• १३ साउन २०८१, आइतबार

जिरीलाई दक्षिण कोरियाको चार वटा कोरली गाई उपहार

blog

दक्षिण कोरियाबाट उपहार स्वरुप आएका चार वटा कोरली गाई । तस्बिर : गोरखापत्र

बाबुराम शर्मा 

दोलखा, पुस २० गते । दक्षिण कोरियाबाट उपहार स्वरूप चार वटा कोरली गाई दोलखाको गाई आनुवंशिक श्रोत केन्द्र जिरीमा आइपुगेका छन् । 

गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा कोरिया हेफरले नेपाल सरकारलाई ढुवानी सहित उपहार स्वरूप कोरली गाईसँगै सिमेन पनि उपलब्ध भएको गाई आनुवंशिक श्रोत केन्द्र जिरीका वरिष्ठ पशु विकास अधिकृत डा. गोपाल गिरीले जानकारी दिनुभयो ।

कोरियाबाट आएका ती कोरली गाई कृषि अनुसन्धान परिषद् खुमलटारबाट आफैँ गएर ल्याएको जानकारी दिँदै वरिष्ठ पशु विकास अधिकृत डा. गिरीले भन्नु भयो, कोरियाबाट आएको कोरली उच्च गुणस्तरका रहेका छन् । 

कोरियन गाईले दैनिक ४२ लिटरसम्म दूध दिने क्षमता भएकाले किसानको जीवनस्तर सुधार्न सहयोग पुग्ने छ । कोरियाली कोरली गाईसँगै केही दाना र औषधी समेत उपलब्ध भएको छ । कोरियाबाट आएको सिमेन किसानका गाईलाई उपलब्ध गराउने योजना रहेको छ ।

गाई आनुवंशिक श्रोत केन्द्र जिरीमा हाल ५७ वटा दूध दिने माउ र कोरली, बाच्छाबाछी सहित ११५ वटा गाई रहेका छन् । यहाँ भएका गाई जर्सी र ब्राउन स्विस जातका गाई रहेका छन् । यहाँ दैनिक तीन सय लिटर दूध उत्पादन हुने गरेको छ ।

गत आर्थिक वर्षको त्रैमासिक प्रगतिभन्दा चालु आर्थिक वर्षको प्रगतिमा १५ प्रतिशतले वृद्धि रहेको छ । अघिल्लो आवको ८६ लाख रुपियाँ राजश्व थियो भने गत आवमा वृद्धि भएर ९८ लाख १९  हजार चार सय पुगेको केन्द्रले जनाएको छ ।