• २० असोज २०८१, आइतबार

विद्यार्थीले बनाए मकै छोडाउने मेसिन

blog

गोकर्ण पौडेल 

तुलसीपुर, पुस १७ गते । तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको मेट्रो कलेजका विद्यार्थीले मकै छोडाउने मेसिन बनाएका छन्। कलेजमा इलेक्ट्रोनिक्स विषय पढ्दै आएका विद्यार्थीले बनाएको मेसिन सुनाखरी सिकाइ मेलामा अवलोकनका लागि राखिएको थियो। 

मेसिन बनाउनका लागि संयोजन गर्दै आउनुभएका शिक्षक सञ्जय अधिकारीले करिब २० हजारको लागतमा मेसिन तयार पारिएको बताउनुभयो। शिक्षक अधिकारीका अनुसार उक्त मेसिनले एक घण्टामा ५० केजी मकै छोडाउन सक्छ। मेसिनमा दुई ‘हर्स पावर’को मोटर जडान गरिएको छ। क्याम्पसका प्राचार्य वसन्त आचार्यले क्याम्पसका कृषि वनविज्ञानका विषयका साथै इलेक्ट्रोनिक्स विषयसमेत अध्यापन हुने भएकाले अभ्यास शिक्षणका साथै प्रत्येक किसानको घरसम्म पु¥याउने उद्देश्यले तयार पारिएको बताउनुभयो। उहाँले तुलसीपुर उपमहानगरपालिकाले नै सञ्चालन गरेको कलेज भएकाले पालिकासँगको समन्वयमा मेसिन तयार पारिने बताउनुभयो। सिकाइ मेलामा विद्यार्थीले चकलेट, बिस्कुटका खोलबाट चकटी, अण्डाका खोस्टाबाट फूल, फालिएका बोतलबाट फूलदानी, कलमदानी, च्यातिएका पाइन्टबाट तयार गरिएको झोलालगायतका सामग्री राखेका थिए। विद्यार्थीले क्रसर उद्योग, स्वचालित सडक बत्ती, लिफ्टलगायतका सिर्जनाको प्रदर्शनतर्फ सिकाइ मेलामा पुगेका विद्यार्थीले चासो देखाएका थिए। 

मेलामा ३२ वटा विद्यालयका र बाँकी सेवामूलक संस्थाका गरी जम्मा ४१ वटा स्टल रहेका थिए। सामुदायिक र संस्थागत गरी ६२ वटा विद्यालय समावेश भएको मेला सात हजारभन्दा बढीले अवलोकन गरेको शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिनुभयो।