सन् २०२२ विश्व फुटबल जगत्कै लागि अविस्मरणीय वर्ष बन्न पुग्यो । पहिलो पटक एसियामा आयोजना भएको कतार विश्वकप सफलतापूर्वक सम्पन्न भयो । यस्तै, विश्व फुटबलका नक्षत्र पेलेको यही वर्ष दुःखद निधन भयो । पेलेलाई २०औँ शताब्दीका सबैभन्दा सफल र लोकप्रिय व्यक्तित्वको रूपमा चिनिन्छ ।
कतार विश्वकप सन् २०२२ को नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखसम्म चल्यो । यो समय विश्व नै फुटबलमय बन्यो । अन्तिम चरणमा पुगेका मुलुकको पक्ष तथा विपक्षमा रहने फुटबलप्रेमीले विश्वकपलाई जीवन्त बनाइरहेका थिए । तर यही बेला फुटबलका हस्ती पेले ब्राजिलको साओपाउलोस्थित अस्पतालमा पेटको क्यान्सरसँग लडिरहेका थिए । विश्वकप समाप्त भएको ११ दिनमै अर्थात् डिसेम्बर २९ तारिखका दिन पेलेको ८२ वर्षको उमेरमा निधन भयो ।
तीन पटक विश्वकप फुटबलमा सहभागी भएर अन्तिम पटक प्रतियोगिता जित्न सफल लियोनेल मेस्सीको सफलतामा रमाइरहेका फुटबल प्रेमी तीन पटक विश्व कप विजेता ब्राजिलका पेलेको दुःखद निधनबाट मर्माहत हुन पुगे । विश्वले फुटबलको प्रमुख व्यक्तित्वलाई गुमाउनु प¥यो । फुटबललाई विश्वव्यापी बनाउन पेलेले गर्नुभएको योगदान अमूल्य रहेको छ । पेले लाखौँका लागि प्रेरणाका स्रोत हुनुहुन्थ्यो । उहाँ तीन पटक विश्वकप जित्ने विश्वकै एक्लो खेलाडी पनि हुनुहुन्छ ।
पेलेले सन् १९५६ देखि १९७४ सम्म ब्राजिलको सान्तोस फुटबल क्लबबाट खेल्नु भयो । उहाँ ब्राजिलको राष्ट्रिय टिममा सन् १९५७ देखि १९७१ सम्म संलग्न हुनुहुन्थ्यो । यसैगरी उहाँले सन् १९७५ देखि १९७७ सम्म अमेरिकाको न्युयोर्कस्थित कसमस क्लबका तर्फबाट पनि खेल्नु भयो । सन् १९५८ मा स्विडेनमा ब्राजिलले विश्वकप खेल्दा १७ वर्षका पेलेलाई पनि राष्ट्रिय टिममा समावेश गरियो । उहाँले ६ गोल गरी ब्राजिललाई विश्वकप दिलाउन प्रमुख भूमिका खेल्नु भयो । त्यसबखत पेलेले सेमी फाइनलमा पहिलो गोल गर्नुभएको थियो । उहाँ सन् १९६२ मा दोस्रो पटक र सन् १९७० मा तेस्रो पटक विश्वकप जितेको ब्राजिलको टिममा सहभागी हुनुहुन्थ्यो । पेलेले खेल्नुभएका विभिन्न विश्वकपका १४ वटा खेलमा कुल १२ गोल गर्नुभयो । अन्तिम पटक सन् १९७० को विश्वकपमा उहाँले ४ गोल गर्नु भयो ।
पेलेले खेल्नुभएका एक हजार ३६३ खेलमा कुल एक हजार २७९ गोल गर्नु भयो । उहाँले फुटबलमा अत्यधिक गोल गरेर गिनिज विश्व रेकर्ड कायम गर्नुभएको थियो । पेले मैदानमा उत्रेको समयमा पेनाल्टी प्रहार गर्नु पर्दा प्रशिक्षकको प्रथम रोजाइमा पर्नु हुन्थ्यो । आफ्नो जीवनमा धेरैपल्ट पेनाल्टी प्रहारद्वारा उहाँले गोल गर्नुभएको छ । कतिपय खेलमा उहाँको पेनाल्टी प्रहार पनि गोल नभएको अवस्था थियो । तर उहाँ पेनाल्टीबाट गोल गर्नु राम्रो नभएको धारणा राख्नु हुन्थ्यो । पेनाल्टी हानेर गोल गर्नु कायर तरिका भएको उहाँ बताउनु हुन्थ्यो ।
९५८ वटा प्रतियोगिता खेलेपछि पेलेलाई ब्राजिली भाषामा ‘ओरे’ अर्थात् ‘राजा’ उपनाम दिइएको थियो । यस्तै, अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले उहाँलाई सन् २००० मा ‘शताब्दी खेलाडी’ र सन् २०१२ मा ‘ग्रेटेस्ट अफ अल टाइम’ तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् १९९९ मा ‘शताब्दीकै खेलाडी’ उपाधि प्रदान ग-यो । ब्राजिलको छवि जाज्वल्यमान बनाउनु भएका विख्यात खेलाडी पेलेलाई ब्राजिलले खेलकुद मन्त्री बनाएर पनि सम्मानित गरेको थियो । उहाँले सन् १९९५ देखि १९९९ सम्म मन्त्रीका रूपमा कार्य गरी व्यावसायिक फुटबल क्लबको आर्थिक स्तर उठाउनका लागि कानुनी व्यवस्थासमेत गर्नु भयो । फिफाले पेलेलाई अवकाशपछि विश्वभरिकै लागि ‘फुटबलको राजदूत’ घोषणा ग-यो ।
कठिन बाल्यकाल
पेलेको जन्म सन् १९४० अक्टोबर २३ मा ब्राजिलमा भएको थियो । उहाँको पूरा नाम एडसन आरन्तेस दा नासिमेन्तो हो । उहाँ साओपाउलो राज्यको बउरुमा गरिबीमा हुर्कनु भएको थियो । यसैकारण उहाँले सानै उमेरमा स्कुलसमेत छोड्नु परेको थियो । पेलेका बाबुले आर्थिक समस्याका कारण शौचालय सफा गर्ने काम गरेर परिवार चलाउनु भएको थियो । यसैक्रममा उहाँले जुत्ता सिलाउने कामसमेत गर्नु परेको थियो । बालक पेलेले समेत चिया पसलमा सहयोगीका रूपमा काम गरेर परिवारलाई सघाउनु भएको थियो ।
पेले फुटबल खेलाडी हुनुमा पहिलो श्रेय उहाँका बाबुलाई जान्छ । उहाँ स्वयं फुटबल खेलाडी हुनुहुन्थ्यो । त्यसैले पेलेलाई पहिलो पटक फुटबल खेल्न उहाँकै बाबुले सिकाउनु भएको थियो । गरिबीको कारण बल किनेर अभ्यास गर्न सक्ने क्षमता नभएकोले प्रारम्भिक दिनहरूमा पेलेले मोजामा पत्रिका कोचेर त्यसलाई बलको आकार दिई अभ्यास गर्नु हुन्थ्यो । उहाँले छ वर्षको उमेरमा पहिलो पटक फुटबल उपहारको रूपमा प्राप्त गर्नु भएको थियो । ११ वर्षमा प्रशिक्षकबाट फुटबल प्रशिक्षण लिन सुरु गर्नु भयो । यसपछि सान्तोस क्लबबाट १५ वर्षको उमेरदेखि खेल्न सुरु गर्नु भयो । उहाँले सान्तोस क्लबबाट १८ वर्ष खेलेर कुल एक हजार ९१ गोल गर्न सफल हुनु भयो । उहाँ १६ वर्षको उमेरमा ब्राजिलको राष्ट्रिय टिममा प्रवेश गर्नु भयो ।
खेल कौशल
पेले अग्रपङ्क्तिमा खेल्ने गर्नु हुन्थ्यो । उहाँको सबैभन्दा महत्वपूर्ण खुबी भनेको कुद्नु हो । उहाँ मैदानमा तीव्र गतिले कुदेर बल अगाडि बढाउनु हुन्थ्यो । विस्फोटक गति, रचनात्मक सीपका साथै बललाई ‘ड्रिब्लिङ’ गर्ने खुबीका लागि पनि पेलेलाई फुटबल प्रेमीहरूले प्रशंसा गर्ने गर्दथे । पेले यस्ता फरवार्ड हुनुहुन्थ्यो जसको खुट्टामा बल पर्याे कि गोल हुने सम्भावना अत्यधिक हुने गथ्र्यो । उहाँमा सानदार गोल गर्ने अद्भूत क्षमता थियो । फुटबल खेलमा खेलाडीले लगाउने जर्सीमध्ये १० नम्बरको अत्यन्त ठूलो महŒव छ । टिमका महत्वपूर्ण खेलाडीले १० नम्बर जर्सी लगाउने सौभाग्य पाउँछन् । यसरी १० नम्बर जर्सीको ख्याति बढाउनमा ब्राजिलका मोती पेलेको प्रमुख भूमिका छ । उहाँले १० नम्बरको जर्सी लगाएर खेल्ने गर्नु हुन्थ्यो । उहाँको खेल जीवनपछि १० नम्बरको जर्सी उहाँको सम्मानका लागि अन्य खेलाडीले लगाउन नहुने भन्ने भनाइ पनि उठाइएको थियो । तर अन्य टिममा पनि महत्वपूर्ण खेलाडीले १० नम्बरको जर्सी लगाउने क्रम चल्यो । सन् २०२२ को विश्वकप बिजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले पनि सन् २००८ देखि १० नम्बरको जर्सी लगाएर खेलिरहनु भएको छ । यसैगरी विश्वका अर्का सशक्त खेलाडी एवं पेलेका उत्तराधिकारी मानिनु भएका अर्जेन्टिनाका कप्तान डियगो म्याराडोनाले पनि १० नम्बरको जर्सी लगाएर दुई पटक विश्वकपको फाइनलमा पुग्नुका साथै सन् १९८६ मा विश्वकप जित्न सफल हुनु भएको थियो । सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा जिनेदिन जिदानेले १० नम्बरकै जर्सी लगाउनु भएको थियो । यस्तै पेलेकै देश ब्राजिलका प्रसिद्ध खेलाडी रोनाल्डिन्होको पनि प्रिय जर्सी १० नम्बरकै हो । सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा उहाँको योगदान अझै स्मरण गरिन्छ । नेपालमा पनि म्यारोडना उपनामबाट दर्शकले चिन्ने गरेका मणि शाहले १० नम्बर जर्सी लगाएरै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका लागि गोल गर्नु भएको थियो ।
पारिवारिक स्थिति
पेलेले तीन जना महिलासँग बिहे गर्नु भयो । तीन जना श्रीमतीबाट ६ जना छोराछोरी जन्मेका थिए । उहाँले पहिलो विवाह सन् १९६६ मा रोजमेरीसँग गर्नु भएको थियो । पहिलो श्रीमतीबाट एउटा छोरा र दुईवटा छोरी जन्मिएका थिए । यो जोडी सन् १९८० मा छुट्टिएको थियो । यसैगरी दोस्रो विवाह मनोविज्ञ तथा गायिका आशिरिया लिमोस सेइसससँग भएको थियो । दोस्रो पत्नीबाट दुई जना जुम्ल्याहा बच्चा भएका थिए । १३ वर्षपछि यो जोडी पनि छुट्टिएको थियो । तेस्रो विवाह आफूभन्दा २६ वर्ष कान्छी मार्सिया अओकीसँग गर्नु भयो । यो विवाह सन् २०१६ मा भएको थियो । यसबाहेक उहाँ अन्य महिलासँग पनि सम्बन्धमा रहनु भएको थियो । यसैक्रममा अदालतमा डिएनए टेष्टको माग गर्दै परेको मुद्दासमेत उहाँले खेप्नु परेको थियो ।
आर्थिक अवस्था
प्रारम्भमा १० डलर पारिश्रमिकबाट व्यावसायिक खेल सुरु गर्नु भएका पेलेले फुटबल खेलेर नै जीवनमा धेरै सम्पत्ति कमाउनु भयो । उहाँ आफ्नो समयमा विश्वमै सबैभन्दा महँगो खेलाडीका रूपमा परिचित हुनुहुन्थ्यो । कमाइ पर्याप्त भएपछि उहाँले कार, रबर उद्योगलगायत विभिन्न ४१ वटा क्षेत्रमा लगानी गर्नु भयो । तर लगानीले उचित मार्ग पहिल्याउन नसक्दा घाटा बेहोर्नु प¥यो । यसै कारण बैङ्कको ऋण तिर्नसमेत पेलेलाई मुस्किल पर्न गयो । ब्राजिलको राष्ट्रिय टिमबाट अवकाश भएपछि उहाँ अमेरिकाको न्युयोर्कस्थित कसमस क्लबबाट खेल्न थाल्नुभयो, जसबाट पेलेको आर्थिक स्थितिमा पुनः सुधार भयो । उहाँले यो क्लबबाट तीन वर्ष खेल्नका लागि आकर्षक पारिश्रमिक पाउनु भएको थियो । फुटबलबाट सन्न्यास लिएको आठ महिनापछि पुनः मैदानमा फर्केर आफ्नो बिग्रेको आर्थिक स्थितिलाई सुधार गर्न पेले सफल हुनु भयो । यसैगरी विज्ञापनमा मोडलका रूपमा खेलेर पनि उहाँको आर्थिक स्थिति पुनः उक्सेको थियो ।
नेपालमा पेलेको प्रभाव
नेपालका वरिष्ठ खेल पत्रकार श्याम चित्रकार ८१ वर्ष उमेर पुगिसक्दा पनि क्यामरा बोकेर विभिन्न खेलकुदको प्रतियोगिता स्थलमा पुग्ने गर्नुहुन्छ । उहाँ पूर्वफुटबल खेलाडी पनि हुनुहुन्छ । चित्रकारले २०२० सालदेखि २०२७ सालसम्म काठमाडौँको डिल्लीबजारस्थित महावीर क्लबबाट खेल्नु भएको थियो । त्यस बखत विश्व फुटबलमा पेलेको जगजगी रहेको थियो । नेपाली खेलाडीहरूले पनि पेलेको नाम सुनिसकेकाले मैदानमा राम्रो खेल्ने खेलाडीलाई ‘पेले’ भनेर सम्बोधन गर्ने गरिएको चित्रकार यतिखेर सम्झनु हुन्छ ।
त्यतिखेर नेपालमा टेलिभिजन नभएकोले विश्वकप फुटबल हेर्न पाउने सम्भावना थिएन । श्रव्य माध्यम पनि एउटा रेडियो नेपाल मात्र भएकोले कोही सीमित व्यक्तिले अन्य अन्तर्राष्ट्रिय रेडियोबाट विश्वकप फुटबलको अङ्ग्रेजी भाषामा गरिएको प्रत्यक्ष प्रसारण सुनेर पेलेजस्ता खेलाडीको बारेमा जानकारी लिने गर्दथे । यसैगरी नेपालमा पत्रपत्रिका पनि सीमित भएको तथा तिनीहरूको स्रोत पनि कम भएकाले काठमाडौँमा दिनहुँजसो आउने केही भारतीय पत्रिकाको माध्यमबाट विश्वकप फुटबल तथा पेलेजस्ता हस्तीबारे जानकारी पाउन सकिन्थ्यो । यस्तै, अर्का वरिष्ठ खेल पत्रकार गोपाल बस्नेतले नेपाली खेलकुद प्रेमीहरूले पेलेको नाम सुने पनि खेल हेर्न नपाएकोले खेल कौशलबारे अनभिज्ञ रहेको जानकारी दिनु भयो । पेलेले राष्ट्रिय टिमबाट अवकाश लिएपछि भारतमा समेत आएर खेल्नु भयो । त्यतिखेर नेपालमा फुटबल प्रतियोगिता नियमित रूपमा भइरहेको तथा बेलाबखत वैदेशिक टिम पनि आउँथे । तर पेलेलाई नेपाल आमन्त्रण गर्ने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् तथा अखिल नेपाल फुटबल सङ्घ एन्फाले कुनै चासो नदिएको पत्रकार बस्नेतले बताउनु भयो । विशेषगरी परिषद्मा शरदचन्द्र शाह सदस्य सचिव हुनु भएका बेला खेलकुद क्षेत्रका विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्व नेपाल आएका थिए ।
पेले भेट्ने भाग्यमानी नेपाली
पेलेसँग भेट्ने अवसर पाउने नेपालीको सङ्ख्या थोरै छ । एसियाली फुटबल महासङ्घका पूर्वउपाध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष गणेश थापाले सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको दौरान पहिलो पटक पेलेलाई भेट्ने अवसर पाएको सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । फुटबलका राजा पेलेसँग बसेर फुटबल हेर्न पाउँछु भनी आफूले कल्पना पनि नगरेको उहाँले उल्लेख गर्नुभएको छ । त्यसपछि अन्य विश्वकप तथा फिफा कङ्ग्रेसमा निरन्तर भेटघाट हुँदा पेलेले थापालाई हलो नेपाल भन्ने गर्नु हुन्थ्यो । विश्व फुटबल जगत्का सर्वाधिक लोकप्रिय खेलाडी पेलेको निधनको खबर सुनेर आफूलाई दुःख लागेको थापा बताउनु हुन्छ ।
पेले सन् १९७७ मा भारतमा मैत्रिपूर्ण खेल खेल्न आउनु भएको थियो । पहिलो पटक एसियाको भ्रमणमा आउनु भएका उहाँले सेप्टेम्बर २४ तारिखमा भारत, कोलकताको मोहनबगान टिमविरुद्ध अमेरिकाको न्युयोर्क कसमस क्लबका तर्फबाट खेल्नु भएको थियो । यो खेलमा कसमस क्लबले मोहनबगान क्लबलाई १ गोलका विरुद्ध २ गोलले पराजित गरेको थियो । उक्त खेलपछि भारतीय पत्रकारहरूको प्रश्नमा पेलेले आफूलाई मोहनबगानको २२ नम्बरको खेलाडी राम्रो लागेको बताउनु भएको थियो । पेलेको रोजाइमा पर्नु हुने भाग्यमानी खेलाडी नेपालको गुल्मीमा जन्मेर भारतको फुटबलमा प्रतिष्ठा कमाउन सफल श्याम थापा हुनुहुन्थ्यो । थापाले उक्त खेलमा गोलसमेत गर्नु भएको थियो । भारतका विभिन्न क्लबका तर्फबाट उत्कृष्ट खेल खेल्नु भएका थापा सन् १९७० मा भारतले एसियाली फुटबल प्रतियोगितामा कांस्य पदक जितेको टिममा समेत हुनुहुन्थ्यो । थापाले केही वर्ष नेपाली राष्ट्रिय फुटबल टिमलाई समेत प्रशिक्षण दिनु भएको थियो ।
०००
पेलेका विभिन्न पुस्तक प्रकाशित छन्, जसमा अधिकांश पुस्तक फुटबलसम्बन्धी छन् । उहाँले फुटबलसम्बन्धी प्रशिक्षण दिने पुस्तक पनि लेख्नु भयो । यसैगरी उहाँको जीवनीमा आधारित पुस्तक पनि प्रकाशित छन् । पेलेको जीवनीबारे विभिन्न चलचित्र र वृत्तचित्र निर्माण भएका छन् । ब्राजिलमा सन् २०१३ मा छायाङ्कन गरिएको ‘पेले, बर्थ अफ अ लिजेन्ट’ चलचित्र सन् २०१६ मा अमेरिकामा रिलिज भएको थियो । यो चलचित्रमा भारतीय सङ्गीतकार एआर रहमानले सङ्गीत दिनु भएको थियो ।
पेलेले युवा अवस्थादेखि चुरोट तथा मादक पदार्थ खानु भएन । तर उहाँ क्यान्सर रोगबाट एक वर्षदेखि पीडित हुनुभयो । यस्तै मिर्गौला तथा मुटुले पनि पछिल्लो समय सन्तोषजनक कार्य गरेन । श्वासप्रश्वास प्रक्रिया पनि सहज थिएन । उहाँलाई साओपाउलोस्थित अल्बर्ट इन्सटिन अस्पतालमा क्रिसमसको बिदासम्म राख्ने परिवारको योजना थियो । तर गत डिसेम्बर २९ तारिखका दिन पेलेले सधैँका लागि यो धर्ती छोड्नु भयो । उहाँकी सय वर्ष उमेरकी आमा अझै हुनुहुन्छ । जनवरी ३ तारिख मङ्गलबार पेलेको अन्तिम संस्कार गरियो । लाखौँ नागरिकले घण्टौँ सडकमा प्रतीक्षा गरेर भावविह्वाल हुँदै राष्ट्रिय सम्पत्ति पेलेको बिदाइ गरे । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले उहाँलाई ब्राजिलका तर्फबाट अन्तिम बिदाइ गर्नु भयो । संसारकै सबैभन्दा अग्लो मानिएको कब्रिस्तान मेमोरियल नेक्रोपोल इकुमेनिकामा पेलेको शरीरलाई समाधिस्त गरियो । यो स्थल सान्तोस क्लबको फुटबल मैदान नजिकै पर्छ । पेलेले विश्वकपजस्तो महŒवपूर्ण प्रतियोगिता तीन पटक जित्न सके पनि क्यान्सरसँगको लडाइँ भने जित्न सक्नु भएन । पेलेले फुटबललाई कलादेखि मनोरञ्जनसम्म परिणत गरिदिएर गरिब र कालाजातिलाई आवाज दिएको ब्राजिलको वर्तमान राष्ट्रिय टिमका स्ट्राइकर नेइमारले बताउनु भयो । पेलेले फुटबल तथा ब्राजिलको स्तर जादुमयी ढङ्गले बढाएको पनि नेइमारको भनाइ रहेको छ । सफलता कुनै संयोग नभएकोले कडा परिश्रम, लगनशीलता, सिकाइ, अध्ययन र त्याग नै सबैभन्दा ठूलो कुरा भएको धारणा पेले राख्नु हुन्थ्यो । यस्तै महान् विचार तथा उदाहरणीय व्यक्तित्वका कारण उहाँ ब्राजिलमा मात्र सीमित रहनु भएन । पेलेको भौतिक शरीर अब नभए पनि उहाँ सधैँ विश्वभरका नागरिक माझ प्रोत्साहन तथा प्रेरणाको स्रोतका रूपमा बाँचिरहनु हुनेछ । अलबिदा पेले !