• २० असोज २०८१, आइतबार

लुम्बिनीमा कांग्रेस र माओवादीले छाने संसदीय दलको नेता

blog

दिवाकर पोख्रेल

देउखुरी, पुस १८ गते । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन हुनुभएको छ । सोमबार बसेको बैठकले दाङबाट निर्वाचित प्रदेश सभा सदस्य चौधरीलाई संसदीय दलको नेता चयन गरेको हो । 

कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७९ को परिच्छेद २ को धारा ५ बमोजिम दलको नेतामा चौधरीको एकल उम्मेदवारी परेकाले चौधरीलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो । 

यस्तै, नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेश सह इन्चार्ज जोखबहादुर महरा चयन हुनुभएको छ । 

लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा सोमबार बसेको माओवादी केन्द्र प्रदेश सभा सदस्यको बैठकले दलको नेतामा महरालाई चयन गरेको हो । महरा रोल्पा १ (क) बाट  निर्वाचित हुन् भएको थियो । 

नयाँ समीकरणअनुसार गठबन्धनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले लिने भन्ने अझै सहमति जुटेको छैन । मुख्यमन्त्रीमा माओवादी र एमाले दुवैले दाबी गर्दैआएका छन् । लुम्बिनीमा एमालेका २९ र माओवादी केन्द्रका ९ सदस्य छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादीले पाएमा महरालाई मुख्यमन्त्री हुने बाटो खुल्नेछ ।