• ८ मंसिर २०८१, शनिबार

नियात्रा

यायावरहरू कोटडाँडामा

blog

बिहानको ७ बजेको थियो । म लगनखेल बसपार्कको छेउमा उभिएकी थिएँ । पूर्वमा उदाएको सूर्यको किरण किशोरवयमा प्रवेश गरिसकेको थियो । नगर सफा गर्ने कुचीकारले फोहोर सोहोरिरहेका थिए । ठाउँ–ठाउँमा प्लास्टिक र अन्य फोहोर सोहोरेर थुप्रो थुप्रो बनाएका थिए । हिजो बेलुकाको फोहोर होला, यो मनमनै अनुमान गरेँ । यिनीहरूले यति दुःख गरी गरी सफा गर्छन् । एकछिनपछि घरधनी, सडक व्यापारी र फुटपाथे पैदलयात्रीले फोहोर फाल्दै सडक विरूप पार्छन् । यस्तो अवस्थामा सहर कसरी सफा हुन्छ र ? सहर सफा हुन त जसले फोहोर निकाल्छ, उसले नै आफ्नो फोहोर व्यवस्थापन गर्ने जिम्मा लिनुपर्छ । यसो गरे मात्र सहर सफा हुन्छ । नत्र एउटाले सफा गर्ने अर्काले फोहोर मात्र गर्ने हो भने सहर कहिल्यै सफा हुँदैन भन्ने लाग्यो ।

अझ सहर कुरूप हुनुको अर्को कारण पानपराग, सुर्तीका खोल र मोबाइल रिचार्ज गरेका कार्ड जथाभावी फालिनु पनि हो । सहरका चोक चोक र बसस्टपका बिसौनीमा यस्ता फोहोरको डङ्गुर देख्न सकिन्छ । आपूmले प्रयोग गरेको सामानको खोल आफैँ व्यवस्थापन गर्न नसक्नुको चरम असभ्यताले हामी कुन युगका मानव हौँ भन्ने कुरा सोचमग्न बनाउँछ । 

मनभरि यिनै कुराले भारी पीडा दिइरहेका थिए । सेतै कपाल फुलेको फेसबुकमा परिचित अनुहार मेरा अगाडि देखा प¥यो । खेमराज पोखरेल । अमेरिकामा बसोबास गर्ने उहाँ नेपाल आएको थाहा थियो । पक्कै पनि उहाँ आजको कार्यक्रमको स्रष्टा पदयात्री हो भन्ने कुरा अनुमान गर्न गाह्रो भएन । अगाडि गएर परिचय दिएँ । उहाँले मलाई चिन्न पटक्कै विलम्ब गर्नुभएन । लघुकथा कुनोमा उहाँ र म पाँच वर्ष अघिदेखि नै परिचित थियौँ । अस्ति भदौ ३ गते प्रज्ञा प्रतिष्ठानमा १८ वटा लघुकथा सङ्ग्रहको विमोचन गराउने अगुवाइ भूमिका उहाँले नै निर्वाह गर्नुभएको थियो । 

पदयात्राका साथी आउँदै थिए । हामीले चिया पसल पुगेर चिया अर्डर गरिसकेका थियौँ । हाम्रा मोबाइलमा पालैपालो साथीहरूको फोन आइसकेको थियो । चिया पसलको नक्सा दिँदा नदिँदै उहाँहरू हामीनजिक आइसक्नुभएको थियो । मन्दिरा मधुश्री, शान्ति सापकोटा, निशा के.सी., शारदा पराजुली, शीतल गिरी, डिल्लीरमण सुवेदी, घनश्याम प्रसाई, एन.बी. जनकपुरी, वसन्त रिजाल, सुमन पुडासैनी, लक्ष्मण दुलाल, माधव पुडासैनी, परशुराम परासर, लीलाराज दाहाल, डिल्लीराज अर्याल, विमल अर्याल गरी १८ जनाको जम्बो टोली भइएछ । 

जब भैँसेखोला पार गरेर अगाडि बढियो, तब हरियाली वनजङ्गलले मनै लोभ्यायो । जताततै रमणीय वन देख्दा आँखा पनि शीतल भयो । काठमाडाैँबाट दक्षिणतर्फ देखिने हरिया थुम्का यिनै जङ्गल हुन् कि भन्ने लागेर मनै हरर भयो ।  

टीका भैरवसम्म जाने बस बुझबुझारथ गर्नपट्टि केही साथी लाग्नुभयो । एकैछिनपछि छ हजार रुपियाँमा आतेजाते हुने गरी बस पाइयो । “शनिबार भएर हो, अरू बेला हो भने दैनिक आठ हजार कमाइ हुन्थ्यो,” ड्राइभरले भने । 

“उसो त तेल पनि बचत हुन्छ नि धेरै आऊजाऊ गर्न परेन,” हामीले भन्यौँ । 

धापाखेल, सुनाकोठी, ढोलाहिटी नामक अनेक टोल हेर्दै हेर्दै भित्रभित्रै पुग्यौँ । काठमाडौँ कति विशाल छ भन्ने कुरा कहिल्यै नदेखिएका यी सहरमुखी गाउँबाट देख्न सकिन्थ्यो । यतातिर पनि पूरै कङ्क्रिटको जङ्गल बढिसकेछ । म दृश्यावलोकनमा व्यस्त थिएँ ।

मेरा लागि चापागाउँ र लेलेको यात्रा पहिलो पटक थियो । हेर्दाहैर्दै गाडीले हामीलाई चापागाउँ कटाएर अगाडि बढायो । चापागाउँ सकिएपछि लेले आउने होला । काठमाडौँमा बसेर यी नाम धेरै पटक सुने पनि बल्ल यी स्थानमा पाइला परेको थियो । यहाँसम्म पुग्दा बाटोघाटो सफा र सिनित्त थिएन । जताततै फोहोर र खाल्टाखुल्टीले कुरूपताको परिचय दिएका थिए । देशमा बाटोको अवस्था जताततै बेहाल रहेको कुरा बुझ्न यिनै बाटोको अवस्था काफी थियो । यी दृश्यले मनको कुनामा चसक्क बिझ्यो । 

टीका भैरव भन्ने स्थानमा पुग्यौँ । यस क्षेत्रको प्रसिद्ध टीका भैरव महादेवको मन्दिर देखा प¥यो । सबै जनाले दर्शन गर्नुपर्छ भन्न थाल्नुभयो । म त झन् नयाँ थिएँ, बसबाट नझर्ने कुरै भएन । दर्शन ग¥यौँ । भेटी चढायौँ । 

गाडीचालक स्थानीय बासिन्दा रहेछन् । बोलीचाली मीठो र ड्राइभिङ पनि कुशल नै लाग्यो । टीकाभैरवबाट माथि उक्लेपछि बाटोघाटो अलि जोखिमपूर्ण लाग्यो । ठाउँ ठाउँमा ठूलो ठूलो पहिरो गएर डरलाग्दो बनेको थियो । तैपनि ड्राइभर दाइको अनुभव धेरै छ भन्ने लागेपछि मन त्यसै त्यसै ढुक्क बन्दो रहेछ । भैँसेखोला भन्ने ठाउँमा आइपुगेपछि ठूलो पहिरो गएको देखियो । मनै भरङ्ग भयो । रुखबिरुवा नभएको ठाउँमा डोजरले माटो काटेजसरी ह्वाङ्ग रूपमा पहिरो गएको थियो । 

जब भैँसेखोला पार गरेर अगाडि बढियो, तब हरियाली वनजङ्गलले मनै लोभ्यायो । जताततै रमणीय वन देख्दा आँखा पनि शीतल भयो । काठमाडाँैबाट दक्षिणतर्फ देखिने हरिया थुम्का यिनै जङ्गल हुन् कि भन्ने लागेर मनै हरर भयो । नेपाली सेनाको भैरव गणको देवीडाँडा ब्यारेक पनि यतै माथितिर डाँडामा रहेको सङ्केत चिह्न चाहिँ देखियो । माटो चाहिँ यहाँको रातो बलौटे खालको रहेछ । रातो माटोमा पनि वन सप्रेको देख्दा आनन्द लाग्यो । 

धुवाँ र धुलोले काठमाडौँमा धेरै प्रदूषण बढेको छ । नीलो आकाश हेर्न उपत्यका छाड्नुपर्ने बाध्यता छ । साँच्चै नै आज नीलो आकाशमा सेता बादलका थुम्काथुम्कीको दृश्य पनि मन हर्ने किसिमको थियो । निकै बेर मैले अपलक आकाशतिर हेरिरहेँ । सल्लाको रुखका टुप्पा चुलिँदै चुलिँदै आकाश छेड्न खोजेझँै गरी माथि माथि पुगेका थिए । मान्छेले नै कृत्रिम ढङ्गले बनाए जसरी । ऐँसेलुका हरिया झ्याङ हावाको झोक्कासँगै झुलिरहेका थिए । 

बिहानको १० बजेको छ । न घाम न पानी । वास्तवमा भन्ने हो भने घुम्नका लागि निकै अनुकूल मौसम बनेको छ । हामी सबै धेरै खुसी छौँ । दलचोकीका स्थानीय मानिसको यातायात सुविधाका रूपमा दुईवटा सार्वजनिक गाडी बिहानै काठमाडौँतिर जान्छन् रे अनि बेलुका फर्कन्छन् भन्ने सुन्नमा आयो । हाम्रो अगाडिबाट एउटा गाडी आयो, हाम्रा ड्राइभर दाइसँग गाडी नै रोकेर अर्का ड्राइभरले हात मिलाए र साउती पनि मारे । 

यहाँको मानिसको आम्दानीको स्रोेत भनेकै पशुपालन मात्र रहेछ कि भन्ने लाग्यो । दूध डेरीका दुईवटा गाडी पनि काठमाडौँतिर गएको देखियो । बाटोमा १०–१२ वर्षका बालबालिका भैँसीको नाकलाई डोरीले चपक्क समाएर उभिइरहेको देखियो, सायद गाडी देखेपछि भैँसी उफ्रन्छ कि भनेर होला । किताब र कलमलाई समाउने बेलामा भैँसीको स्याहारमा सिङ समाउन अभ्यस्त देख्दा मनै कटक्क काट्यो, कठै ! कति मायालाग्दा देखिएका बरा ! 

११ बजेतिर हामी दलचोकीको मनकामना मन्दिर परिसरमा आइपुग्यौँ । अलि खुला ठाउँ रहेछ । सबै जनाले मनकामना मन्दिर दर्शन गरेर भेटी चढायौँ । समूहको फोटो खिचायौँ । १८ जनाले १८ थरी खानेकुरा बोकेर गएकाले खानेकुराको वर्षा नै हुने रहेछ । नयाँ ठाउँ पनि हेरिने मुख पनि फेरिने हुँदो रहेछ । मीठा मीठा खानेकुरा खाएर हामी फुरुक्क प¥यौँ । 

अब हामी पैदलै हिँड्ने कार्यक्रम थियो । रिजर्भ बसले हामी नआउञ्जेल कोटडाँडामा कुर्ने कुरा भयो । हामी खेतको डिलडिलै उक्लेर अलिपर देखिने मकैबारीको पाखोतिर पुग्न हिँड्यौँ । कोन्ज्योसाम गाउँपालिका–३ रहेछ यो ठाउँ । एकछिन हिँडेपछि मकैबारी आइपुग्यो । मकैबारी सकिएपछि एउटा सानो गाउँजस्तोमा पुग्यौँ । नजिकै श्री गोठभन्ज्याङ माध्यमिक विद्यालय लेखेको सुन्दर भवन पनि रहेछ । २०३१ सालमा यो विद्यालय स्थापित भएको रहेछ । हाल ढलान गरिएको पक्की भवनले नयाँ विद्यालयजस्तै प्रतीत हुन्थ्यो ।

विद्यालयको एक छेउमा खानेपानीको वैज्ञानिक धारा जडान गरिएको थियो । विदेशीको सहयोगले बनेको रहेछ भन्ने कुरा बुझ्न गाह्रो भएन । राजधानीको यति नजिक दूरीमा पनि विद्यालय बनाउन विदेशी दातालाई बिन्ती गर्नुपर्ने अवस्थाले मन नराम्ररी दुख्यो । विद्यालयमा सरसफाइको भने बडो अभाव थियो । आज शनिबार भए पनि हिजोसम्म स्कुल चली नै रहेको थियो होला तर सरसफाइमा यति धेरै लापरबाही किन गरेकोजस्तो लाग्यो । कक्षा कोठा पनि उस्तै फोहोर थियो । 

बाहिरपट्टि अलि अग्लो ठाउँ जस्तोमा हामीले नै अलिअलि सरसफाइ गरेर खाजा खाने ठाउँ बनायौँ । खाइसकेपछि सबै फोहोर व्यवस्थापन गरेर मात्र पुनः पदयात्रामा सामेल भयौँ । ठाउँ–ठाउँमा गोठमा विकासे मुर्रा भैँसी पालिएका थिए । यहाँ दर्लामी मगर, तामाङ, बाहुन, क्षेत्री सबैको मिश्रित बसोबास रहेछ । यस भेगमा मकै मात्र उत्पादन हुने रहेछ । चामल पूरै बेसाएर खाने हो भनी स्थानीयवासी भन्दै थिए । जग्गा त महँगो होला नि यहाँ है निशा के.सी.ले जिज्ञासा राख्नुभयो, “पहिला त सस्तै थियो, एक रोपनीकै दस लाखमा पाइन्थ्यो अहिले त ऊ त्यो माथि डाँडामा भ्युटावर बन्न लागेको छ, त्यसैले आनाकै तीन लाख भएको छ ।”

असिनपसिन हँुदै माथि डाँडाको टाकुरो जस्तोमा पुगियो । एक जना वृद्ध बुबा भेटिनुभयो, उहाँको नाम तिलकप्रसाद न्यौपाने रहेछ । कति वर्षको हुनुभयो भनेको अहिले जति साल हो, त्यति भन्नुभयो । उहाँले यहाँ रहेका होमस्टेका बारेमा सूचना दिनुभयो । 

अघि स्थानीयवासीले देखाएको भ्युटावर बनाउने भनिएको डाँडा उक्लने समय हामीसँग थिएन । बरु हामी त्यही डाँडाको फेदी फेदी हिँडेर भट्टेडाँडाको फेदी तीनपानेमा निस्किने सल्लाहमा बाटैबाटो हिँड्यौँ । ललितपुरको यो ठाउँ हाइकिङका लागि अत्यन्तै उपयुक्त भएको ठहर हामी साथीभाइले गर्दै हिडिरह्यौँ । बिहानै आयो, केही खानेकुरा बोकेर ल्याए पनि भयो, नत्र आन्तरिक पर्यटनलाई सघाउन भनेर खोलिएका यहीँका स्थानीय रेस्टुरेन्टमा खाए पनि भयो । यहाँका हरिया डाँडापाखा हे¥यो, शुद्ध अक्सिजन लियो, दिमागलाई एकै दिन भए पनि काठमाडौँको भीडभाड र कोलाहलबाट मुक्त राख्यो गजबै हुने रहेछ नि जस्तो लाग्यो । हामी प्राकृतिक सौन्दर्यमा लठ्ठ पर्दै, अत्यन्तै रमाउँदै पाइला अगाडि बढाउँदै रह्यौँ । 

करिब २ बजेतिर भट्टेडाँडाको फेदीमा अवस्थित तीनपाने भञ्ज्याङमा हामी आइपुग्यौँ । भट्टेडाँडाको नाम काठमाडौँवासीका सचेत वर्गले सुनेको नाम होजस्तो लाग्छ । हरेक जहाज भट्टेडाँडा भएर मात्र त्रिभुवन विमानस्थलमा अवतरण गर्छन् । एक पटक ठूलो जेटविमान यही डाँडामा ठोक्किएर भयानक दुर्घटना भएको थियो । यो डाँडाको टुप्पामा राडार स्टेसन छ रे ! त्यहाँ सेनाले सुरक्षा पनि दिएको छ भन्ने सुनियो । यहाँबाट माथि डाँडामा उक्लन एक घण्टा लाग्छ भन्ने भएपछि त्यता उक्लने चेष्टा गरेनौँ ।

भट्टेडाँडालाई नै केन्द्र बनाएर हाइकिङ आउनेहरूको क्रम पनि तीव्र भएको कुरा कतै पढेकी थिएँ । एकछिन थकाइ मार्न हामी तीनपाने भञ्ज्याङको एउटा होटलमा बस्यौँ । केही पानीका बोतलसमेत किनेर स्थानीय व्यापारलाई सघाइदियौँ । स्थानीयवासीसँग मीठा मीठा गफ ग¥यौँ । घुम्नैका लागि मात्र यत्रो फौज हाम्रा गाउँसम्म आएको भन्ठानेर होला, स्थानीयवासी वाल्ल परेर हेर्दै थिए हामीलाई । काठमाडौँ उपत्यकाका नजिक यति सुन्दर ठाउँ रहेछन्, यिनको अझै राम्रोसँग प्रचारप्रसार गर्न पाए आन्तरिक पर्यटनको कति प्रवद्र्धन हँुदो होजस्तो लाग्यो । कहिले होला हाम्रो देश पर्यटनमैत्री बन्ने भनेर चिन्तित भएँ । न बाटो राम्रो छ, न शौचालय राम्रो छ, न होटल राम्रो छ । पर्यटकलाई के देखाउने रहेछ भनेजस्तो लाग्यो । 

“ल है अब कोटडाँडातिरको बाटो लागौँ ।” 

तीनपाने भञ्ज्याङबाट दक्षिण–पश्चिम जाँदा पिचैपिचको बाटो रहेछ । प्रकृतिले हामीलाई ठगेको हो कि पानीको निकास राम्रोसँग निकाल्ने इन्जिनियरिङ अध्ययन कमजोरी भएको हो, पिचसहितको चाक्ला चाक्ला बाटा पहिरोमा परेका थिए र अझै जोखिम अवस्थामा थिए । ठाउँठाउँमा यस्तो देख्दा कस्तो ध्वंसात्मक विकास रहेछ यहाँ जस्तो लाग्यो । ठूला अनुभवी इन्जिनियरले यो बाटोको अध्ययन गर्न पर्ने देखेँ । 

शान्ति सापकोटाले ठोट्नेको मुन्टा भाँचेर अचार खान लैजाने भनेपछि मैले पनि कस्तो हुँदो रहेछ भनेर एक छाक मुन्टा टिपेर झोलामा हालेँ । शीतल गिरी दाजु कोटडाँडा भ्याली भ्यु रेस्टुरेन्टभित्र छिर्दै हामीलाई पनि यतै आउने सन्देश दिनुभयो । राम्रो रेस्टुरेन्ट रहेछ । दक्षिणतिरको सुन्दर हरियाली जङ्गल देखिँदो रहेछ । हामी लहरै बस्यौँ । चिया लियौँ र स्रष्टा कविता वाचनमा लाग्यौँ ।