यादवराज पुरी
रौतहट, पुस २४ गते । शीतलहरका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि जिल्लाको कटहरिया नगरपालिकाले स्थानीयका लागि दाउराको प्रबन्ध गरेको छ । आगो तापेर जाडोबाट जोगिन दाउराको प्रबन्ध गरिएको हो ।
नगरपालिका प्रमुख अजयप्रकाश जयसवालले डिभिजन वन कार्यालयसँग समन्वय गरी पालिकाको नौ वटै वडामा दाउरा उपलब्ध गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपलब्ध दाउरा सर्वसाधारणको जमघट हुने सार्वजनिक स्थल वा चोकमा बालिने गरी वितरण गरिएको छ ।”
एक सातादेखि घाम नलागेपछि जाडोले कठ्याङ्ग्रिएका नागरिक दाउराको आगो ताप्न पाउँदा खुसी भएका छन् । जिल्लाको कटहरिया नगरपालिकाले अघिल्लो सातादेखि वडामा दाउरा वितरणको काम गरेको थियो ।