• १२ असोज २०८१, शनिबार

हुँदैन शनिबार बिदा

blog

हिले समाचारदाता

हिले, पुस २४ गते । धनकुटा नगरपालिका–९, मूलघाटमा रहेको कौशिकी निम्न माध्यमिक विद्यालयमा शनिबार अर्थात् सार्वजनिक बिदाको दिनसमेत पठनपाठन हुने गरेको छ। यो विद्यालयमा शनिबारको साटो बुधबार साप्ताहिक सार्वजनिक बिदा दिइने गरिएको छ। यो चलन नयाँ भने हैन। विद्यालय स्थापना कालदेखि नै स्थानीय हटियाको दिन पारेर बिदाको सुरुवात गरिएको थियो। बुधबार सो क्षेत्रमा बुधबारे हटिया लाग्ने गरेको छ। सोही हटियालाई लक्षित गरी बुधबार सार्वजनिक बिदा दिने गरिएको हो। “विद्यालय स्थापनादेखि नै विद्यालय बुधबार साप्ताहिक बिदा दिइने गरिएको छ, अहिले पनि त्यसैलाई निरन्तरता दिइरहेका छौँ,” कौशिकी निम्न माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जयप्रसाद लिम्बू भन्नुहुन्छ। 

शनिबार साप्ताहिक बिदा नदिने कौशिकी निम्न माध्यमिक विद्यालय एक्लो हैन। सरकारले साप्ताहिक सार्वजनिक बिदा शनिबार दिने गरेको छ। सरकारी कार्यालयसहित निजी सङ्घसंस्था तथा शिक्षण संस्था प्रायः सबै शनिबार नै बिदा हुने गरेका छन् तर धनकुटाका केही यस्ता सामुदायिक विद्यालय छन्, जो शनिबारबाहेक बिदा हुने गरेका छन्। शहीदभूमि गाउँपालिकाका सम्पूर्ण विद्यालय बुधबार र बिहीबार बिदा हुने गरेका छन्। यो गाउँपालिकामा ४४ सामुदायिक विद्यालय रहेका छन्। त्यस्तै महालक्ष्मी नगरपालिकाका छवटा विद्यालयमा सोमबार बिदा हुन्छ। केही विद्यालय बुधबार र बिहीबार बिदा हुन्छ।

शनिबारबाहेक अन्य दिन बिदा दिँदा विद्यालयको थप व्यवस्थापकीय तथा प्रशासनिक काम गर्न सहज भएको शिक्षकको भनाइ छ। विद्यालय बुधबार बिदा हुँदा विद्यायलको अन्य कामकाज गर्न शिक्षा कार्यालय तथा नगरपालिका जान सहज हुने गरेको कौशिकी निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक बिगेन्द्र याख्खा बताउनुहुन्छ। बिदाको हिसाब त हुँदैन, बिदाको दिन पनि प्रायः विद्यालयकै काम गर्दै बित्छ। 

शनिबारबाहेक बिदा दिइनु अभिभावक र विद्यार्थीका लागि धेरै नै व्यवहारिक छ। हप्तामा एक दिन मात्र लाग्ने हाटमा कतिपय विद्यार्र्थी तथा उनका अभिभावक किनमेलका लागि पुग्ने गरेका छन्। बुधबार गरिने बिदाले आफूहरूलाई धेरै फाइदा पु-याएको विद्यार्थीको बुझाइ छ। “हटियाको दिन हाम्रो पढाइ छुट्ने सम्भावना धेरै हुन्थ्यो तर हटियाको दिन विद्यालय नलाग्नाले त्यो समस्या छैन,” कौशिकी निम्न माध्यमिक विद्यालयका विद्यार्थी विष्णु लिम्बू भन्छन्। 

सबै विद्यालयले शनिबारबाहेक सार्वजनिक बिदा दिइनुको कारण स्थानीय क्षेत्रमा लाग्ने साप्ताहिक हाट नै हो। यसले विद्यार्थी विद्यालयमा नियमित उपस्थित भएर शिक्षा लिन सहज भएको विद्यार्थी तथा अविभावकको भनाइ छ।

धनकुटामा सामुदायिक विद्यालयबाहेक धनकुटास्थित प्रदेश सङ्ग्रहालय पनि मङ्गलबार बिदा हुने गरेको छ। शनिबार धेरै व्यक्ति घुमघाममा निस्किने हुँदा तथा सङ्ग्रहालय घुम्ने अरू दिनभन्दा शनिबार नै बढी हुने भएकाले शनिबार चलाएर मङ्गलबार बिदा दिने गरेको सङ्ग्रहालयका प्रमुख चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो।