• १३ साउन २०८१, आइतबार

वास्तुकला प्रदर्शनी : कला र विज्ञान दुवै समावेश

blog

गोरखापत्र अनलाइन

ललितपुर, पुस २४ गते । पुल्चोक इन्जिनियरिङ् क्याम्पस ललितपुरका विद्यार्थीले वास्तुकला प्रदर्शनी गरेका छन् । कजेलका चौ‌थो वर्षका विद्यार्थीले पुुस २२ देखि २४ गतेसम्म क्याम्पस परिसरमा वास्तुकलासँग सम्बन्धित सामग्रीको प्रदर्शनी गरेका हुन् ।

प्रत्येक वर्ष क्याम्पसका चौथो वर्षका विद्यार्थीले वास्तुकला सम्बन्धित प्रदर्शनी गर्दै आएका छन् । कोरोना महामारी सुरु भएपछि भने प्रदर्शनी रोकिएको थियो । वास्तुकला प्रदर्शनीका संयोजक केन्द्रित पौडेलका अनुसार नेपालमा अहिले आर्किटेक्चर भनेको नक्सा डिजाइन मात्र सोच्ने गरिएकाले यसलाई चिर्न पनि प्रदर्शनी आयोजना गरिएको हो ।  

उहाँले भन्नुभयो, ‘‘नेपालमा आर्किटेक्चर भनेको घरको नक्सा डिजाइन मात्र गर्ने भन्ने सोच छ तर यो बृहत् क्षेत्र हो । यसमा कला र विज्ञान दुवै समावेश भएको हुन्छ । यसलाई चिर्न पनि वास्तुकला प्रदर्शनी गरिएको हो ।’’ 

यस प्रदर्शनीमा आएपछि वास्तुकला भनेको के हो र यसको प्रयोग कसरी गर्ने भन्ने थाहा हुने पौडेलको भनाइ छ । पुल्चोक कलेजका विद्यार्थीले यस प्रदर्शनीलाई ‘१४ औँ राष्ट्रिय आशा वास्तुकला प्रदर्शनी’ नाम दिएका छन् । करिब पाँच हजार जनाले प्रदर्शनीको अवलोकन गरेको पौडेलको भनाइ छ । जसमध्ये अधिकांश विद्यार्थी नै छन् । 

प्रदर्शनीमा विद्यार्थीले विभिन्न संरचनाको डिजाइन तयार गरेका थिए । उनीहरुले शहरमा प्रवेश गर्ने प्रवेशद्वार, पुल, विभिन्न टावर, बाँसबाट बनेका संरचना बनाएर राखेका हुन् । आफूभन्दा तल्लो तहका विद्यार्थीका लागि केही ज्ञान प्राप्त होस भन्ने उद्देश्यले पनि यो प्रदर्शनी आयोजना गरिएको संंयोजक पौडेलले जानकारी दिनुभयो । 

कला प्रदर्शनीमा विशेष गरी बाँसबाट बनेका संरचनाको बढी प्रयोग भएको थियो । कलेजले प्रत्येक वर्ष गर्ने प्रदर्शनीमा पर्र्यावरणीय सन्तुलनलाई आधार बनाउनुपर्ने भएकाले बाँसजन्य संरचनाको बढी प्रयोग गरिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘‘प्रत्येक वर्ष गरिने प्रदर्शनीमा वातावरणीय दृष्टिकोणले अनुकूलन हुने खालमा वस्तुबाट बनेका संरचनाको प्रदर्शनी गर्ने गरिएको हो । अहिले पनि यही कार्यलाई निरन्तरता दिनका लागि बाँसबाट बनेका संरचनाको बढी प्रयोग गरिएको छ ।’’

२०७२ सालमा गएको भूकम्प पछि भने वास्तुकलाको महत्व अझ बढेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘‘भूकम्प अगाडि धेरै संरचना ढुङ्गा, इँटाको प्रयोगले सामान्य अवस्थाका संरचना बनेका हुन्थे । यसपछि भने कुनै डिजाइन बिना संरचना नै बनाउन नहुने रहेछ भन्ने मानसिकता विकास भएको छ ।’’

आर्किटेक्चरको क्षेत्रमा नेपालको हालको अवस्था राम्रो रहेका कारण अवसर पाए विदेशीले जत्तिकै नेपालका इन्जिनियरले पनि आर्किटेक्चर डिजाइन गर्न सक्ने उहाँको भनाइ छ । यो वास्तुकला प्रदर्शनीका लागि आठ लाख रुपियाँ लागत लागेको छ ।