• २१ जेठ २०८२, बुधबार

बेनीघाट रोराङमा शिक्षक साटासाट कार्यक्रम प्रभावकारी बन्दै

blog

अस्मिता पोखरेल 

धादिङबेँसी, जेठ १९ गते । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा शिक्षक साटासाट कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रवर्धन गर्न सञ्चालन गरेको शिक्षक साटासाट कार्यक्रम प्रभावकारी बन्दै गएको हो । 

शैक्षिक गुणस्तर अभिवृद्धि र नवीन अभ्यास प्रवर्धन गर्ने उद्देश्यले २०८१ साल पुस १६ गतेदेखि सात दिनका लागि पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) को अध्यक्षतामा उक्त कार्यक्रमको समीक्षा गरिएको छ । शिक्षकबिचको अनुभव, सीप र शिक्षण शैलीको आदान–प्रदानमार्फत विद्यार्थी सिकाइमा सकारात्मक सुधार आएको प्रारम्भिक मूल्याङ्कन देखिएका गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिनुभयो । 

“शिक्षकहरूको सक्रियता र सकारात्मक ऊर्जा उत्साहजनक छ । यसलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ,” अध्यक्ष थपलियाले भन्नुभयाे । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले शिक्षकहरूले विभिन्न विद्यालयका पद्धति र सामग्री प्रयोगको अनुभव लिएर आफ्नो कक्षामा नवीन अभ्यास लागु गर्न सक्ने बताउनुभयो । “यसले विद्यार्थीमा चासो र सिक्ने अवसर सिर्जना गर्छ,” उहाँले भन्नुभयो ।

शिक्षक साटासाट कार्यक्रमले शिक्षणको गुणस्तर, शिक्षकहरूको क्षमता वृद्धि र विद्यार्थीको सिकाइ उपलब्धिमा प्रत्यक्ष योगदान पुर्‍याउने ठोस सम्भावना बोकेको शिक्षा शाखा प्रमुख बोधराज पाठकले उल्लेख गर्नुभयो । “यो पेसागत सिकाइको एक प्रभावकारी माध्यम हो, जसले शिक्षकबचि समन्वय र अनुभव आदान–प्रदानको अवसर दिन्छ,” पाठकले भन्नुभयो ।

शैक्षिक वर्ष २०८० मा ३३ जना र २०८१ मा ४७ जना शिक्षकलाई गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा आवश्यकताका आधारमा साटासाट गरिएको थियो ।