• ८ पुस २०८१, सोमबार

स्पेनिस पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास नेपालमा

blog

स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडाका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनाससहितको टोली नेपालमा । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, पुस १२ गते । स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडाका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनाससहितको टोली मैत्रीपूर्ण खेलका लागि मङ्गलबार नेपाल आइपुग्नुभएको छ ।

रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रीपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै नेपाल आउनुभएको हो । नेपाल आएको टोलीले पुस १३ गते गण्डकी ११ र १४ गते काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।


क्रिसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोलीले नेपाल भ्रमण गरेको हो । कासेरेन्योको टोलीलाई स्पेनस्थित नेपाली राजदूत डा. सर्मिला पराजुली ढकालले सोमबार बिदाइ गर्नुभएको थियो ।

‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउण्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुबै टोली निर्माण भइसकेको छ । स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ ।


गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ । टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको सहभागिता रहनेछ । यसैगरी, राष्ट्रिय टिमका अर्का पूर्व कप्तान विराज महर्जनले काठमाडौं ११ को कप्तानी सम्हाल्नुहुनेछ । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाएको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल सङ्घ, काठमाडौं जिल्ला फुटबल सङ्घ र कास्की जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा दुई मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो ।


६० वर्षे भेट्रान खेलाडी सालिनासले व्यावसायिक फुटबल करियरमा ६ पटक घरेलु लिगको उपाधि जितेका थिए । एथ्लेटिक बिल्बाओ, एट्लेटिको मड्रिड र बार्सिलोना जस्ता ठूला क्लबहरुबाट खेलिसकेका सालिनासले १९९२ मा बार्सिलोनाबाट युइएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

सन् १९८६ देखि १९९६ सम्म १० वर्ष स्पेनिस राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्रममा फरवार्ड सालिनासले ५६ अन्तर्राष्ट्रिय खेलमा २२ गोल गरेका थिए । उमेर समूहमा उहाँले स्पेनको राष्ट्रिय टिमबाट २००४ मा १९ वर्ष मुनिको युरोपियन च्याम्पियनसिप पनि जितेका थिए ।