• २० असोज २०८१, आइतबार

बुटवलमा दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक

blog

छविलाल पाण्डे 

बुटवल, पुस १७ गते । बुटवलमा दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । 

बुटवलमा यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा इ–रिक्सा मात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका ई रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरू भएको र दर्ता नभएका इ–रिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा बुटवलमा दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । 

आइतबारदेखि दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक लगाउँदै सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही अघि बढाउने अभियान सञ्चालन गरिएको छ । अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरलाई सुन्दर, सफा र व्यवस्थित गर्दै कानुनी राज्यको रूपमा स्थापित गर्न बिना दर्ताका इ–रिक्सा सञ्चालनमा रोक लगाएको बताउनुभयो । 

यसअघि नगरले तयार पारेको कार्यविधिअनुसार थप १ सय ८४ इ–रिक्सा दर्ता गर्न बाँकी रहेको र त्यस्ता इ–रिक्सा दर्ता गर्दा स्वरोजगार, स्थानीय, महिला र सवारी चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिने बताउनुभयो । 

राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयमा काज सरुवामा आएका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बुटवल उपमहानगरपालिकाको निर्णय कार्यान्वयनका लागि सहकार्य गर्न कार्यालय तयार रहेको बताउनुभयो । उहाँले दर्ता नगरी सञ्चालन गरेका इ–रिक्सा सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कारबाही गर्ने बताउनुभयो । 

बुटवल उपमहानगरपालिका राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेलले बुटवलमा दर्ता भएर सञ्चालन भइरहेका इ–रिक्सालाई नियमन गर्ने, करको दायरामा ल्याउने र त्यसरी कानुनी दायरामा नआउनेलाई खारेज गर्ने र नयाँ प्रक्रिया सुरु गर्ने बताउनुभयो ।