• ९ मंसिर २०८१, आइतबार

स्याहार केन्द्रमा छोराछोरी मेलापातमा आमा

blog

केशवचन्द्र महरा

दिपायल, पुस १० गते । केआईसिंह गाउँपालिका–४, बायलकी गौरी खड्काले तीन वर्षीय छोरा शिशु स्याहार केन्द्रमा छाडेर मेलापातमा निस्कनुहुन्छ।

गरणीगाउँकी गोमा भट्टका तीन सन्तान छन्। छ महिनाको बालकलाई छाडेर मेलापात गरेको स्मरण गर्दै भट्टले भन्नुभयो, “मेलापात गर्न जाँदा शिशुको खुट्टा खाटमा बाँधेर पनि जान्थ्यौँ। घर फर्किँदा बच्चा रोएर माटो, दिसा पिसाबमा लतपतिएको अवस्थामा भेट्थ्यौँ। बच्चा हुर्काउन निकै कठिन थियो।” 

गाउँमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापनापछि ग्रामीण कामकाजी महिलाका लागि निकै सहयोग पुगेको छ। मेलापात जाँदासमेत आमाको मन ढुक्क छ। केआईसिंह गाउँपालिका र समविकास केन्द्रको परिवर्तन परियोजनाले वैशाखमा स्याहार केन्द्र स्थापना गरेको थियो। सो केन्द्रमा पाँच वर्षमुनिका बालबालिका राख्न सकिन्छ। स्याहार केन्द्रमा बच्चाको हेरचाहसँगै कक्षा सञ्चालन गर्न गाउँपालिकाले दुई जना आमा शिक्षिकाको व्यवस्था गरेको छ। गाउँका ३१ जना आमाले आफ्ना बच्चा बिहान ११ देखि साँझ ५ बजेसम्म स्याहार केन्द्रमा राखेर काममा जाने गरेका छन्। स्याहार केन्द्रमा शिशुका लागि खाजाको व्यवस्थासमेत गरिएको जनाइएको छ। 

आमा शिक्षिका ललिताकुमारी बमका अनुसार स्याहार केन्द्रमा शिशुको सरसफाइदेखि पढ्न सिकाउने, खेल खेलाउने र व्यावहारिक ज्ञानसमेत सिकाउने गरिएको छ। शिशुका लागि खाजा, पानी तथा सुत्ने व्यवस्थासमेत मिलाइएको छ।

स्याहार केन्द्रमा खाने, पढ्नेजस्ता सुविधाले काममा गएका आमा ढुक्कसँग रहने गरेका छन्। स्थानीय लक्ष्मी भट्टले भन्नुभयो, “कामबाट घर पुग्दासम्म छोरो कस्तो अवस्थामा होला भन्ने पिरले सताइरहन्थ्यो।”

उहाँले भन्नुभयो, “घरमा बच्चा छाड्दा जोखिमै जोखिम हुन्थ्यो। अहिले स्याहार केन्द्रमा राखेदेखि चिन्ता पनि हटेको छ। बच्चाको स्वास्थ्यमा पनि सुधार भएको छ। अलिअलि अक्षर चिन्ने भएको छ।”

केआईसिंह गाउँपालिका–७ मा पनि शिशु स्याहार केन्द्र स्थापना भएको छ। यहाँ बर्सेनि २० देखि ३५ जना शिशु भर्ना हुने गरेका छन्। स्याहार केन्द्रमा राखिएका बालबालिकाको विद्यालय उमेर भएसँगै विद्यालयमा भर्ना गर्ने गरिएको छ। स्याहार केन्द्र हुँदै विद्यालय भर्ना भएका बालबालिका सरसफाइ र पढाइमा राम्रा हुनुका साथै पढ्ने बानीको विकास भएको बताइन्छ।

समविकास केन्द्रले स्थानीय सरकारसँगको सहकार्यमा विभिन्न पालिकाका पाँचवटा गाउँमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गरेको कार्यक्रम अधिकृत नरेन्द्र विकले जानकारी दिनुभयो। गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले शिशु स्याहार केन्द्र कामकाजी महिलाका लागि प्रभावकारी देखिएकाले अन्यत्र पनि विस्तार गरिने बताउनुभयो।