• ८ मंसिर २०८१, शनिबार

मेसीको विश्वकप

blog

अर्जेन्टिनाका फुटबल खेलाडी लियोनेल मेसीले आफ्नो खेल जीवनमा विशेषत स्पेनी क्लब बार्सिलोनालाई कैयौँ उपाधि दिलाउन सहयोग गर्नु भयो । व्यावसायिक फुटबलमा उहाँ संलग्न टिमले हासिल नगरेको कुनै उपाधि बाँकी छैन । तर सन् २०१४ को विश्वकप र त्यसको दुई वर्षपछि कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेसी निराश हुनु भयो । आफ्नो देशका लागि प्रमुख प्रतियोगिताको उपाधि हासिल गर्न बारम्बार चुकेपछि मेसी विक्षिप्त नै बन्नुभयो । कोपा अमेरिकाको फाइनलपछि त आवेगमा आएर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नै लिनुभयो । मेसीको यो निर्णयले विश्व फुटबलमै ठूलो हलचल मच्चियो । त्यसपछि विश्वभर मेसीको यो निर्णय फर्काउने अभियान चल्यो । समर्थकहरूको मायाले मेसीको मन पनि पग्लियो । उहाँले आफ्नो सन्न्यास फिर्ता लिनुभयो र पुनः अर्जेन्टिनालाई विश्वकप जिताउने सपना देख्नुभयो । जुनः सपना अन्ततः कतार विश्वकपमा साकार पनि भयो । 

कोपा अमेरिकामा चिलीसँग अर्जेन्टिना फाइनलमा हार्दा कहीँकतै मेसी पनि जिम्मेवार हुनुहुन्थ्यो । मेसीले फाइनलमा आफ्नो क्षमताअनुरूप त खेल्न सक्नुभएन नै टाइब्रकेरमा पहिलो पेनाल्टी पनि गोलपोस्टमाथि प्रहार गरेर खेर फाल्नु भयो । यही पेनाल्टीले टिम हारेको दोष मेसीले आफूलाई नै दिनु भयो । मेसीको फुटबल जीवनमा एउटा दाग देखियो । मेसी यस धब्बालाई मेटाउन चाहनु हुन्थ्यो । चर्चा, उपलब्धि र सफलता पाए पनि मेसी खुसी हुनुहुन्थेन । अर्जेन्टिनालाई विश्वकप, कोपा अमेरिकाजस्ता प्रमुख प्रतियोगिताको उपाधि दिलाउन नसक्नुमा मेसीको मन दुःखेको थियो । चार पटक (एक पटक विश्वकप र तीन पटक कोपा अमेरिका) नजिक पुगेर पनि असफल भएपछि मेसीको मनमा त्यो घाउ आलो नै भएर रह्यो । तर पछिल्ला दुई वर्षमा मेसीले आफ्ना दुवै सपना पूरा गर्नुभयो ।

गत वर्ष मात्र परम्परागत शत्रु ब्राजिललाई उसकै घरमा फाइनलमा हराएर अर्जेन्टिना दक्षिण अमेरिकाको सबभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका च्याम्पियन बन्यो । मेसीकै देनले अर्जेन्टिनाले प्रमुख प्रतियोगताको उपाधिको २८ वर्षदेखिको पखाईलाई समाप्त पा¥यो । यो सफलताको खुसीयाली अर्जेन्टिनामा लामै समय चल्यो । एक वर्षपछि नै मेसीले अर्जेन्टिनालाई विश्वकै सबभन्दा ठूलो फुटबल उपाधि पनि दिलाउनुभयो । मेसी स्वयंले पनि विश्वकप ट्रफीका लागि १८ वर्ष पर्खनुभएको थियो । त्यसैले सारा विश्व नै यस पटक झन्डै दुई दशक विश्व फुटबललाई जादुमयी खेलद्वारा मन्त्रमुग्ध पार्ने मेसीले विश्वकप जितोस् भन्ने चाहन्थ्यो । मेसीको भलाद्मीपन र शालीनताले पनि अलग अलग देशलाई समर्थन गर्ने फुटबलप्रेमीहरूले पनि मेसीजस्तो महान् खेलाडीको नाममा विश्वकप ट्रफी एउटा हुनैपर्छ भन्ने स्वीकारेको अवस्था थियो । शायद मेसी र उहाँको टिम अर्जेन्टिनालाई यो प्रार्थनाले पनि काम ग-यो ।


कतार विश्वकपलाई मेसीकै विश्वकपको रूपमा सम्झना गरिनेछ । किनभने उपाधि यात्रामा मेसीको प्रदर्शन चमत्कारी नै थियो । गत वर्ष आफ्नो लय गुमाइसकेका मेसी यस सत्रमा अकस्मात फर्ममा आउनुभएको हो । उहाँले कतार विश्वकपमा सात गोल गर्नुभयो । तीन गोलमा सहयोगीको भूमिका निर्वाह गर्नुभयो । यसबाट पनि थाहा हुन्छ, अर्जेन्टिनालाई च्याम्पियन बनाउन मेसीको योगदान । फाइनलमा मात्र उहाँले दुई गोल गर्नुभयो । विगतमा अर्जेन्टिनी जनताले अपेक्षा गर्ने फाइनलमा मेसीको प्रदर्शन तलै हुन्थ्यो । मेसीले फ्रान्सविरुद्धको फाइनलमा यस धब्बालाई पनि मेटाउनु भयो । यसअघि मेसीलाई पेले र डिएगो म्याराडोनाजस्ता सर्वकालीन महान् फुटबलरको समकक्षमा पुग्न विश्वकप फुटबलको उपाधिले रोकिरहेको थियो । विश्वकप उपाधिसँगै मेसी निःसन्देह सर्वकालीन महान् फुटबल खेलाडीका रूपमा अमर रहने पक्का भएको छ ।

पछिल्ला १५ वर्ष यस पुस्ताका दुई महान् फुटबलर मेसी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिद्वन्द्व कसैबाट लुकेको छैन । यी दुईको प्रतिद्वन्द्वले विश्व फुटबलको स्तर उच्च भएको छ । यद्यपि यी दुईमध्ये को सर्वश्रेष्ठ भन्ने कहिल्यै नसकिने बहस चलिरहन्थ्यो । रोनाल्डो र मेसीलाई अब यही विश्वकप उपाधिले छुट्याउने छ भन्दा फरक पर्दैन । मेसीले यस पटक लामो पर्खाइपछि विश्वकप जित्नुभयो । हरेक महान् खेलाडी विश्वकप जित्ने चाहना राख्छन् । रोनाल्डोको हकमा अब विश्वकप जित्ने सपना अधुरै रह्यो । कतार विश्वकपले वर्षौंदेखि चलिआएको रोनाल्डो र मेसीमा को सर्वश्रेष्ठ भन्ने विवादको पनि अन्त्य गरेको छ ।

म्याराडोनाप्रति श्रद्धाञ्जलि

अर्जेन्टिनामा विश्वकपको खुसीयाली लामो समयसम्म चल्ने पक्का छ । किनकि विश्वकप जस्तो महान् प्रतियोगिता जित्नु सानो कुरो होइन । यसबाहेक ३६ वर्षपछि अर्जेन्टिना विश्व च्याम्पियन भएको हो । सन् १९८६ मा डिएगो म्याराडोनाले अर्जेन्टिनालाई आफ्नै सामथ्र्यमा विश्वकपको उपाधि दिलाएर विश्व फुटबलमा अमर हुनुभयो । यसपालि मेसीले त्यस्तै खालको प्रदर्शन गरेर आफूलाई सर्वकालीन महान् खेलाडीको सूचीमा पार्नुभयो । लामो समयपछि विश्व च्याम्पियन बनेर अर्जेन्टिनाले हिम्मत हार्नु हुँदैन, विश्वकप फुटबलजस्तो महान् प्रतियोगिता जित्न ठूलो चुनौतीको सामना गर्नुपर्छ भन्ने सन्देश पनि दिएको छ ।

म्याराडोनाको निधनपछि अर्जेन्टिनाको यो पहिलो विश्वकप उपाधि हो । यो उपाधिले म्याराडोनाप्रति श्रद्धाञ्जलि पनि हुन पुगेको छ । हुन त अर्जेन्टिना यसपालि उपाधिको प्रमुख दाबेदार नै थियो । विश्वकप खेल्न कतार आउनुअघि अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित थियो । यसबीच अर्जेन्टिनाले कोपा अमेरिकीको उपाधि पनि जितेको थियो । साउदी अरबविरुद्ध पहिलो खेल खेल्दा भने अर्जेन्टिना अलि बढी आत्मविश्वासी देखियो, जसको मूल्य साउदी अरबसँग २–१ ले स्तब्ध भएर चुकाउनुप¥यो । यो विश्वकप इतिहासकै सर्वाधिक स्तब्धकारी नतिजामध्ये एक थियो । यद्यपि यो हार अर्जेन्टिनाका लागि ‘वेक अप कल’ भइदियो । त्यसपछि निद्राबाट ब्युँझिएको अर्जेन्टिना कुनै पनि खेलमा हार्नसक्ने टिमको रूपमा देखिएन । नेदरल्यान्ड्सले क्वाटरफाइनल र फ्रान्सले फाइनलमा अर्जेन्टिनालाई कठिन चुनौती नदिएको होइन । यद्यपि यी दुई खेलमा पनि अन्तिम समयसम्म अर्जेन्टिना सहज जिततर्फ अग्रसर थियो । नेदरल्यान्ड्स र फ्रान्सविरुद्धको दुवै खेलमा समय सकिनै लाग्दा आरामदाययक स्थितिमा रहेको अर्जेन्टिनाले दुई–दुई गोल बेहोरेपछि टाइब्रेकर खेल्न बाध्य भएको हो । यद्यपि दुवै पटक गोलरक्षक इमिलियो मार्टिनेजले अर्जेन्टिनाको उद्दार गर्नुभयो । आखिरमा विश्वकप ट्रफी सङ्ग्रहित भएकोमा मेसीले आफ्ना गोलरक्षक मार्टिनेजलाई धन्यवाद दिनैपर्छ । उहाँले विश्वकपको सर्वश्रेष्ठ गोलरक्षक भएर ‘गोल्डेन ग्लोभ्स’ पनि जित्नुभयो ।

एमबापे युगको आगमन

अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा टाइब्रेकरमा ४–२ ले हराएर च्याम्पियन भयो । यो भिडन्त विश्वकप इतिहासकै सम्भवतः सर्वश्रेष्ठ फाइनल बन्यो । फ्रान्सले २–० र ३–२ ले पछाडि परेको स्थितिमा पनि खेललाई टाइब्रेकरसम्म धकेलेर मेसी र उहाँको टिम अर्जेन्टिनालाई सजिलै च्याम्पियन हुन दिएन । फाइनलपछि धेरैले एउटै कुरा भने– अर्जेन्टिना च्याम्पियन भयो तर फ्रान्स अझ यो टिमका युवा स्ट्राइकर किलियन एमबापेले मन जिते । फ्रान्स यसपालि उपाधि रक्षा अभियानमा थियो । विश्वकप फुटबलको उपाधि रक्षा अभियानमा रहेको टिममा त्यसै पनि सबैको नजर हुन्छ । तर तितो सत्य के हो भने सन् १९६२ मा ब्राजिलपछि कुनै देशले लगातार विश्वकप जितेको छैन । अझ पछिल्ला तीन संस्करणमा विश्व च्याम्पियन टिम पहिलो चरणमै बिदा भएको पत्याउनै नसकिने विगत छ । उपाधि रक्षा अभियानमा सन् २०१० मा इटाली, सन् २०१४ मा स्पेन र सन् २०१८ मा जर्मनीले समूह चरण पनि पार गर्न सकेका थिएनन् । सन् १९९८ मा विश्वकप जित्दा फ्रान्स पनि अर्को संस्करणमा समूह चरणबाटै बिदा भएको थियो । यसबाट पनि थाहा पाइन्छ विश्वकप च्याम्पियन बन्न कति कठिन छ । अझ यसपालि फ्रान्सको टिममा प्रेरणादायी स्ट्राइकर करिम बेन्जामा मिडफिल्डरहरू पल पोग्बा र एन्गोलो कान्टे चोटका कारण टिममा हुनुहुन्थेन । तर पनि २३ वर्षीय एमबापे चम्किँदा फ्रान्स उपाधि रक्षा क्रममा अन्तिम भिडन्तसम्म पुग्यो । पेनाल्टी सुटआउटमा मात्र फ्रान्स इतिहास बनाउनबाट वञ्चित भयो ।


यद्यपि यस विश्वकपपछि अबको युग एमबापेको हुने छाँट देखिएको छ । रोनाल्डो र मेसी विश्व फुटबलमा यस पुस्ताका दुई सर्वश्रेष्ठ फुटबलर हुनुहुन्छ । मेसी ३५ वर्ष पुगिसक्नुभयो । रोनाल्डो अझ मेसीभन्दा दुई वर्ष जेठा हुनुहुन्छ । त्यसैले अब विश्वफुटबलमा यी खेलाडीको रजाइँ सकिँदैछ भन्दा फरक पर्दैन । अब यी दुवैको स्थान एमबापेले लिने पक्का छ । अहिले नै एमबापेले विश्व फुटबलका राजकुमारको उपमा पाइसक्नुभएको छ । यस विश्वकपमा आठ गोल गरेर एमबापेले गोल्डेन बुट जित्नुभयो । फाइनलमा ह्याट्रिक गरेर पनि उपाधि वञ्चित हुनुपर्दा एमबापेका लागि दुःख मनाउ गर्ने करोडौँ थिए । त्यसो त एमबापेले १९ वर्षको उमेरमा नै प्रेरणादायी प्रदर्शन गरेर फ्रान्सलाई विश्वकपको उपाधि दिलाउनुभएको थियो । उहाँले चार वर्षअघि पनि चार गोल गरेर फ्रान्स च्याम्पियन बन्नुमा महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । तेज गति र अद्भूत फुटवर्क अनि गोल गर्ने खुबीका कारण एमबापेलाई रोनाल्डो र मेसीको स्तरमा पुग्ने अपेक्षा गरिएको छ । अहिले एमबापेको स्तरलाई चुनौती दिने अन्य खेलाडी देखिएका छैनन् । 

स्तब्धकारी नतिजाको विश्वकप

कतार विश्वकपलाई भविष्यमा स्तब्धकारी नतिजाका लागि पनि सम्झना गरिनेछ । यस विश्वकपमा मोरोक्कोको सेमिफाइनलसम्मको यात्रा नचिताएको कुरा थियो । साउदी अरब, जापान, दक्षिण कोरिया, क्यामरुन र ट्युनिसियाजस्ता टिमले ठूला टिमलाई स्तब्ध पारेर यस विश्वकपमा लगातार स्तब्धकारी नतिजा निकाले । मोरोक्को त एकसे एक टिमलाई पन्छाउँदै अगाडि बढ्यो । विश्व वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई समूह चरणमा हराएर अगाडि बढेको मोरोक्कोले नकआउट चरणमा पनि एकसे एक टिमलाई हरायो । मोरोक्को प्रिक्वाटर फाइनलमा पूर्व विजेता स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएर विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने पहिलो अरबी देश बनेको थियो । त्यसको तीन दिनपछि क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई बिदा गरेर मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो । 

अर्जेन्टिनालाई पहिलो खेलमै सबभन्दा कमजोर टिमको रूपमा हेरिएको साउदी अरबले २–१ ले स्तब्ध पा¥यो, जसको खुसीयालीमा साउदी अरबमा सार्वजनिक बिदासमेत भयो । यो नतिजालाई पछ्याउँदै जापानले पूर्वविजेता जर्मनी र स्पेनलाई स्तब्ध बनायो । ट्युनिसियाले पनि विश्व विजेता फ्रान्सलाई १–० ले हरायो । दक्षिण कोरियाले पोर्चुगललाई हराएर अन्तिम १६ मा स्थान बनायो । क्यामरुनले घर फर्कनुअघि ब्राजिललाई हराएर सनसनी मच्चायो । ब्राजिल फेरि नकआउटमा क्रोएसियासँग पनि हा¥यो । विगतका विश्वकपमा पनि अप्रत्यासित नतिजा आउने गर्दथ्यो । यद्यपि यसपालि शृङ्खलाबद्ध रूपमै स्तब्धकारी नतिजा निस्किए । एसिया र अफ्रिकी टिमले पनि भविष्यमा युरोप र दक्षिण अमेरिकी टिमलाई गतिलो चुनौती दिने सङ्केत कतार विश्वकपले दिएको छ ।

ठूला टिम र नामको दुर्दशा

कतार विश्वकप जर्मनी, बेल्जियम र स्पेनजस्ता ठूला टिमका लागि सम्झनलायक रहेन । जर्मनी र बेल्जियमले त आफ्नो लाज पनि बचाउन सकेनन् । यी दुवै दाबेदार टिम समूह चरणबाटै बिदा भए । विश्वकपमा जर्मनी सधँै उत्कृष्ट प्रदर्शनी गर्ने टिम हो । जर्मनीले चार पटक विश्वकप जितेको छ । तर जर्मनी लगातार दोस्रो पटक समूह चरणबाट बिदा भयो । पछिल्लो संस्करणमा उपाधि रक्षा अभियानमा जर्मनी नकआउट चरण पुग्न पनि असफल भएको थियो । सन् २०१४ मा विश्वकपको उपाधि जितेपछि जर्मनीको प्रमुख प्रतियोगितामा ओरालो लाग्ने क्रमको सुरुआत भएको हो भन्दा फरक पर्दैन ।

पछिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको बेल्जियमको टिमलाई सुनौलो पुस्ता भनिन्छ । कागजमा बेल्जियमको टिम निकै सशक्त छ । तर युरो २०२२ र यस विश्वकपको प्रदर्शन हेर्दा बेल्जियमको यो सुनौलो पुस्ता नराम्ररी चिप्लिएको छ । गत वर्ष युरो कपको सेमिफाइनलमा पुग्ने डेनमार्कबाट यस विश्वकपमा ठूलो अपेक्षा गरिएको थियो । तर समूह चरणमै यात्रा सकिएप्छि डेनमार्क पनि नराम्ररी फ्लप भयो । यसैगरी विश्वका नम्बर एक टिम र पाँच पटकको विजेता ब्राजिल र रोनाल्डोको टिम पोर्चुगलको क्वाटरफाइनलसम्मको यात्रालाई पनि यी दुवै दाबेदार टिमको असफल यात्राको रूपमा रहनेछ ।

मेसीसरह यस पुस्ताका सर्वश्रेष्ठ खेलाडी रोनाल्डोका लागि यो विश्वकप सबभन्दा बिर्सनलायक रह्यो । रोनाल्डो पनि आफ्नो अन्तिम विश्वकपमा ट्रफी चुम्न चाहनु हुन्थ्यो । तर यस विश्वकपमा छाउन नसकेपछि रोनाल्डोको खेल जीवन अब विश्वको सबभन्दा ठूलो, महत्वपूर्ण र लोभलाग्दो ट्रफी नउचालीकन नै सकिने पक्का भयो । अर्को विश्वकपमा खेल्न रोनाल्डोलाई उमेरले साथ दिने छैन । कमजोर प्रदर्शनपछि नकआउट चरणमा पहिला रोजाइमा पनि रोनाल्डोले स्थान पाउनुभएन जुन रोनाल्डोजस्ता ठूला खेलाडीका लागि एक प्रकारको बेइज्जत नै थियो । बेल्जियमका प्लेमेकर केभिन डि बु्रयनको पनि विश्व फुटबलमा ठूलो नाम छ । तर यस विश्वकपमा उहाँ अझ नराम्रोसँग फ्लप हुनुभयो ।

विश्वकपमा सफल

विश्वकप फुटबल सकिएको भोलि आइतबार एक हप्ता हुँदैछ । तर यसको ‘साइडइफेक्ट’ बाँकी नै छ । च्याम्पियन अर्जेन्टिना र मेसीको चर्चा सकिएकै छैन । एसियाली टिमका साथै क्रोएसिया, मोरोक्को, फ्रान्स र एमबापेको वाहवाही पनि भइरहेकै छ । एसियाका टिम जापान, दक्षिण कोरिया र अस्ट्रेलियाले यसपालिको विश्वकपपछि एसियाली फुटबललाई हेर्ने दृष्टिकोण फरक पारिदिएका छन् । एसियाबाट प्रतिनिधित्व गरेका छ राष्ट्रमध्ये जापान, दक्षिण कोरिया र अस्ट्रेलिया नकआउट चरणमा पुगे जुन पहिलो पटक सम्भव भएको हो । अन्य तीन राष्ट्रमध्ये साउदी अरब र इरानले पनि आफूलाई कमजोर देखाएनन् । आयोजक कतारले भने घरेलु मैदान र समर्थकबीच अपेक्षाअनुरूप प्रदर्शन गर्न सकेन । जापानले त जर्मनी र स्पेनलाई समूह चरणमा हराएर समूह विजेता बनेर एसियाकै इज्जत राख्यो । जापान क्रोएसियासँग टाइब्रेकरमा निराश बनेपछि मात्र क्वाटरफाइनल पुग्नबाट वञ्चित भएको थियो । दक्षिण कोरियाले पोर्चुगललाई हरायो । अस्ट्रेलियाले पनि डेनमार्कलाई हरायो । साउदी अरबको अर्जेन्टिनामाथिको जित त पछिसम्म पनि सम्झना गरिनेछ । व्यक्तिगत रूपमा यो विश्वकप मेसीकै विश्वकप बन्यो । यसबाहेक एमबापे, मोरोक्कोका गोलरक्षक यासिन बोनोउ, ३७ वर्षमा क्रोएसियालाई सेमिफाइनलसम्म पु¥याउने कप्तान लुका मोड्रिच, पोर्चुगलका स्ट्राइकर गोन्कालो रामोस यस विश्वकपको हिरो बन्नुभयो ।

नेपाली रगत–पसिनाले सिञ्चित विश्वकप

कतार विश्वकप नेपालीको रगत–पसिनाले सिञ्चित विश्वकप पनि हो । १२ वर्षअघि विश्वकप आयोजनाको जिम्मेवारी पाएपछि नै कतारले भौतिक पूर्वाधार निर्माणको तयारी सुरु गरेको थियो । कतारले सडक बिस्तार, होटल निर्माण, विश्वस्तरीय रङ्गशाला बनाएर देशको मुहार पनि फे¥यो । मुहार फेर्नमा कतारले विशेष गरी नेपालीसहित अन्य देशका आप्रवासी श्रमिकको प्रयोग ग¥यो ।  निर्माण कार्यमा आप्रवासी श्रमिकमाथिको शोषण र लापरबाहीले धेरैको ज्यान गएको बताइएको छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०१० देखि २०२१ सम्म एक हजार ६४१ जना र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०२२ मा ५६७ जना नेपाली श्रमिकको मृत्यु भयो । यसअनुसार कतारमा आयोजित विश्वकप तयारीका क्रममा नेपाली श्रमिक दुई हजार २०८ जनाको मृत्यु भएको छ । हजारौँ नेपाली श्रमिक अङ्गभङ्ग भएको पनि बताइएको छ । उनीहरूले अहिलेसम्म उचित क्षतिपूर्ति पाएका छैनन् ।

विश्वकप २०२२ सफल आयोजना गरेर कतारले थुप्रै आलोचनाको जवाफ दिइसकेको छ तर श्रमिकको मृत्यु र अङ्गभङ्गका मामलामा कतार अहिले पनि आलोचित छ । यस विषयमा लगातार ध्यानाकर्षण गराए पनि कतार सरकार मात्र होइन फिफाले पनि बेवास्ता गरेको आरोप मानव अधिकारवादी संस्थाले लगाएका छन् ।