• २० असोज २०८१, आइतबार

फिर्ता भए सुरक्षाकर्मी

blog

काठमाडौँ, पुस १५ गते । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ को व्यवस्थाविपरीत व्यक्तिगत सुरक्षामा खटिएका २२१ जना सुरक्षाकर्मी बिहीबार फिर्ता भएका छन्।

गृह मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै कार्यविधिविपरीत अति विशिष्ट तथा विशिष्ट व्यक्तिलगायत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो। कार्यविधिविपरीत गृह मन्त्रालयमा खटिएका ६३ जना सुरक्षाकर्मी बुधबार फिर्ता भएका थिए। नेपाल प्रहरीबाट अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षामा आवश्यकभन्दा बढी खटिएका ६६ जना, गृह मन्त्रालय मातहतका निकायमा खटिएका ३१ जना तथा पूर्वप्रहरी अधिकारीको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीलाई बिहीबार फिर्ता गरिएको हो। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईका अनुसार ६६१ जना सुरक्षाकर्मी खटिएकामा नियमविपरीतका सुरक्षाकर्मी फिर्ता भएका हुन्। यसैगरी सशस्त्र प्रहरीले समेत कार्यविधिविपरीत निजी सुरक्षामा खटिएका ११८ जना सुरक्षाकर्मीलाई बिहीबार फिर्ता गराएको छ। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता भएका र थप विवरण लिने काम भइरहेको जानकारी दिनुभयो। नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट राजनीतिक प्रभावका कारण कार्यविधिविपरीत अनधिकृत रूपमा व्यक्तिगत सुरक्षार्थ प्रहरी खटाएको पाइएपछि गृह मन्त्रालयले कडाइ गरेको हो।