कृष्टिना अधिकारी
कुनै एक गाउँमा एक धनी ब्राह्मण परिवार थियो । धनले सम्पन्न त्यस परिवारमा कृपा नामक एक ब्राह्मणी बस्थिन् । उनी निकै सुन्दर भएकाले उनलाई आफ्नो रूप र धनको निकै घमण्ड थियो । उनको नाम मात्र कृपा थियो, दया र माया भने उनमा अलि कति पनि थिएन । धनी परिवारकी भएकाले कृपा केही काम गर्दिनथिन् । दिनभरि गाउँ डुलेर बेलुका घर फर्किन्थिन् । उनको घरमा आमा र भाइ मात्र थिए । धनले पुलपुलिएकी कृपालाई कुनै कुराको मतलब पनि थिएन ।
एक दिन कृपा आफ्ना लागि कपडा किन्न भनेर बजारतिर गइन् । बाटोमा उनले एक बूढो अपाङ्ग मानिस देखिन् । त्यस बूढो भोको मानिसले कृपासँग आफूलाई केही खान दिन मागे तर हातमै बिस्कुट हुँदा पनि कृपाले कठोर स्वरमा दिन्न भनेर भनिन् र त्यस बूढालाई गाली गरिन् ।
कृपाको घमन्ड देखेर त्यस बूढो मानिसले श्राप दिँदै भने, “तिमी त कठोर र घमण्डी रहिछौ म तिमीलाई श्राप दिन्छु, आजदेखि तिम्रो लागि जे कुरा प्रिय र महìवपूर्ण छ, त्यो कुरा तिमीबाट टाढा हुन्छ !” कृपालाई त्यतिभन्दा नि चेत आएन । उनी त्यस बूढो अपाङ्गलाई धकेलेर बजारतिर लागिन् तर त्यो श्राप दिने व्यक्ति अपाङ्गको रूप लिएर आएका देवता थिए । त्यसकारण कृपालाई उनको श्राप लाग्यो ।
कृपा बजार गइन् र आफूलाई मनपर्ने लुगाहरू किनिन् तर घर फर्किंदा उनको झोला खाली थियो । पछि अलिक दिनपछि उनको घरमा झगडा पनि हुन थाल्यो र कृपाका आमा र भाइ उनीबाट टाढिए । उनलाई यति हुँदा पनि श्रापका बारेमा याद आएन । विस्तारै उनको चम्किलो अनुहारमा पोतो र चाउरी पर्न थाल्यो । यो देखेर कृपालाई साह्रै दुःख लाग्यो र उनका धन सम्पत्ति पनि सबै सकिँदै गयो । आफूसँग यस्तो भएको देखेर उनलाई एक बूढो मानिसले श्राप दिएको झलक्क याद आयो । उनलाई त्यो सम्झेपछि आफूले
गरेको व्यवहारमा निकै नै पश्चाताप भयो तर उनले केही गर्न सकिनन् । घमण्डको फल त यस्तो हुने नै थियो ।