• १९ असोज २०८१, शनिबार

स्वास्थ्य संस्था अपाङ्गतामैत्री हुनुपर्ने

blog

काठमाडौँ, पुस १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि निर्देशिका जारी गरेको छ । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका २०७९ जारी गरेको हो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा ४० ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरिएको हो । 

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले नेपालको संविधानको धारा ३८ को उपधारा (२) ले दिएको अधिकारको मर्मअनुसार निर्देशिका जारी गरिएको बताउनुभयो । उहाँले निर्देशिकामा अवस्था हेरी सहायता कक्ष र सहयोगीको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य शिक्षा तथा सूचना सामग्री अपाङ्गतामैत्री हुने व्यवस्था गरेको जानकारी दिनुभयो । 

परिवार कल्याण महाशाखाका वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले राज्यले दिने प्रजनन तथा मातृत्व सेवा आपाङ्गता भएका व्यक्तिको पहुँचमा ल्याउने विषयलाई निर्देशिकाले समेटेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य संस्थाहरू अपाङ्गतामैत्री हुने, अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्वक सेवा प्रदान गर्ने, सेवा प्रदान गर्दा प्राथमिकता दिनुपर्ने, गोपनीयता कायम गर्नुपर्ने जस्ता कुरा पनि यस निर्देशिकाले समेटेको बताउनुभयो । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले निर्देशिका कार्यान्वयनका लागि सबैको आवश्यकता रहेको बताउनुभयो । निर्देशिका कार्यान्वयनका लागि स्वास्थ्य साक्षरतामा जोड दिनुपर्ने उहाँको भनाइ छ । यसका लागि सरकारले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । 

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक प्राध्यापक गोमादेवी निरौलाले अपाङ्गता भएका महिलालाई सुत्केरी बिदा छ महिना हुनुपर्ने बताउनुभयो । महिलालाई ९८ दिन नभएर छ महिना सु्त्केरी बिदा दिनुपर्ने उहाँको भनाइ छ । नेत्रहीन युवा सङ्घ नेपालका अध्यक्ष कलाधर भण्डारीले निर्देशिकाका लागि आफूहरूको पनि ठूलो योगदान रहेको भन्दै कार्यान्वयनमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिका लागि पनि प्रजनन अधिकार नैसर्गिक अधिकार भएको कुरा स्वास्थ्य सेवा प्रदायकलाई बुझाउन जरुरी रहेको उहाँको भनाइ छ ।