• २० असोज २०८१, आइतबार

अवैध घरटहरा हटाइए

blog

सुर्खेत समाचारदाता

सुर्खेत, पुस १७ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९, सुनाकाँडामा अवैध रूपमा राष्ट्रिय वन क्षेत्र ओगटेर बनाइएका ४९ घरटहरा हटाइएको छ। डिभिजन वन कार्यालय भेरी, इलाका प्रहरी कार्यालय बाबियाचौर र सशस्त्र प्रहरी वन बेसक्याम्प गुटुको संयुक्त टोलीले शुक्रबार ती अवैध घरटहराहरू हटाएको हो।

डिभिजन वन कार्यालय भेरीका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले राष्ट्रिय वन क्षेत्र ओगटेर अवैध घरटहरा बनाइएको भन्ने सूचनाको आधारमा टोलीले गएर हटाएको बताउनुभयो। समथर र सुन्दर स्थान भएकाले त्यहीँ वरपरका बासिन्दाले नै उक्त क्षेत्रमा घरटहरा बनाएको उहाँको भनाइ छ। घरटहरा हटाउँदा बनाउनेहरू त्यहाँ कोही पनि नभएको उहाँले बताउनुभयो। 

पश्चिम क्षेत्रमा समथर भू–भागमा अवैध रूपमा ओगटेर घरटहरा बनाउने प्रवृत्ति छ। राष्ट्रिय वन क्षेत्रमा घरटहरा बनाउने र पछि बेच्ने मनसायले त्यस्तो काम भएको उहाँले जनाउनुभयो। वन क्षेत्रमा बनाइएका घर टहरालाई भत्काएर र आगजनी गरेर नष्ट पारिएको छ।

सो क्षेत्रमा सूर्यतारा सिमेन्ट उद्योग निर्माण हुने क्रममा छ। अहिले उक्त उद्योगले ५१७ रोपनी दर्ता जग्गा स्थानीय बासिन्दाबाट खरिद गरेको छ। राष्ट्रिय वन क्षेत्रमा घरटहरा बनाउने र पछि त्यही उद्योगलाई बेच्ने मनसायले स्थानीयले अवैध रूपमा घरटहरा बनाएको डिभिजन वन कार्यालय भेरीमा कार्यरत कर्मचारी तिलकराम अधिकारीले बताउनुभयो। सो क्षेत्रमा अवैध घरटहरा बनाउने चौकुनेको घाटगाउँ तथा गुटु नजिकका बासिन्दा रहेको जनाइएको छ। 

डिभिजन वन कार्यालय भेरीको कार्य क्षेत्रभित्र पर्ने चौकुने, पञ्चपुरी र बराहताल गाउँपालिकामा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण भए/नभएको अनुगमनको काम भइरहेको छ। 

डिभिजनल वन अधिकृत श्रेष्ठले राष्ट्रिय वन क्षेत्र अतिक्रमण हटाउने योजना भइरहेको र आफूहरू अनुगमनको काममा पनि लागिसकेको जानकारी दिनुभयो।