काठमाडौँ, जेठ २० गते । अनुभवी खेलाडी करण केसी चम्किएपछि नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली स्कटल्यानमाथि रोमाञ्चक जित निकालेको छ । सोमबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई एक रनले हरायो ।
जितका लागि स्कटल्यान्डले दिएको दुई सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले नेपालले मात्र एक बल बाँकी छँदा नौ विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपाललाई जितका लागि अन्तिम ओभरमा सात रन चाहिएको थियो । स्कटल्यान्डका मार्क वाटले अन्तिम बल वाइड फालेपछि नेपालले यस सिरिजमा रोमाञ्चक पहिलो जित निकाल्यो ।
नेपालका लागि करणले अविजित ६५ रन बनाउनुभयो । उहाँले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । ओपनर कुशल भुर्तेलले ५३ रनको अर्धशतकीय पारी खेल्नुभयो ।
उहाँले ४४ बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । अर्का ओपनर आसिफ शेखले २० रन बनाउनुभयो । यस्तै गुलसन झाले ४२, भीम सार्कीले ४० र कप्तान रोहितकुमार पौडेलले ३७ रन बनाउनुभयो ।
बलिङमा स्कटल्यान्डका ब्रेन्डन मक्कमलेनले तीन विकेट लिनुभयो । माइकल लिस्क र ज्याक जार्भिसले दुई दुई तथा जसपर डेभिडसनले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ९६ रन बनाएको थियो । स्कटल्यान्डका लागि .चार्ल्स टियरले सर्वाधिक ८० रन बनाउनुभयो ।
उहाँले ७२ बलमा १२ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै फेन्ली म्याक्रिथले ५५, कप्तान रिची बेरिङ्टनले ४०, म्याथ्यु क्रसले ३९। ब्रेन्डन मक्कमुलनले १९ र माइकल लिस्कले १८ रन बनाउनुभयो ।
बलिङमा नेपालका सोमपाल कामी, करण केसी र रिजन ढकालले दुई दुई विकेट लिनुभयो । सन्दीप लामिछानेले एक विकेट लिनुभयो । जितसँगै १३ खेलबाट आठ अङ्क बनाएको नेपाल सातौँ स्थानमा उक्लिएको छ । १७ खेलबाट २० अङ्क बनाएको स्कटल्यान्ड चौथो स्थानमा छ ।
लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज पनि हो ।
नेपालले अब बुधबार नेदरल्यान्ड्स, आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी–२० सिरिज हुने छ ।