• २० असोज २०८१, आइतबार

गोङ्गबु बसपार्कमा मात्र पार्किङ गराउन पहल

blog

काठमाडौँ, पुस १४ गते । उपत्यका आवतजावत गर्ने लामो दूरीका बस गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र पार्र्किङ गराउन पहल सुरु गरिएको छ। अव्यवस्थित बस पार्किङले सहर अस्तव्यस्त र कुरूप बन्दै गएपछि राजधानी आवतजावत गर्ने बस गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गराउनका लागि ट्राफिक प्रहरीले पहल गरेको हो। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले पहिलो चरणमा सार्वजनिक सूचना जारी गरेर तथा यातायात व्यवसायी राष्ट्रिय महासङ्घमार्फत सम्बन्धित सबै बस व्यवसायी तथा बस सञ्चालक कम्पनीलाई गोङ्गबु बसपार्कमा मात्र पार्किङ गर्न आग्रह गरेको बताउँदै भन्नुभयो, “अनुरोध नमान्नेलाई कारबाही पनि गरिनेछ।”

अहिले बस चक्रपथ वरिपरिका गल्ली, ग्यारेज, पेट्रोल पम्प, निजी तथा सार्वजनिक जग्गा, पेप्सीकोला, तीनकुने, जोरपाटी, गौशाला, पशुपति क्षेत्रस्थित सडक किनारलगायतका ठाउँमा अव्यवस्थित पार्किङ गरिँदै आएका छन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बस एक ठाउँमा नै पार्किङ भई सञ्चालन हुनुपर्ने विषयमा आफूहरूको फरक मत नरहे पनि यात्रुको सुविधालाई ध्यानमा राखेर यातायात तथा ट्राफिक व्यवस्थापन हुनुपर्ने बताउनुभयो।

एक ठाउँमा बस पार्किङ गरिए पनि यात्रु फरक–फरक गन्तव्यका लागि विभिन्न स्थानमा चढ्ने र ओर्लने भएकाले चक्रपथलगायत विभिन्न स्थानमा यात्रुकक्षसहितको ‘बस स्टप’ निर्माण गर्नुपर्ने उहाँको सुझाव छ। यात्रुलाई रातको समयमा व्यवस्थित रूपमा चढाउने र ओराल्ने व्यवस्था गर्न उहाँले सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो। महासङ्घका अध्यक्ष स्वाँरले उपत्यका भित्रिने र बाहिरिने सबै बसको पार्किङ एकद्वार प्रणालीअनुसार नयाँ बसपार्कमा नै हुनुपर्ने बताउँदै त्यसका लागि सरकारले बस व्यवसायीलाई गोङ्गबुस्थित नयाँ बसपार्कको मात्र रुट परमिट दिनुपर्ने सुझाव दिनुभयो। हाल बसलाई कलङ्की, गोङ्गबु, बल्खु, साँखु, बनेपा, पनौतीलगायतका रुट परमिट दिइएको पाइएको छ । काठमाडौँमा दैनिक करिब नौ सय बस भित्रिने र बाहिरिने गर्छन्।