• २२ जेठ २०८२, बिहिबार

अन्नपूर्ण आरोहणले नेपाललाई विश्वभर चिनायो : प्रधानमन्त्री

blog

अन्नपूर्ण हीरक महोत्सवमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः साधन घर्ती

ठाकुरप्रसाद आचार्य/साधन घर्ती/अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५ वर्ष पहिला भएको अन्नपूर्णको सफल आरोहणले नेपाललाई विश्वभर चिनाएको बताउनुभएको छ । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार आयोजित अन्नपूर्ण हीरक महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

अन्नपूर्ण प्रथम हिमाल आरोहणले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर मौरिस हर्जोगलगायतका नेपाली पर्वतारोहीले बहादुरी प्रदर्शन गरेर हिमाल आरोहणको ढोका खोलेको उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘‘अन्नपूर्ण हिमालको पहिलो आरोही मौरिस हर्जोगलाई हामी सधै उच्च सम्मान गर्दछौं । हर्जोगले हिमाल आरोहण गरेर फ्रान्स र नेपालबिच मित्रताको सम्बन्ध स्थापित गर्नुभयो ।’’

सरकारले पर्वतारोहणलाई सुरक्षित बनाउन आधार शिविरलगायतका क्षेत्रहरुमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । तत्कालीन मौरिस हर्जोगले आरोहण गरेको क्षेत्रमा नै अन्नपूर्ण हीरक महोत्सवको आयोजनाले पर्वतारोहण र पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको उहाँले उल्लेख गर्नुभयो । 


अन्नपूर्ण रेन्जमा थुप्रै हिमाल र आकर्षक पर्यटकीय गन्तब्यहरु भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘यस क्षेत्रमा रहेका सुन्दर हिमालहरु, झरना र पर्यटकीय स्थलहरुले राष्ट्रिय उन्नतिमा टेवा पु¥याएका छन् ।’’

प्रधानमन्त्री ओलीले यस क्षेत्रमा सुरुङ मार्ग, केवलकार, जलविद्युतको विकास र धार्मिक पर्यटनको विकास गरेर समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले मुस्ताङको मुक्तिनाथ, दामोदर कुण्ड र लोमान्थाङ पर्यटकीयस्थलहरु भएकाले यसको विकास गरेर थप पर्यटन भित्र्याउन सकिने विचार व्यक्त गर्नुभयो । 

सरकारले कालिगण्डकी कोरिडोर सडकको स्तरोन्नति र कोरला नाकामा पूर्वाधार निर्माणलाई जोड दिएको उहाँले बताउनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डले पर्यटन नीति र पर्यटन ऐनलाई सरकारले चाँडै ल्याउन लागेको बताउनुभयो । 

नेपालको पर्वतारोहण र पर्यटन विकासका लागि सरकारले ल्याउन लागेको ऐनले सहयोग पुग्ने बताउनुभयो । उहाँले आरोहण कल्याण कोषको स्थापना गरेर पर्वतारोहण क्षेत्रमा लागेका आरोहीलाई सरकारले सहयोग गर्ने बताउनुभयो । 

हिमाल र प्राकृतिक पर्यटकीय गन्तब्यहरु हामीसँग मात्र छन् उहाँले भन्नुभयो, ‘‘पर्यटन क्षेत्रको विकास गरेर मुलुकको अर्थतन्त्र उठाउँछौं । पाहुनालाई स्वागत, सत्कार गर्ने संस्कृति र संस्कार हामीसँग मात्र छ । हिमालको सुन्दरतालाई विश्वभर प्रचार गरेर पर्यटन प्रवर्धन गर्न सकिन्छ ।’’

उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, नेपालका लागि फ्रान्सका राजदुत भिर्जिनी कोर्ताभाल, गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बत्स्याल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले ७५ वर्ष पहिला अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर मौरिस हर्जोगले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वभर प्रचार गरेको बताउनुभयो ।  


आजभन्दा ७५ वर्षअघि जुन ३ अर्थात जेठ २० गते फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो । 

अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखमा सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । 

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, टान गण्डकी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा शुक्रबारदेखि हीरक महोत्सव सुरु भएको छ । ओझेलमा परेको यस क्षेत्रमा यस पटक अन्नपूर्ण हीरक महोत्सवले यस क्षेत्रका पर्यटनकर्मी र स्थानीयवासीलाई उत्साहित बनाएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।