• २० असोज २०८१, आइतबार

चिसोका कारण अस्पतालमा बिरामी बढे

blog

पविता पौडेल 

सैनामैना, पुस १५ गते । बुटवल  र आसपासका क्षेत्रमा चिसो बढेपछि यस क्षेत्रका स्थानीयमा रुघाखोकी, निमोनियाको बिरामी बढेको छ । ज्यालादारी, मजदुरी गरेर गुजारा गर्ने विपन्न समुदायका मानिस चिसोबाट बढी प्रभावित भएका छन् । 

चिसोका कारण बुटवलको आम्दा अस्पतालमा  रुघाखोकीका र निमोनियाका बिरामीको संख्या वृद्धि भएको अस्पतालका कर्मचारीले जनाएका छन् । अस्पतालमा पहिले ४० जना सम्मको  ब्लड टेस्ट हुन्थ्यो तर अहिले बिरामी बढेपछि दैनिक ७० जनासम्मको चेकजाँच हुन थालेको कर्मचारीहरुको भनाइ छ ।  

जाडोमा गरिब, घरवारविहिन, सडक बालबालिका तथा न्यानो लुगा किन्न नसक्ने अशक्तहरुलाई नगरपालिकाले राहत कार्यक्रम ल्याउने योजना बनाएको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेका अनुसार गरिब, अशक्त, घरवारविहिनका लागि नगरपालिकाले न्यानो लुगा वितरण गर्ने योजना बनाएको छ । 

चिसोका कारण रुघाखोकी, कोल्ड डायरिया, ब्लड प्रेसर, मुटु रोगजस्ता समस्या बढी देखिने गरेको छ । चिसोमा वृद्धवृद्धा, बालबालिका, असक्त अपाङ्ग, सुत्केरी महिलालाई सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । अहिले न्यानो लुगा लगाउन, तातो सुप र पानी बढी पिउन लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिशियन डा. नन्दु पाठकले आग्रह गर्नुभयो ।

जाडोमा बढी क्लोरिन र प्रोटिन भएका खानेकुरा र तातो झोलिलो खानेकुरा खानुपर्छ उहाँले भन्नुभयो । जाडो मौसममा घाँटी दुख्ने तथा रुखाखोकी, ज्वरो आउने समस्या बढी हुने हुँदा उमालेको मनतातो पानी पिउन डा. पाठकले सुझाव दिनुभयो ।