• १३ साउन २०८१, आइतबार

स्वस्थानी, शाली नदी र वज्रयोगिनी

blog

पौषशुक्ल पूर्णिमादेखि एक महिनासम्म घर–घरमा भनिने स्वस्थानी र शाली नदीको व्रत यही पुस २२ गतेदेखि आरम्भ भएको छ । कोभिड–१९ ले विगतका दिनमा जात्रा पर्वमा समस्या पारेको थियो । साँखुबजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शाली नदीक्षेत्र छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शाली नदी क्षेत्रले चिनिन्छ । शाली नदी श्रीस्वस्थानी देवीको पावन पीठ हो । पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म यहाँ श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ । 

स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दु धर्मावलम्बीका घरघरमा श्रीस्वस्थानी देवीको व्रत–उपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने चलन छ । स्वस्थानी व्रत कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् । माघस्नान गर्ने क्रममा शाली नदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा, आराधना र स्वस्थानी देवीको पूजा गरेमा इच्छित फल प्राप्त हुन्छ । शाली नदीको जल अर्चन गर्दैमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति 

र मनमा शान्ति प्राप्त हुने विश्वास गरिन्छ । अघि यहीँ व्रत उपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी थिइन् । 

शाली नदीमा स्नान गरेर चन्द्रावतीले गुमेका आफ्ना पति नवराजलाई पाएकी थिइन् । शरीरमा नवकान्ति प्राप्त गरेर नजिकै रहेको लावण्य देशकी रानी भएकी थिइन् । गोमा नामकी ब्राह्मणीले हराएको आफ्नो पुत्र नवराज प्राप्त गरेकी थिइन् । बिछोड भएका नाग–नागिनीको पुनर्मिलन भएको थियो । धनधान्य र आफ्नो अटल सौभाग्य अनि वैभव प्राप्त गर्न चाहनेहरू श्रीस्वस्थानीको उपासना शाली नदी क्षेत्रमा बसेर गर्ने गर्छन् । बर्सेनि हजाराैँ व्रतालु शाली नदीमा स्नान गर्ने गर्छन् । हातगोडाको नङ काटी, शुद्ध भई, एकभक्तिले रही नित्य महादेवको पूजा गरी, ठूलो उत्साहका साथ व्रत उपासना गर्छन् । तिनीहरू व्रतकै क्रममा चाँगुनारायण, पनौती, पशुपतिक्षेत्रसम्म पुग्छन् । व्रत प्रतिष्ठा गर्दै माघशुक्ल पूर्णिमामा श्रीस्वस्थानीको व्रत साङ्गे गरी विशेष यज्ञसमेत गर्छन् । 

माघ महिनामा शाली नदीक्षेत्र साँखु सहर नयाँ दुलहीझैँ झपक्क सिँगारिन थालिसकेको छ, अहिले पनि । साँखुलाई पहिले लावण्य देश भनिन्थ्यो । नवराज राजाले राज्य गरेको क्षेत्र अहिले पनि सुन्दर छ । कुनै बेला यहाँ शङ्खदेव नामक राजाले राज्य गरेका थिए भन्ने भनाइ छ । यस अर्थमा यहाँको नाम शङ्खपुर र पछि शङ्खरापुर भनिन थालियो । शङ्खरापुरपछि अपभ्रंश हुँदै साँखु नामले चिनिन पुग्यो । हाल शङ्खरापुर नगरपालिका यसै नामले प्रसिद्ध छ ।

शाली नदी क्षेत्रमा प्रसिद्ध माधवनारायणको मूर्ति, ठूला–ठूला पाटी र सत्तल छन् । यहाँ सधैँजसो कथा प्रवचन भइरहन्छन् । चार सय मिटरजति दक्षिण समथर क्षेत्रमा चन्द्रावतीको शिला छ । स्वस्थानी कथाअनुसार यहाँं चन्द्रावतीलाई डोलीमा बोकेर ल्याउँदा हावा–हुरीमा परी लडेका डोलेका शिलाहरू पनि छन् । चन्द्रावती बस्ने सानो छाप्रो (कुटी) पनि छ । स्वर्गदेखि अप्सरा आएर यहाँ माघ स्नान र श्रीस्वस्थानी देवीको पूजा–उपासना गरेकाले यो क्षेत्र पुण्य क्षेत्र भएको हो । यसै क्षेत्रमा बसेर चन्द्रावतीले स्वस्थानी देवीको उपासना गरेकी हुन् ।

स्वस्थानी देवीको स्वरूप यस्तो छ– सुवर्ण वर्णकी, तीन नेत्रधारी, प्रसन्न मुद्रामा रहेकी, कमलनयनी, सिंहासनमा बसेकी, चार हात भएकी देवीले सम्पूर्ण भक्तको मनोकाङ्क्षा पूरा गर्छिन् भन्ने जनविश्वास छ । एक हातमा नीलकमल, अर्काे हातमा शङ्ख र अर्काे हातमा ढाल अनि अर्काे हातमा वरदमुद्रा लिएकी देवीले आमभक्तको सदिच्छालाई साकार पार्छिन् । स्वस्थानीको शाब्दिक अर्थ हुन्छ– आ–आफ्नो स्थानमा बसेर आ–आफ्नो भूमिका र कर्तव्य निर्वाह गर्नु, पथभ्रष्ट नहुनु, कर्तव्यच्युत नहुनु, सम्पूर्ण क्षेत्रबाट सबैले आ–आफ्नो पदीय आचरण, मर्यादा अनुकूलको विधि व्यवहार गर्न सकेमा सबैतिरको कल्याण हुन्छ ।

साँखु (शङ्खरापुर) प्राचीन समयदेखि नै पावन क्षेत्र हो । बजारको उत्तरढोका बाहिरपट्टि प्रसिद्ध ६४ ज्योतिर्लिङ्गमध्येको पावन ज्योतिर्लिङ्गेश्वर मन्दिर रहेको छ । परम्परागत शैलीमा निर्मित यो मन्दिरमा सुनको जलप लगाइएको गजुर छ । इँटाको गाह्रो, झिँगटीको छानो भएको दुईतले कलात्मक मन्दिरलाई ज्योतिर्लिङ्गेश्वर मन्दिरको नामले चिनिन्छ । नित्य पूजा–आरती भइरहने यो मन्दिरको पूर्व, दक्षिण र उत्तरसमेत तीनैतिर सडकले छोएको छ भने उत्तरपट्टि खाली जमिन कैलाशक्षेत्र छ । गणेश, शिव, देवीका मन्दिर पनि रहेको यो क्षेत्रमा शाली नदी स्नान गरी यहाँ विशेष पूजा गर्नेहरूको भीड लाग्छ । शिव र शक्तिको संयुक्त उपासना गर्ने नेपाली परम्पराअनुसार शिवजी विराजमान रहनुभएको यो क्षेत्रमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । 

वैशाखशुक्ल पूर्णिमाका दिन यस मन्दिर परिसरमा विशेष पर्वपूजा हुने गर्छ । एक महिनासम्मको अनुष्ठान स्वस्थानी सत्ययुगीन इतिहास हो । कलियुगमा सदा यज्ञ, हवनादि कार्य सम्भव हुँदैन । पर्वविशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रले पुष्टि गरेका छन् । स्वस्थानी श्रवण, विभिन्न क्षेत्रमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्वापर आदि युगविशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ । मानव जीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो । ज्ञानको प्रयोगको समय द्वापरयुग हो । कलियुग धर्म र कर्म दुवैको समय हो । स्नानले तन शुद्धि, दानले धन शुद्धि, ध्यानले मन शुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तिल, वस्त्र, सुन, धान्यादि वस्तुको दानले तन, मन, धन सबै पवित्र बन्छ । वैशाखमा जल र अन्नदानको महìव बढी छ भने कात्तिकमा तप र पूजाको अधिक महìव छ । माघमा भने यी सबै पुण्य केवल स्नानले मात्रै प्राप्त हुन्छ । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्काम भावले स्नान गरे जीवनमा परम्गति प्राप्त हुन्छ । अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने माघस्नानबाट सदाका लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रले गर्जन गरेका छन् । 

वज्रयोगिनीको चर्चा गर्दा सृष्टिको उषाकालमा विष्णुका पसिनाबाट उदय भएका मधुकैटभ सृष्टिकर्ता ब्रह्माप्रति जाइलागे । ब्रह्माजी डराएर योगनिद्रामा रहेका विष्णुलाई जागा गराएपछि त्रिदेव ब्रह्मा–विष्णु–शिवले संयुक्त रूपमा स्तुति गरेकाले देवीको नाम योगिनी रहेको र योगिनीदेवीको कृपाबाट मोह र क्रोधरूपी मधुकैटभलाई वध गर्न सफल भए । यी देवीको निवास स्थानलाई योगकुट पर्वत भनिन्छ । तान्त्रिक विधिबाट नित्य वज्रयोगिनीको पूजा हुने गर्छ । काठमाडाँै खाल्डोबाट चोभारको डाँडो काटी पानी बाहिर पठाउन र स्वयम्भू स्तूप निर्माण गर्न मञ्जुश्रीलाई प्रेरणा दिने देवी यिनै हुन् भन्ने विश्वास गरिन्छ । वज्रयोगिनीदेवी एक प्रसिद्ध शक्तिपीठ हुन् ।

काठमाडौँ उपत्यकाको उत्तरपूर्व मणिचूड डाँडोमा वज्रयोगिनीको मन्दिर छ । काठमाडांैबाट करिब २२ किमिको दूरीमा साँखुबजार छ । साँखुबजारदेखि उत्तर उकाली चढ्दै गएपछि वज्रयोगिनी मन्दिर पुग्न सकिन्छ । यो मन्दिर नेपाली शैलीमा बनेको छ । तीनतले यो मन्दिर अलि एकान्त स्थलमा छ । वरिपरि घनाजङ्गल छ । सहरलाई आठ देवीले रक्षा गरेका छन् भन्ने जनश्रुति रहेको छ । लिच्छविकालको अभिलेखले साँखुसहर बौद्धतीर्थ हो भन्ने पनि जनाउँछ । हिन्दुले प्रसिद्ध वज्रयोगिनीलाई काठमाडाँैको दक्षिणतर्फ रहेकी दक्षिणकालीकै रूपमा मनाउँछन् । 

वज्रयोगिनीको अर्काे नाम डाकिनी पनि हो । हिन्दुले ६४ ज्योतिर्लिङ्गलाई शिवलिङ्गका रूपमा विशेषगरी मनाएझँैं ६४ योगिनीका रूपमा भगवतीलाई मनाउँछन् । ६४ योगिनीमा नैरात्मायोगिनी, खड्गयोगिनी, विद्यायोगिनी आदि प्रमुख हुन् । देवमाला वंशावलीका अनुसार वज्रयोगिनीको मन्दिर सन् ८२४ मा निर्माण भएको हो । 

नेपालमा रहेका विभिन्न पीठको अध्ययन गर्दा हालसम्म अन्यत्र क्षेत्रमा योगिनी देवीको मन्दिर भेटिएको छैन । स्कन्दपुराण, हिमवत्खण्ड नेपाल माहात्म्यमा ‘ने’ नामक मुनिले योगिनीदेवीको विशेष उपासना गरी देवीको वरद कृपाबाट नेपालको स्थापना गरेका हुन् भन्ने उल्लेख छ । यसअनुसार ने मुनिले नेपालको स्थापना गर्न यिनै देवीको कृपाप्रसाद प्राप्त गरेको आकलन सहजै गर्न सकिन्छ । तन्त्रशास्त्रमा वज्रयोगिनीको स्वरूप बताइएको छ । देवीको स्वरूप र ध्यान मुद्रा फरक फरक छ । 

शरीरमा छिरबिरे रङको नरम पहिरन भएकी यी देवीको मुख भने पूर्णचन्द्रजस्तो छ । मृगनयनी, रसिला ओठ, सिन्दुर र चन्दनलेपन गरेकी, अति षोडशी रूप भएकी, कल्पवृक्षमुनि बसेकी, रत्नसिंहासनमा विराजमान भएकी, देव्रे हातमा त्रिशूल घुमाइरहेकी, तीन नेत्रले शोभित, गुञ्जाफल लिएकी देवीको स्वरूप विचित्रको छ । कैँची र नरमुण्डमालाले शोभित भएकी देवी अग्ली छन् । घोररूप भएकीले डरलाग्दी देखिन्छिन् । चन्द्रमुखीदेवीको मुखमा मासु, रगतसमेत अड्केको प्रतीत हुन्छ । धर्ममुद्रामा रहेकी वज्रयोगिनी देवीले कमल र कलश धारण गरेकी छन् । 

साँखुमा बस्नेहरू यी देवीलाई आफ्नो कुलदेवीका रूपमा हेर्छन् र नित्य उपासना पनि गर्छन् । अघि मणिचूड पर्वतबाट यिनको उदय भएको हो भन्छन् । वज्रयोगिनी मन्दिर परिसरमा प्रत्येक वर्ष चैत्रशुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्छ । यो मेला एक हप्तासम्म चल्छ । योगिनीका दुई दिदी–बहिनी छन् । माथिल्लो सत्तलमा रहेकी देवीलाई खटमा राखेर साँखु बजारमा ल्याइन्छ । सात दिनसम्म साँखुमा चहलपहल बढी हुन्छ । वरिपरिका असङ्ख्य श्रद्धालु भक्तजन यहाँ दर्शन गर्न आउँछन् । विशेषगरी स्थानीय नेवार समुदायमा यो एउटा विशेष पर्व नै हुन्छ । टाढा–टाढा रहेका आफन्त पनि यति बेला यहाँ आएर आफन्तसँग भेटघाट, खानपिन, मनोरञ्जन र देवीको दर्शन गर्ने गर्छन् । 

देवीलाई बजारमा ल्याउँदा सिंहिनी, ब्याघ्रिणी र त्यहाँ रहेको बुद्ध स्तूपलाई पनि खटमा राखेर ल्याइन्छ । वज्रयोगिनी मन्दिरसँगै रहेको चैत्य गुँ विहारको चैत्य मानिन्छ । अघि लिच्छविकालमा वज्रयोगिनी रहेको स्थानलाई गुँ विहार भन्ने गरिन्थ्यो । प्राचीन समयदेखि आमनेपाली हिन्दु र बुद्धधर्मलाई आत्मसात् गर्थे भन्ने स्पष्टोक्ति यसबाट मिल्छ । वज्रयोगिनी देवी मन्दिरनजिकै रहेकी सरस्वती देवीको पनि पूजा–उपासना गर्ने गरिन्छ । खासगरी वसन्त पञ्चमीमा त्यहाँ केटाकेटी देवीको पूजा गर्न जान्छन् ।