अविनाश चौधरी
धनगढी, पुस २४ गते । कैलालीको एक क्रसर उद्योगले बालुवा प्रशोधनको मात्रै अनुमति लिए पनि गिट्टीसमेत प्रशोधन गर्ने गरेको पाइएको छ ।
गोदावरी नगरपालिका–६ लालपुरमा रहेको शिवशक्ति बालुवा प्रशोधन केन्द्रले नियमविपरीत गिट्टी पनि प्रशोधन गर्दै आएको हो । अनुगमन गर्दा सो उद्योगले नियमविपरीत गिट्टी प्रशोधन गरेको पाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । उहाँको नेतृत्वमा शनिवार कैलालीका केही क्रसर उद्योगको अनुगमन गरिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बालुवा प्रशोधनको अनुमति लिएर गिट्टी प्रशोधन गर्नु नियमसङ्गत नरहेको बताउनुभयो । ‘यो उद्योगको काम नियमसङ्गत देखिएको छैन’, उहाँले भन्नुभयो । यसै गरी, धनगढी उपमहानगरपालिका–११ स्थित बेलामा रहेको कालिका कन्स्ट्रक्सनले अनुमतिपत्र बिना ढुङ्गा, बालुवा सङ्कलन गरिरहेको अनुगमन टोलीले जनाएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–११ बासखेडामा रहेको उच्च कोटी आरएमसी इन्जिनीयरिङसँग पनि नदीजन्य पदार्थ सङ्कलन गर्नका लागि कागजपत्र नरहेको टोलीले जनाएको छ । दुई उद्योगले अनुमतिको कागजपत्रबिनै नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गरिरहेको अनुगमन टोलीले जनाएको छ । दुवै उद्योगका सञ्चालक भने नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।
अनुगमन टोलीमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, डिभिजन वन कार्यालयका अधिकारीलगायतको सहभागिता थियो ।