• ८ पुस २०८१, सोमबार

स्वेटर नलगाउँदा निकालिए विद्यार्थी

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, पुस २२ गते । बाँफीकोट गाउँपालिका–३ स्थित स्पार्पुताल माध्यमिक विद्यालयले विद्यालयबाट स्वेटर खरिद नगरेको भन्दै विद्यार्थीलाई परीक्षा कक्षबाट निकालिएको छ। 

विद्यालयले लिने एसईई टेस्ट परीक्षा दिन बुधबार पुगेका २० जना विद्यार्थी विद्यालय पोसाक स्वेटर नलगाएको भन्दै परीक्षा कक्षबाट निकालिएका थिए। कक्षा १० का करिब २० जना र कक्षा ९ का केही विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको विद्यार्थीले जनाएका छन्।

विद्यालयले जाडो मौसमका लागि भनी स्वेटर खरिद गरी विद्यार्थीलाई बिक्री गरेको थियो। विद्यालयले स्वेटर खरिद गरेर विद्यार्थीलाई बेच्नु र नकिनेमा परीक्षाबाट निकालिनु अन्यायपूर्ण भएको कक्षा १० मा अध्ययनरत छात्र शङ्कर विकले बताउनुभयो। उहाँले सोमबारदेखि विद्यालयमा टेस्ट परीक्षा चलिरहेको र बुधबार तेस्रो दिनमा स्वेटर नकिनेको भन्दै केही विद्यार्थी परीक्षाबाट निकालिनुपरेको बताउनुभयो।

परीक्षा सकिनेबित्तिकै कक्षा १० का विद्यार्थी नियमित विद्यालय आउनु नपर्ने भएकाले स्कुल ड्रेसको स्वेटर किन्न नखोजेको, किन्नै परे पनि आफू अनुकूल पसलबाट किन्न सकिने व्यवस्था हुनुपर्नेमा परीक्षाबाट वञ्चित गराइएको विद्यार्थीको भनाइ छ। 

चिसो मौसमलाई मध्यनजर गर्दै विद्यालयले विद्यार्थीका लागि भन्दै स्वेटर खरिद गरेको थियो। ती स्वेटर विद्यालयले प्रतिस्वेटर ४५० देखि ६५० रुपियाँको दरले विद्यार्थीलाई बिक्री गरिरहेको बताइएको छ। विद्यालयका प्रधानाध्यापक चुमानसिंह बोहराले स्वेटर किन्न विद्यार्थीलाई बाध्य नपारेको बताउनुभयो।