• ८ पुस २०८१, सोमबार

भासियो सडक

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, पुस २२ गते । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपश्चिम खण्डका विभिन्न स्थानमा सडक भासिएको छ। जिल्लाको मुसीकोट नगरपालिकाका विभिन्न स्थानमा मध्यपहाडी राजमार्ग भासिएको हो। वडा नं ६ को दवाङ, वडा नं ७ को सागिने र रोटीलगायतका स्थानमा सडक भासिएको वडा नं ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार सडक भासिँदै जाँदा सवारी दुर्घटनाको जोखिम बढेको छ। वडाध्यक्ष पाण्डेले भन्नुभयो, “हरेक वर्ष सडक भासिँदै गएको छ। सडक भासिनुका कारण र दीर्घकालीन समाधानका उपायबारे बेलैमा सोच्न जरुरी छ।” 

रोटी र सागिने भन्ने स्थानमा सडकको तल्लो भागमा छहरापानी भन्ने पानीको मुहान रहेकाले माथिल्लो सडकखण्ड भासिने गरेको उहाँको भनाइ छ। साउन महिनामा भासिएको सडक हालसम्म मर्मत भएको छैन। 

हरेक वर्ष एक/दुई मिटर गहिरो भएर सडक भासिने गरेको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो। स्थानीयले उक्त क्षेत्रमा रहेको पानीको मुहानको दीर्घकालीन प्रभाव जाँच गरेर हाल सञ्चालन भइरहेको भन्दा भित्री भूभागबाट सडक खोलिएमा दिगो हुने बताएका छन्। 

तलको भूभागमा पानीको मुहान भएकाले सडक भासिएको हुनसक्ने स्थानीयको अनुमान छ। सवारी चालक सुनिल विकले भासिएको सडकखण्डमा गाडी पार गराउन मुस्किल हुने गरेको बताउनुभयो। भासिएको भूभागमा गाडी वारपार गराउँदा दुर्घटनाको जोखिम बढेको उहाँको भनाइ छ। मोटरसाइकल, जिप, हाइस र अन्य साना गाडी उक्त स्थानमा ठोक्किने गरेका छन्। अत्यन्त सावधानीपूर्वक उक्त ठाउँमा गाडी आवतजावत गराउनुपरेको चालक विकले बताउनुभयो। भासिएको सडकखण्ड समयमै सुधार तथा मर्मत हुनुपर्ने उहाँको माग छ।

मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखले गत वर्ष भासिएको सडकखण्डको तल्लो भागमा पर्खाल लगाएर मर्मत गरेको थियो। योजना कार्यालय दैलेखका प्रमुख युवराज पोखरेलले गत वर्षदेखि नै भासिएको सडकखण्डमा मर्मतको काम भइरहेको र नयाँ भासिएका ठाउँमा मर्मतका लागि ठेक्का आह्वान गरिएको जानकारी दिनुभयो। उहाँले दैलेखको कार्यालय क्षेत्रमा रहेको करिब १६ किलोमिटर सडकको भूभाग भासिएकाले मर्मतको लागि ठेक्का खोलिएको बताउनुभयो। 

गत वर्ष पनि भासिएको रुकुमपश्चिमको सडकखण्डमा कामको जिम्मा पाएको निर्माण कम्पनीलाई तत्कालका लागि गिट्टी हालेर भए पनि सडक मर्मत गर्न निर्देशन दिएको बताइएको छ। भासिएको सडकखण्डको भूभागमुनि पानीको मुहान रहेको विषयमा स्थलगत अध्ययन गरेर निष्कर्ष निकालिने कार्यालय प्रमुख पोखरेलले उल्लेख गर्नुभयो।