्ण सेनले आफ्ना भाइ जगत् सेनलाई चौदण्डी र माफ किराँतको राज्य प्रशासन चलाउन जिम्मा दिएका थिए। पछि मकवानपुर टुक्रिएर सन् १७३५ चौदण्डी राज्य बनेको थियो । जगत् सेनपछि मुकुन्द सेन (तेस्रो) विक्रम सेन र कर्ण सेन राजा हुनुभयो। पछि पृथ्वीनारायणका सेनाले कर्ण सेनलाई पराजित गरेको थियो। यसरी पूर्वी तराईका सप्तरी, सिराहा, मोरङ र झापा जिल्लालाई पृथ्वीनारायणले विजय गरे। विजय पाएका राज्यहरूमा पृथ्वीनारायणले आफ्नो भाषा र संस्कृति नलादेर स्थानीयलाई प्रोत्साहन गरे। उनले सप्तरीका स्थानीय जमिन्दारहरूलाई मैथिली भाषामा सनद जारी गरेका थिए। जुन यसप्रकार छ–
“स्वस्तिश्री गिरीराजचक्र चूडामणि नरनारायण विविध विरुदावली विराजमान मान्नोनत श्रीमन्महाराजाधिकार श्री श्री श्री श्री श्री पृथ्वी नारायण शाहदेव, देवानासमक्ष भर विजयनाम आगे जीतु राउत के प्रगन्ना चेखन्त, मौजे कालाबन्जर अङ्क १ से जे तरह सौ देलरहे से सहित हम उगाद बकस क देल है। अप्पन खातिर जितु के सभ माफ क देल है। मौकदमी सेहो जितु राउत के देल है अप्पन खातिर वैसु हजुर के सेवा करु–
इति सम्बत १८१९ साल फागुन सुदी रोज १ हरिहरपुर शुभम्।
त्यसैगरी जनकपुरका महन्थ सुमरन दासलाई वि.सं. १८२८ मैथिली भाषामा तथा विजयपुर (धरान) लालमोहर गर्नुभएको थियो । यसरी राष्ट्रनिर्माता पृथ्वीनारायणले तराई मधेश एकीकरण गरी विशाल नेपालको नासो नेपालीलाई सुम्पिए। यसको अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्नु सबै राष्ट्रवादी नेपालीको कर्तव्य हो। पृथ्वीनारायण नेपाली र राष्ट्रियता तथा राष्ट्रिय एकताका प्रतीक हुन्।