• २० असोज २०८१, आइतबार

मानव बेचबिखन रोक्न साझा प्रतिबद्धता

blog

सिराज खान 

नेपालगञ्ज, पुस १६ गते । नेपालगञ्ज नाका मानव बेचबिखनको उच्च जोखिममा रहेकाले नेपाल र भारतबीच सो रोकथाम र नियन्त्रणका लागि विशेष अभियान चलाउनुपर्ने दुवै देशका सुरक्षा अधिकारीको ठहर छ। 

माइती नेपाल नेपालगञ्जले नेपालगञ्जमा आयोजना गरेको क्रस बोर्डर (सीमा वारपार) कार्यशालामा सहभागी दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखन निकै बढेको जनाउँदै त्यसको रोकथाम र नियन्त्रण गर्न मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। सुरक्षा अधिकारीको प्रतिबद्धतामा जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले पनि सहयोग गर्ने जनाए। 

यस नाकाबाट हुने महिला, बालबालिकाको बेचबिखन दुवै देशको साझा समस्या भएकाले दुवै देशले मिलेर काम नगरेसम्म समाधान नहुने मानव बेचबिखनविरुद्धको जिल्ला समितिका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। उहाँले अब दुवै देशका सुरक्षा अधिकारीले एक संयुक्त सञ्जाल नै बनाएर सो रोकथामका लागि कडा रूपमा प्रस्तुत हुनुपर्ने कुरामा जोड दिनुभयो। 

यसैगरी नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले पीडितलाई तत्कालै उद्धार गर्न र घटनामा संलग्न अभियुक्तलाई सम्बन्धित देशमा सुम्पेर कारबाही गर्न दुवै देशबीच कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। भारतको बहराइच जिल्लाका प्रहरी प्रमुख एसपी अशोककुमार सिंहले यो समस्या दुवै देशको साझा समस्या भएकाले साझा कार्यदल बनाएर संयुक्त रूपमा प्रभावकारी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। 

भारतको सशस्त्र सीमा बल (एसएसबी) ४२ नं. बटालियनका कमान्डेड तपनकुमार दासले मानव बेचबिखनको मुद्दामा मिलेर दुवै देशले काम गर्नुको विकल्प नरहेकाले आफ्नातर्फबाट काम गर्ने प्रतिबद्धता जनाउनुभयो।