• १३ साउन २०८१, आइतबार

सौन्दर्य कलामा बढ्दो आकर्षण

blog

राधाकृष्ण डुम्रे

वालिङ, पुस २५ गते । वालिङका ब्युटिसियनहरूले सौन्दर्य कलासम्बन्धी एड्भान्स तालिम लिन सुरु गरेका छन्। सहर बजारका महिला प्रायः नियमित नै ब्युटिपार्लर जाने गर्छन्, जसका कारण यो पेसामा लाग्नेहरूको आकर्षण पनि बढ्दो छ।

“समयअनुसारको सीप हामीले पनि जान्नैपर्ने हुन्छ, त्यसैले समय–समयमा एड्भान्स तालिम लिने गरेका छौँ,” १५ वर्षदेखि वालिङमा ब्युटिसियनको काम गर्दै आउनुभएकी पमिला गुरुङले भन्नुभयो, “विदेशमा गर्ने गरिएका मेकअपका तस्बिर लिएर यस्तै बनाइदिनु प-यो भन्दै  आउनुहुन्छ, त्यसैले पनि हामीले सिक्नै प-यो।” शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ‘सक्षम महिला समानान्तर पाइला कार्यक्रम’अन्तर्गत महिला उद्यमशीलता कार्यक्रमअनुसार ब्युटिसियनहरूको दक्षता तथा सीप वृद्धिका लागि तालिम सञ्चालन गरिएको प्रशिक्षक पुष्पा अर्यालले बताउनुभयो। 

तालिममा वालिङ नगरपालिकाभित्रका २५ जनाको सहभागिता थियो। आर्थिक गतिविधि चलायमान बनाउन पनि ब्युटिसियन व्यवसायले सहयोग गर्ने वालिङ उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समितिका अध्यक्ष कविता भुसाल बताउनुहुन्छ। अन्तर्राष्ट्रियस्तरमा भित्रिएका नयाँ सिप तथा प्रविधिबारे जानकारी दिन निरन्तर तालिम आवश्यक रहेको अर्का प्रशिक्षक बिना गुरुङको भनाइ छ।