• २० असोज २०८१, आइतबार

यस वर्ष निर्वाचन गर्ने लिबियाका प्रधानमन्त्रीको घोषणा

blog

त्रिपोली, पुस १९ गते । लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले लिबियामा यसवर्ष आम निर्वाचन गर्ने तयारी गरिएको बताउनुभएको छ । उहाँले सन् २०२३ मा आम निर्वाचन गर्नेगरी तयारी गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

उहाँले सन् २०२३ मा निर्वाचन गर्नका लागि सरकार र यहाँको राष्ट्रिय निर्वाचन आयोगले आवश्यक तयारी गरेको जानकारी दिनुभएको हो । यसअघि सन् २०२१ मा पनि त्यहाँ आमनिर्वाचनको तयारी गरिएको थियो । तर त्यहाँका राजनीतिक दलहरूका बीचमा अन्तिममा आएर विवाद बढेपछि आम निर्वाचन रोकिएको थियो ।

प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले यस वर्ष लिबियाका लागि निर्वाचन वर्ष हुनेछ भन्दै यसका लागि देशका सबै क्षेत्र र वर्गका नागरिक तथा विभिन्न राजनीतिक दल र सबै सङ्घसंस्थाहरूले सहयोग गर्ने बचन दिएका पनि उहाँले बताउनुभयो ।

साथै प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले लिबियाका हत्या हिंसाको राजनीतिको अन्त्य गरेर विद्रोही समूहहरूलाई पनि शान्ति वार्ताको माध्यमबाट देशको विकासमा सहभागी गराउने उहाँले बताउनुभयो ।

सन् २०११ मा यहाँका नागरिकले गरेको आन्दोलनबाट माउमर गद्दाफिको सत्ता सत्याएपछि लिबियाले प्रजातान्त्रिक शासनका लागि सङ्घर्ष गरिरहेको छ ।तर यहाँ विभिन्न विद्रोही समूहका कारण शान्ति स्थापना गरी देशमा प्रजातान्त्रिक सरकारको स्थापना गर्न सकिरहेको छैन । यहाँ संयुक्त राष्ट्रसङ्घीय सहयोग जारी रहेको छ ।

यसअघि सन् २०२१ मा पनि संयुक्त राष्ट्रसङ्घको प्रयासमा निर्वाचन गर्ने भनिएको भए पनि अन्तिममा सम्भव हुन नसकेको बताइएको थियो । यहाँ सबै राजनीतिक दलको सहभागितामा राष्ट्रिय एकताको सरकार निर्माणको प्रयास निकै पहिलेदेखि जारी रहेको बताइएको छ । रासस/सिन्ह्वा