• २० असोज २०८१, आइतबार

सरकारको नेतृत्वमा दुई दलको दाबी

blog

बुटवल समाचारदाता

बुटवल, पुस २० गते । लुम्बिनी प्रदेशका ठूला राजनीतिक दलहरूले संसदीय दलको नेता टुङ्गो लगाएसँगै प्रदेशमा सरकार निर्माणको कसरत सुरु भएको छ। नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले निर्विरोध रूपमा संसदीय दलको नेता चयन गरेपछि नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको हो।

सङ्घीय सरकार गठनका क्रममा विकसित राजनीतिक घटनाक्रमसँगै लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिन एमाले र माओवादी दुवै दल तयार छन्। संसदीय दलको नेतामा एमालेबाट लीला गिरी, कांग्रेसबाट डिल्लीबहादुर चौधरी र माओवादी केन्द्रबाट जोखबहादुर महरा निर्विरोध चयन हुनुभएको हो। 

अब लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेका लीला गिरी र माओवादीका जोखबहादुर महरामध्ये एकले गर्ने सम्भावना छ। लुम्बिनी प्रदेशमा कुल ८७ सदस्यीय प्रदेश सभामा एमाले २९ सिटसहित सबैभन्दा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने एमालेको अडान छ। 

प्रदेश सभा सदस्य भूमिश्वर ढकाल एमाले प्रदेशकै ठूलो दल बनेकाले सरकारको नेतृत्वमा पनि आफूहरूको दाबी रहने बताउनुहुन्छ। उता सरकारको नेतृत्वका लागि माओवादी केन्द्रले समेत दाबी गरेको छ। 

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जोखबहादुर महरा रोल्पा (क)बाट निर्वाचित हुनुभएको छ। माओवादीले महराकै नेतृत्वमा लुम्बिनी प्रदेश सरकार बन्नुपर्ने अडान राखेको छ। माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीले पहिल्यैदेखि लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्ने माग र अडान राख्दै आएकाले आफूहरूकै नेतृत्वमा नयाँ सरकार बनाउने प्रयास भइरहेको बताउनुभयो। 

प्रदेश सभामा माओवादीको सङ्ख्या नौ रहेको छ। कांग्रेसले आवश्यक परेको अवस्थामा सरकारको नेतृत्वका लागि अघि बढ्ने बताए पनि केन्द्रको सत्ता समीकरणअनुसार नै प्रदेशमा पनि सरकार बन्ने देखिएको छ। 

कांग्रेस लुम्बिनी प्रदेशमा अहिले प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्ने सम्भावना बढेको छ। प्रदेश सभामा २७ सिटसहित दोस्रो ठूलो राजनीतिक दलका रूपमा कांग्रेस रहेको छ। लुम्बिनी प्रदेशमा सरकार निर्माणका लागि ४४ सदस्य आवश्यक पर्छ। एमाले र माओवादी केन्द्र मिलेर जम्मा ३८ सांसद सङ्ख्या हुन्छ। सरकार निर्माणका लागि अपुग अरू थप छ सदस्य सङ्ख्या अन्य दलबाट खोज्नुपर्ने अवस्था छ।