• १३ साउन २०८१, आइतबार

कार्यकारी प्रमुखको प्रतिबद्धता

blog

भनिन्छ, मूल सफा भएपछि खोला, नदी फोहोर हुने आशङ्का नै रहँदैन । नेपाली राजनीतिमा पनि यही भनाइले ठूलो महत्त्व राख्ने गरेको छ । नेपाली राजनीतिको प्रमुख कार्यकारी पदको व्यक्तित्व भ्रष्टाचारलगायत अनियमितता नगर्ने तथा गर्न नदिने, मोलमोलाहिजा नगर्ने, जनभावनालाई सर्वोच्च भावमा राखेर सेवा दिने प्रवृत्तिको विकास हुन सके देशको मुहार फेरिनेमा कुनै शङ्का हुँदैन । नयाँ जनादेशअनुसार गठित सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको यो महत्त्वपूर्ण क्षणमा आफूले नराम्रो काम नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अब केही हुन्छ भन्ने आशाको सञ्चार गर्न यो प्रतिबद्धताको विशिष्ट महत्त्व छ । मूल सफा भएसँगै सबैतिर सफा हुँदै जाने विश्वास बढेको छ ।

 संविधान निर्माणपछिको दोस्रो कार्यकालको पहिलो संसद् अधिवेशन बस्न लागेको छ र यसै अधिवेशनको महत्त्वपूर्ण कार्यसूची संसद्बाट विश्वासको मत लिनुसमेत रहेको छ । प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धताले सरकारको भावी कार्यदिशाको स्पष्ट सङ्केत मिलेको छ । शनिबार एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको यो प्रतिबद्धतालाई आयामिक रूपमा बुझ्नुपर्ने हुन्छ । यसबाट आमजनतामा पक्कै पनि उत्साह तथा ऊर्जा थप्ने नै छ साथै विधायकलाई कार्यसम्पादनमा नयाँ मार्गचित्र प्राप्त हुनेछ । कार्यकारी प्रमुखको यो सार्वजनिक प्रतिबद्धताले सरकारमा सहभागी मन्त्री तथा प्रशासनयन्त्रमा नराम्रो काम नगर्न नरम चेतावनीको सुरुवाती कार्य गर्नेमा दुईमत छैन । यो भनाइको प्रत्यक्ष प्रभाव सरकारका कार्यमा क्रमिक रूपमा देखिनेछ । परिणामस्वरूप आमजनताले सहज तथा सरल तवरमा सरकारी सेवा प्राप्त गर्नेमा विश्वस्त आधार तयार भएको मान्न सकिन्छ । केही दिनअघि मात्र सेवाग्राहीलाई लामविहीन सेवा पु¥याउन प्रधानमन्त्रीले सचिवहरूलाई दिनुभएको निर्देशनको विस्तारित आयामका रूपमा समेत प्रधानमन्त्रीको प्रतिबद्धतालाई बुझ्न सकिन्छ ।

मुलुकमा गणतान्त्रिक व्यवस्था स्थापना भएपछि तेस्रो पटक प्रधानमन्त्री पद सम्हाल्दै गर्नुभएका प्रधानमन्त्रीसमक्ष अनेक चुनौती छन् । अर्थतन्त्र राम्रो छैन र विकास निर्माणले गति लिन सकेको छैन । महँगीले हरेक नेपालीको भान्सामा प्रभाव पारिरहेको छ । तर चुनौतीले नै अवसर सिर्जना गर्छ भन्ने गरिन्छ । प्रधानमन्त्रीले औँल्याउनु भएजस्तै तेस्रो पटकको प्रधानमन्त्रित्व काल चुनौतीपूर्ण भए पनि यो काम गर्ने सुवर्ण अवसरसमेत हो । प्रधानमन्त्री हुनुको अर्थ सिंहदरबारमा थप फोटो टाँस्नु मात्र पक्कै होइन, इतिहासमा नौलो आयाम थप्नुसमेत हो । यो तथ्यलाई आत्मसात् गर्दै आफ्नो कार्यकालमा मुलुकमा केही ताŒिवक परिवर्तन हुन सकोस् भन्ने चाहनाका रूपमा यो भनाइलाई लिइनु पर्छ । जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै विगतमा भन्दा नमुनायोग्य कार्यकाल बनाउन प्रधानमन्त्रीको जोश, जाँगर तथा प्रतिबद्धताले सिङ्गो मुलुक लाभान्वित हुनेछ ।

नेपाल मात्र होइन, विश्वभर नै इन्धनको मूल्यले महँगी बढाएको छ । आमजनताको दैनिकीलाई निकै सकसपूर्ण बनाइरहेको यथार्थ कसैबाट लुकेको छैन । तसर्थ नयाँ सरकारबाट अर्थतन्त्रलाई पूर्ण चलायमान बनाउँदै आमनागरिकले सहज जीवनयापनको आशा राख्नु स्वाभाविक हो । जनताका अपेक्षा पूरा गर्नु सरकारको जिम्मेवारी भएको स्वयं प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ । यसले निश्चित रूपमा सरकारबाट जनताको पक्षमा सकारात्मक र प्रगतिशील कार्य हुनेमा निश्चिन्त रहन सकिन्छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने जुन प्रतिबद्धता व्यक्त गर्नुभएको छ, त्यसबाट मुलुकको मौजुदा अवस्थामा ठूलो परिवर्तन ल्याउन सक्छ । यसअघि पहिलो कार्यकालमा नयाँ नेपालको मार्गचित्रसँगै नेपालीमा आशा जगाएको थियो । दोस्रो कार्यकालमा संविधान कार्यान्वयनले गति लिएको यहाँ स्मरणीय छ ।

समग्रमा प्रचण्डजस्ता क्रान्तिकारी नेताको नेतृत्वमा मुलुक र मुलुकवासीले विकास, समृद्धि तथा सामाजिक न्यायका मार्गमा ठूलो अपेक्षा राख्नु कुनै अतिशयोक्तिपूर्ण हुँदैन । यस अर्थमा प्रधानमन्त्री प्रचण्डका भनाइ र गराइमा निकै तादम्यतासमेत पाइन्छ । उच्च मनोबल तथा मुलुकको विकास समृद्धिका निम्ति प्रधानमन्त्री प्रचण्डको यो तेस्रो कार्यकाल प्रतिबद्धताबमोजिम नै अगाडि बढाउन सबैको सहयोग आवश्यक छ । यसका निम्ति सरकारलाई गठबन्धनका सहयात्रीका साथै अन्य राजनीतिक दल तथा आमजनताको साथ सहयोग निकै महत्वपूर्ण हुनेछ । इतिहासको जटिल मोडमा रहेको नेपालको समृद्धि सपना साकार पार्नु नै भावी नेपालको सफल मार्गचित्र हो भन्ने कुरा सबैले मनन गर्नु वाञ्छनीय छ ।