• २० असोज २०८१, आइतबार

फोहोरले वन दुर्गन्धित

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी, पुस २० गते । कैलालीमा स्थानीय सरकार गठन भएको लामो समय पुग्दासमेत फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बनेको छैन।  कैलालीका पूर्वी क्षेत्रका गाउँपालिका तथा नगरपालिकाबाट उठ्ने फोहोरलाई सामुदायिक वनमा थुपारेर दुर्गन्ध बढाउने काम गरेको स्थानीयको आरोप छ। 

घोडाघोडी नगरपालिकाले विगतदेखि नै नगरभरिबाट उठ्ने फोहोर बागेश्वरी सामुदायिक वनमा फाल्दै आएको छ। स्थानीय चित्र गौतमले पहिला त बाटोको छेउमा गाउँको नजिकै फाल्ने गरेकोमा गाउँलेले विरोध जनाएपछि अलि पर फाल्ने गरेको बताउनुभयो। 

उहाँले सामान्य छेकबार लगाएर फोहोर फाल्ने ठाउँ बनाए पनि कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फालेकाले भविष्यमा यसले असर पु¥याउने भन्दै चिन्ता व्यक्त गर्नुभयो। नगरपालिकाले टेन्डर प्रक्रियाबाट बजारको फोहोर उठाउने जिम्मा दिए पनि दैनिक फोहोर उठ्न नसकेपछि धेरै फोहोर उत्पादन गर्ने व्यापारीले नजिकै रहेको डोडा नदीमा फोहोर फाल्ने बताएका छन्।

घोडाघोडीका नगरप्रमुख खडकबहादुर रावतले सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा सामुदायिक वनमा नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको बताउनुभयो। नगरपालिकाले फोहोर उठाएबापत व्यापारीबाट शुल्क लिने गरेको भए पनि कतिपय स्थानीयले फोहोर यत्रतत्र फाल्दिनाले वातावरण दुर्गन्धित बन्दै गएको देखिन्छ।

घोडाघोडीमा मात्र होइन महेन्द्र राजमार्ग क्षेत्रमा पर्ने लम्कीचुहा, बर्दगोरिया, गौरीगङ्गा नगरपालिकाले समेत फोहोर व्यवस्थापनको क्षेत्र सामुदायिक वनलाई नै बनाएका छन्। गौरीगङ्गा नगरपालिकाले तालिका बनाएर नगरका विभिन्न क्षेत्रबाट उठ्ने फोहोरलाई राजीपुरस्थित हरियाली सामुदायिक वनमा फाल्दै आएको छ। 

गौरीगङ्गा नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेलले पहिलेदेखि नै सामुदायिक वनमा फाल्दै आएको बताउँदै आफूले अब फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट बनाएर दीर्घकालीन फोहोर व्यवस्थापनको योजना बनाएको बताउनुभयो।

फोहोर व्यवस्थापनलाई मुख्य कार्यकै रूपमा लिएर लम्कीचुहा नगरपालिकाले सुरुमै नगरमा दुई थरीका डस्टबिन (बाल्टी) ठाउँठाउँमा राखेर कुहिने र नकुहिने फोहोर व्यवस्थापनको प्रयास गरे पनि सफल हुन सकेन। सुरुमा ठाउँठाउँमा फोहोर सङ्कलनका लागि राखिएका बाल्टी हिजोआजदेखि नै छोडेका छन्। लम्कीचुहा नगरपालिका–१ का वडाध्यक्ष नेत्रप्रसाद खनालले फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्न चुनौती नै रहेको बताउनुभयो। उहाँले सबैभन्दा बढी फोहोर १ नम्बर वडाबाटै उठ्ने बताउँदै त्यसलाई व्यवस्थित गर्न आफूले आगामी दिनमा काम गर्ने बताउनुभयो। 

बर्दगोरिया गाउँपालिकाले समेत फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन सकेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले गाउँपालिकामा फोहोर व्यवस्थापन र खानेपानीको समस्या रहेको बताउँदै सो समस्या समाधानका लागि सङ्घीय सरकारसँग ७० करोड रुपियाँको खानेपानी तथा फोहोर व्यवस्थापन योजना सम्झौता भएको बताउनुभयो।