जनार्जन खत्री
सर्लाही, पुस २६ गते । गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत सञ्चालित सर्लाहीका आठ क्रसर उद्योग बन्द गराइएको छ । बन्द गराइएको आठ क्रसर उद्योगमध्ये पाँच उद्योग बागमती नगरपालिकाभित्रका रहेका छन् ।
मन्त्रालयले मापदण्ड मिचेर सञ्चालनमा रहेका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र तत्काल बन्द गराउन निर्देशन दिएपछि पहिलो चरणमा दर्ताबिनै सञ्चालित आठ क्रसर उद्योग बन्द गराइएको हो ।
बन्द गरिएका क्रसर उद्योगहरूमा हरिओम एग्रिगेट इन्डष्ट्रीज बागमती, एलिट एग्रिगेट प्रालि बागमती, गौतम गिटी बालुवा प्रशोधन एण्ड क्रसर उद्योग बरहथवा, हजरिया बालुवा गिटी प्रशोधन कम्पनी प्रालि बरहथवालगायत रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा २० क्रसर उद्योग दर्ता छन् ।
घरेलुमा दर्ता भएकामध्ये पनि धेरै उद्योगले नवीकरण नगराएको पाइएको छ । क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रको अनुगमन गर्न सोमबार मात्रै सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति नै गठन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीको संयोजकत्वमा गठित सो समितिको अनुगमन प्रतिवेदनको आधारमा मापदण्ड मिचेर चलाइएका यहाँका अन्य क्रसर उद्योगहरू पनि बन्द गराइने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । जिल्लामा अधिकांश क्रसर उद्योग मानव बस्ती, वन जङ्गल र मुख्य राजमार्ग नजिकै सञ्चालित छन् ।
क्रसर उद्योगले नजिकका खोलाबाट अवैध रूपमा उत्खनन गर्ने गरेको गुनासो बारम्बार आउने गरेको छ ।