• ८ मंसिर २०८१, शनिबार

विद्यालयमा विज्ञान तथा चित्रकला प्रदर्शनी

blog

पविता पौडेल 

सैनामैना, पुस २४ गते  । बुटवल सुख्खानगरमा रहेको एभरेस्ट इङ्लिस माध्यमिक विद्यालयमा विज्ञान तथा चित्रकला प्रदर्शनी शनिवार सम्पन्न भएको छ । अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशनको  अवसर पारेर  विज्ञानसम्बन्धी नयाँ  कुराको खोज, नयाँ कुराको प्रयोग  र सृजनात्मक  क्षमता बढाउने उद्देश्यले सो प्रर्दशनी गरिएको  बताइएको छ । 

प्रदर्शनीमा कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूले बनाएका डेढ सय वटा विभिन्न प्रोजेक्ट प्रदर्शन गरिएको थियो । प्रतियोगितात्मक रूपमा विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा कक्षा ९ र १० बाट सोहन घिमिरेको समूह प्रथम, सुप्रिया थापाको समूह द्वितीय, सुमन वाग्लेको समूह तृतीय र स्पन्दन लम्सालको समूह चौथो भएका  छन् । 

त्यसै गरी कक्षा ६,७ र ८ बाट बिहान न्यौपानेको समूह प्रथम, निर्जला शर्माको समूह द्वितीय, दृष्टि तिवारीको समूह तृतीय र रुसीन बिकको समूह चौथो बनेको हो । यस्तै कक्षा ४ र ५ बाट नियति पियाको समूह प्रथम, रिजन शाक्यको समूह द्वितीय, वंश थापा को समूह तृतीय र आरयक बेल्बासेको समूह चौथो बनेको निमावि तह संयोजक सरस्वती पाण्डेले जानकारी दिनुभयो । 

विज्ञान प्रदर्शनी प्रतियोगितामा कक्षा ४ देखि ५ सम्मका विद्यार्थीले भोल्कानो, वाटर साइकल, माइक्रोस्कोप, कक्षा ६,७ र ८ का विद्यार्थीले इलेक्ट्रिक साइकल, प्रोग्रामिङ रोबाेट, स्मार्टसिटी, टेलिस्कोप तथा कक्षा ९ र १० का विद्यार्थीले मोडेल बायो ग्यास, रकेट मोडल, अटोमेटिकल डष्टबिन, टर्निङ सेफ्टी रोड, लेजरलाइट सेक्युरिटी लगायतका डेढ सय प्रोजेक्टहरू प्रदर्शन गरेको प्रदर्शनी संयोजक शिक्षक खेमबहादुर थापाले जानकारी दिनुभयो । 

प्रदर्शनीको उद्घाटन गर्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा दक्ष बनाउनका साथै भविष्यमा सीपमूलक व्यावहारिक शिक्षालाई जोड दिन प्रयोगात्मक शिक्षण सिकाइका लागि विद्यालयमा विज्ञान प्रदर्शनी राखिएको बताउनुभयो । उहाँले  विद्यार्थीलाई विज्ञान र आविष्कारका वस्तुहरूमा प्रत्यक्ष सहभागी बनाएर बौद्धिक ज्ञानको विकासका लागि प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो  ।

विज्ञान तथा चित्रकला प्रदर्शनीको अनुगमन गर्दै अभिभावक सङ्घ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय सञ्चालक समिति सदस्य ठाकुर ज्ञवाली, विद्यालयका सहप्राचार्य भीमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी, निर्णायक संयोजक सालिकराम भण्डारी, विशाल श्रेष्ठ लगायतले विद्यार्थीले बनाएका विज्ञान तथा चित्रकला प्रदर्शनीको अवलोकनसँगै प्रोत्साहन गर्नुभएको थियो । प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान, धर्म, पर्यावरण इतिहास र विकाससम्बन्धी चित्रण गरिएका चित्रकलाहरूको प्रदर्शन गरिएको चित्रकला संयोजक विशाल थापाले जानकारी दिनुभयो  ।