ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ २० गते। आज जुन ३ अर्थात् जेठ २० गते अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणको ७५ वर्ष पूरा भएको छ। ७५ वर्ष अघि आजकै दिन आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णमा पहिलोपटक मानव पाइला परेको थियो। त्यसैले अन्नपूर्णलाई जेठो हिमाल पनि भनेर भनिन्छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र नारच्याङमा पहिलोपटक आरोहण दिवसका विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। अघिल्ला वर्षमा अन्नपूर्ण दिवस कास्कीमा मनाउने गरिएको थियो। अन्नपूर्णको आरोहण क्षेत्रमा मनाउन लागिएको यो कार्यक्रमले अन्नपूर्णका पर्यटनकर्मी, अभियन्ता र स्थानीयवासीलाई उत्साहित बनाएको छ।
अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको भूगोलमा परे पनि अहिलेसम्म उपेक्षा हुँदै आएको थियो स्थानीय पर्यटनकर्मी चित्र तिलिजाले भन्नुभयो, ‘‘अन्नपूर्णवासीको निरन्तरको प्रयासले आज ७५ वर्षपछि बल्ल हाम्रो सपना पूरा भएको छ। हामीले अन्नपूर्ण दिवस हाम्रै भूगोलमा मनाउन पाएका छौं। अन्नपूर्ण हीरक महोत्सवलाई सफल पार्न प्रधानमन्त्री केपी शर्मा ओली को आगमनले अन्नपूर्णवासी खुसी भएका छन्।’’
मानव पाइला परेको जेठो हिमाल र मौरिस हर्जोगको सम्मानमा नामाकरण गरिएको पदमार्गले ७५ वर्षपछि बल्ल न्याय पाएको उहाँले बताउनुभयो।
अन्नपूर्ण आरोहण दिवस यसभन्दा अघि कास्कीमा मनाउने गरिन्थ्यो। यसपटक भने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रवेशद्वार नारच्याङमा अन्नपूर्ण दिवसको कार्यक्रम आयोजना गरिएको छ।
आजकै दिन फ्रान्सेली पर्वतारोही मौरिस हेर्जोगले म्याग्दीस्थित अन्नपूर्णको उत्तरी आधार शिविरबाट अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो। आठ हजार माथिका हिमालको पहिलो सफल आरोहणको कीर्तिमान राखेकोले अन्नपूर्ण प्रथमलाई ‘जेठो हिमाल’ पनि भनिन्छ। तर हिमाल आरोहणको ७४ वर्ष सम्म मौरिस हर्जोगले हिमाल आरोहणका लागि प्रयोग गरेको पदमार्ग र आधार शिविर ओझेलमा परेको थियो।
हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो।
अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको भूगोलमा पर्ने विषय र मौरिस हर्जोगले उत्तर तर्फबाट हिमाल आरोहण गरेको कुरालाई प्रमाणित गर्न ७५ वर्ष लागेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले बताउनुभयो।
अन्नपूर्ण हिमालको उत्तरी आधार शिविर हुँदै हिमाल आरोहण भएकाले यसै क्षेत्रमा अन्नपूर्ण दिवसका कार्यक्रम आयोजनाले नारच्याङवासीलाई उत्साहित बनाएको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो।
वि.सं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो। सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि.सं २०७७ मा ‘मौरिस हर्जोग पदमार्ग’ नामकरण गरी प्रचारप्रसार, पूर्वाधार निर्माण र प्रवर्धनमा जुटेको थियो।
अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ। हर्जोगले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उहाँले प्रयोग गरेको पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रवर्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो।
स्थानीय सरकार र समुदायस्तरबाट अन्नपूर्ण क्षेत्रको पर्यटन विकासका लागि पछिल्ला एकदशक यता पदमार्ग निर्माण, प्रचारप्रसार र पर्यटन प्रवर्धनमुलक कार्यहरू भएका छन्।
नारच्याङदेखि हुमखोलासम्म १६ किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर दूरीमा पदमार्ग तयार भएको छ। मिस्त्रीखोलाको किनार हुँदै दुई दिनको पैदल यात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास भएको छ।
मौरिस हर्जोग पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयार गरी निर्माणको काम थालिएको पालिका अध्यक्ष पुनले बताउनुभयो।
आधार शिविर जाने पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर पदयात्रीका लागि आकर्षणको केन्द्र बनेको छ।