• २० असोज २०८१, आइतबार

कोरोना फैलिन नदिन सीमामा पुनः कडाइ

blog

सिराज खान 

नेपालगञ्ज, पुस १७ गते । नयाँ भेरियन्टसहित फेरि कोरोना सङ्क्रमण फैलिन थालेको र भारतबाट आउनेहरूमा सङ्क्रमण देखिन थालेपछि यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा कडाइ सुरु गरिएको छ। 

गत तीन महिनादेखि बाँकेमा कुनै पनि सङ्क्रमित नभेटिएपछि नाकामा परीक्षणलगायत अन्य सोधपुछ र निगरानीमा त्यति वास्ता नगरिएकोमा अहिले कडाइ सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। 

नेपाललगायत विदेशका धेरै राष्ट्रमा फेरि सङ्क्रमण बढ्न थालेपछि भारतबाट आउनेहरूको निगरानी बढाउनुका साथै जमुनाह नाकामा परीक्षणमा कडाइ सुरु गरिएको नेपालगञ्जको स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो। भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नाकामा सतर्कता अपनाउन थालिएको र भारतबाट आउनेहरूमाथि विशेष निगरानी राख्न सुरु गरिएको चन्दले बताउनुभयो। उहाँका अनुसार कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा परीक्षण रोकिएको थियो। छिमेकी देश भारत र चीनमा सङ्क्रमण बढ्न थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको हो। 

जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले पनि कोरोना सङ्क्रमण रोक्न नाकामा कडाइ गर्नुका साथै स्वास्थ्य मापदण्डहरूको पालना गर्न तथा भौतिक दूरीमा ध्यान दिनुपर्ने निर्णय गरेको समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। 

उहाँले अहिलेबाटै सावधानी अपनाएमा सङ्क्रमण रोक्न सफलता प्राप्त हुने जनाउँदै त्यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। उता नेपालगञ्ज नाकामा स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएपछि त्यसको परिणाम पनि देखिन थालेको छ। भारतको सिमलाबाट नेपाल फर्किंदै गरेकी जाजरकोटकी ३० वर्षीया महिलालाई परीक्षणको क्रममा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभयो।

उहाँका अनुसार, भारतबाट आउने ५५ जनाको जाँच गर्ने क्रममा जाजरकोटकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। नेपालगञ्जस्थित जमुनाह नाकामा शुक्रबारदेखि नै कोरोना परीक्षण सुरु गरिएको हेल्थ डेस्कले जनाएको छ। 

उता, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले सचेत रहन तथा तयारी अवस्थामा रहन निर्देशन जारी गरेपछि भेरी अस्पताल र नाकामा नियन्त्रणको तयारी गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।