• १२ असोज २०८१, शनिबार

वडामा दोहोरो जिम्मेवारी

blog

हिले समाचारदाता

हिले, पुस २५ गते । धनकुटाको शहीदभूमि गाउँपालिका–१ का वडा सचिव अहेव (अब्जुलेरी हेल्थ वर्कर) सुमितकुमार रामलाई सेवा प्रवाह गर्न निकै कठिन छ। उहाँ एकैले वडा तथा स्थानीय स्वास्थ्य चौकीमा सेवा प्रवाह गर्नुपर्ने हुन्छ। 

स्थानीय स्वास्थ्यचौकीमा कार्यरत उहाँलाई वि.सं. २०७६ माघदेखि वडाको निमित्त वडा सचिवको जिम्मेवारीसमेत थमाइयो। त्यसपछि उहाँले निरन्तर वडा र स्वास्थ्य चौकीमा गरी दुईतिर सेवा प्रवाह गर्दै आउनुभएको छ। वडा कार्यालय र स्वास्थ्य चौकीको करिब एक घण्टाको पैदल दूरीमा रहेको छ। 

दैनिक दुई/तीन पटक वडा कार्यालय र स्वास्थ्य चौकी ओहोरदोहोर गर्नु उहाँको दिनचर्या नै बनेको छ। वडामा हुँदा स्वास्थ्य चौकीमा सेवा दिन नसक्ने तथा स्वास्थ्य चौकीमा हुँदा वडामा सेवा दिन नसक्ने उहाँको भनाइ छ। “दुवैतिर सकेसम्म राम्रो सेवा दिन कोसिस गरिरहेको छु। सधैँभरि त समस्या आउँदैन तर कहिलेकाहीँ धेरै नै समस्या आउँछ,” राम भन्नुहुन्छ। 

सामान्यतया स्थानीय तहमा काम गर्न सहज हुने गरी प्रमुख प्रशासकीय अधिकृत तथा वडामा वडा सचिवको जिम्मेवारी प्रशासनतर्फका कर्मचारीलाई दिइने व्यवस्था गरिएको हुन्छ तर धनकुटाका धेरै स्थानीय तहका वडा सचिव प्राविधिक सेवातर्फका छन्। प्राविधिकतर्फका कर्मचारी प्रायः कार्यस्थलमा जाने भएकाले दोहोरो जिम्मेवारीमा रहँदा सेवा प्रवाहमा धेरै नै समस्या हुने गरेको छ।  

कर्मचारी अभावका कारण एकै व्यक्तिलाई दुईतिरको जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ। कर्मचारी माग गरिएको लामो समयसम्म पनि कर्मचारी नपठाइएको गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो। 

शहीदभूमि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पनि अहेवले नै सम्हालेका छन्। अहेव फकिर मोहम्मदले गत मङ्सिरबाट निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिनुभएको हो। उहाँ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतको माग गर्दा विभागीय मन्त्री आएपछि मात्र पठाउने आश्वासन पाएको पालिका प्रमुख राईले जानकारी दिनुभयो। आर्थिक अधिकारसहितको कार्यकारी नहुँदा गाउँपालिकाको काम गर्न धेरै नै असहज भएको राईको भनाइ छ। 

यो समस्या शहीदभूमि गाउँपालिकाको मात्र हैन। धनकुटाका महालक्ष्मी नगरपालिकाका चारवटा वडामा प्राविधिकतर्फका निमित्त वडा सचिव छन्। महालक्ष्मीको वडा नं. ४ मा सिभिल एसोसिएट सब इन्जिनियर सुजित विश्वास, वडा नं. ६ मा पशु चिकित्सक लालबहादुर महतरा, ८ मा सिभिल एसोसिएट सब इन्जिनियर अञ्जय यादव र ९ मा पशु चिकित्सक दुर्गा कबर रहनुभएको छ। कर्मचारी अभावका कारण फरक फाँटका कर्मचारीलाई जिम्मा दिइएको महालक्ष्मी नगरपालिकाले जनाएको छ। फरक फाँटका व्यक्तिलाई वडाको जिम्मा दिइँदा काम गर्न धेरै नै समस्या हुने गरको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राय बताउनुहुन्छ। “फरक फाँटका कर्मचारीहरू हुनुहुन्छ। दुईतिर काम भ्याउनुपर्छ समस्या छ। माग त गरेका छौँ तर आउने छाँटकाँट छैन,” राय भन्नुहुन्छ।

धनकुटाको साँगुरीगढी गाउँपालिकामा पनि तीन वडामा प्राविधिकतर्फका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ। साँगुरीगढी–८ मा सिभिल एसोसिएट सब इन्जिनियर कोपिला पौडेल तथा ९ र १० को जिम्मेवारी सिभिल एसोसिएट सब इन्जिनियर सन्तोष लिम्बूले पाउनुभएको छ। यहाँ पनि कर्मचारी अभावकै कारण प्राविधिकतर्फका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत मनोज शाहले जानकारी दिनुभयो। 

पटक–पटक कर्मचारी माग गरिए पनि कर्मचारी पाउन नसकेको गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई बताउनुहुन्छ। “एउटै व्यक्तिले दुई वडासम्म हेर्नुपर्ने अवस्था छ। कर्मचारी माग गरेको धेरै भइसक्यो तर पठाइएकै छैन,” पालिकाका अध्यक्ष राईको गुनासो छ।

धनकुटाको पाख्रिबास नगरपालिकाका निमित्त प्रमुख पनि पशु सेवातर्फका हुनुहुन्छ। प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल पाख्रिबासबाट हिँडेसँगै पशु शाखा प्रमुख गोरख तामाङलाई निमित्तको जिम्मेवारी दिइएको छ। धनकुटा नगरपालिका–१ को वडा सचिवको जिम्मेवारी पनि पशु सेवातर्फका लोकबहादुर मगरलाई दिइएको छ। पालिकाबाट अन्य कर्मचारी वडा जान नमानेपछि मगरलाई जिम्मा दिइएको नगरपालिकाले जनाएको छ।