• २० असोज २०८१, आइतबार

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन

blog

लीलाधर वली 

घोराही, पुस १७ गते । दाङमा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ। जिल्लाका करिब ४२३ विद्यालयमध्ये ४३ भन्दा बढी विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएका छन्। 

अङ्ग्रेजी माध्यमबाट पठनपाठनका लागि विद्यार्थी निजी विद्यालयतिर जान थालेपछि पछिल्ला वर्षमा धेरै विद्यालयले विद्यार्थी तथा अभिभावकको रोजाइलाई ध्यानमा राखेर सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजीमा पठनपाठन गराउन थालेका हुन्। विशेष गरी सहरी क्षेत्रका विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठनलाई तीव्रता दिएका छन्। 

अङ्ग्रेजीमा अभिभावकको पनि चासो भएकाले आधारभूत तहदेखि माध्यमिक तहसम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराज अधिकारीले जानकारी दिनुभएको छ। विद्यार्थी र अभिभावकको चाहनाअनुसार विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको प्रधानाध्यापक अधिकारीले बताउनुभयो। 

अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि निजीमा भर्ना भएका बालबालिका पनि सामुदायिक विद्यालयमा भर्ना हुने गरेका छन्। घोराहीको माध्यमिक विद्यालय रझेनाले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरेपछि विद्यालयमा विद्यार्थी सङ्ख्या बढेको विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेले बताउनुभयो। 

यी दुई विद्यालय मात्रै होइन, घोराही उपमहानगरपालिकाभित्र रहेका ९६ वटा सामुदायिक विद्यालयमध्ये १० भन्दा बढी सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने गरेका छन्। जिल्लाकै सबैभन्दा पुरानो विद्यालय पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयसँगै माध्यमिक विद्यालय रझेना, बालविकास माध्यमिक विद्यालय नयाँ बजार, महेन्द्र माध्यमिक विद्यालय धर्ना, माध्यमिक विद्यालय हापुर निघुवारलगायतका विद्यालयले नेपालीसँगै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको घोराही उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख विनोद गौतमले जानकारी दिनुभएको छ।  त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका ८३ वटा सामुदायिक विद्यालयमध्ये १२ वटा विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो। 

नेपाली माध्यमबाट पठनपाठन गर्दा विद्यार्थी पाउनै मुस्किल भएका विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि एउटा कोठामा विद्यार्थी नअटेपछि कतिपय विद्यालयले एउटै कक्षामा दुईभन्दा बढी सेक्सन चलाएर पठनपाठन गराउँदै आएको शाखा प्रमुख भण्डारीले बताउनुभयो। विद्यालयले अभिभावक भेलाबाट वार्षिक शुल्क निर्धारण गरेर विद्यार्थीसँग उठाउने गरेका छन्। 

सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रका विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पढाउन थालेका छन्। जिल्लाको एक मात्र पहाडी क्षेत्रको गाउँपालिका बङ्गलाचुली गाउँपालिकामा रहेका ४१ वटा समुदायिक विद्यालयमध्ये सुधा माध्यमिक विद्यालय झेलनेटामा मात्रै अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको छ। सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि अङ्ग्रेजी माध्यमबाट पठनपाठनका लागि छलफल भएको गाउँपालिका शिक्षा शाखा डेमराज पुनले बताउनुभएको छ। 

राप्ती गाउँपालिकामा रहेका ३१ वटा विद्यालयमध्ये तीनवटा, दङ्गीशरण गाउँपालिकामा रहेका १५ विद्यालयमध्ये पाँचवटा, शान्तिनगर गाउँपालिकामा रहेका २६ विद्यालयमध्ये छवटा, गढवा गाउँपालिकामा रहेका २८ विद्यालयमध्ये तीनवटा, लमही नगरपालिकाका २७ वटा विद्यालय, राजपुर गाउँपालिकामा रहेका ३२ र बबई गाउँपालिका ३४ विद्यालयमध्ये एक÷एकवटा सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको छ।