• १९ असोज २०८१, शनिबार

राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण

blog

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुहुँदै नवनियुक्त प्रधानमन्त्री दाहाल । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू के.पी. शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू समारोहमा उपस्थित हुनुहुन्छ । 


शपथग्रहणका लागि नवनियुक्त प्रधानमन्त्री दाहालले दौरा सुरुवालमा शपथ लिनु भएको छ । तेस्रो पटक प्रधानमन्त्री हुनु भएका दाहाल यसअघि कोट, सट, पाइन्ट र टाइमा सजिएर जाने गर्नुहुन्थ्यो । 

प्रधानमन्त्रीको शपथग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणलाई झकिझकाउ बनाइएको छ । 

समारोहमा भाग लिन आउनु हुने विशिष्ट पाहुनाका लागि अग्रस्थानमा र अन्य पाहुनाका लागि दायाँ बायाँ बस्ने व्यवस्था मिलाइएको छ ।


समारोहमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्छ । त्यसैगरी, विभिन्न समाचार माध्यमले शपथ ग्रहणको प्रत्यक्ष प्रसारण  गरेका छन् ।