• २० असोज २०८१, आइतबार

व्यापारीले तोक्छन् सुन्तलाको मूल्य

बजार नभएपछि सस्तोमै बेच्न बाध्य

blog

तिलाचन पाण्डे

तम्घास, पुस १७ गते । रेसुङ्गा नगरपालिका–३ का ३९ वर्षीय उदयबहादुर खत्रीको सुन्तला बगैँचामा लटरम्म सुन्तला छन् । सुन्तला बगैँचामा बोटले धान्न नसक्ने गरी सुन्तला फलेको देख्दा हेर्नेको मन लोभ्याउने गर्छ । 

एक सयभन्दा बढी बोट सुन्तलाले राम्रो फल दिएको देख्दा बगैँचामा जाने सबैले खत्रीलाई बधाई पनि दिने गर्छन् तर खत्रीलाई भने बाहिर देखेजस्तो नभएको र सुन्तला सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताले सताएको छ । आफ्नो बगैँचामा अहिले पाँच लाख रुपियाँभन्दा बढीको सुन्तला भएको उहाँको दाबी छ तर पर्याप्त बजार नपाउँदा सदरमुकाम तम्घासका एक व्यापारीलाई दुई लाख ५० हजार रुपियाँमै सबै सुन्तला बेच्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।

बजार पाउने नदेखेपछि बोटमा राख्नुभन्दा सस्तो मूल्यमै भए पनि सुन्तला बेच्न बाध्य भएको उहाँले बताउनुभयो । मेहनतका साथ सुन्तला हुर्काए पनि उचित मूल्य नपाउँदा युवालाई देशमा काम गर्ने वातावरण नभएको अनुभव हुन थालेको छ उहाँलाई छ । यही तितो अनुभव सँगाल्दै उहाँ अब वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ । 

छत्रकोट गाउँपालिका–३ का जितबहादुर झाँक्रीले व्यापारीले तोकेकै मूल्यमा आफूहरूले सुन्तला दिन बाध्य भएको बताउनुहुन्छ । तोकेको मूल्यमा सुन्तला नदिए यसै बोटमै रहने र कुहेर जाने चिन्ताले सस्तोमा बेच्न बाध्य भएको उहाँले बताउनुभयो ।

सोही क्षेत्रको स्थानीय पुनकला भुसालले पनि बिचौलियाको मारमा सुन्तला कृषक रहेको बताउनुभयो । व्यापारीले प्रतिकिलो ५० रुपियाँसम्म बगैँचाबाट लैजाने गरेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला फलफूल जोन गुल्मीका प्रमुख गङ्गा पोखरेल भने सुन्तलाको ग्रेडिङ गर्न नसक्नु र सानाठूला सुन्तलालाई किसानले एउटै मूल्य गर्दा पनि समस्या भएको बताउनुहुन्छ । बाहिरबाट आएका सुन्तला ठूला, सस्तो र आकर्षक देखिएकाले पनि सबैको ध्यान त्यतै जाने गरेको उहाँको भनाइ छ । कृषकलाई ग्रेडिङ गरेर बेच्न र बजारीकरणकै समस्या परे ठूला सहरमा समन्वय गर्न आफू र कार्यालय तयार रहेको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कृषकको बगैँचा सुधार, सिँचाइ र तालिमजस्ता कार्यमा सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको र यस वर्ष करिब २९ करोड रुपियाँ बराबरको छ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।