• ८ मंसिर २०८१, शनिबार

‘तिम्रो मेरो साथ’ रिलिज हुँदै

blog

काठमाडौं, पुस ८ गते । नेपाली फिल्ममा सङ्ख्यात्मक रूपमा थोरै फिल्ममा अभिनय गरे तापनि स्थापित भएकी अभिनेत्री हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह । ‘ड्रिम्स’मार्फत डेब्यु गर्दा नै फरक देखिएपछि उहाँको डिमाण्ड फिल्ममा बढ्दै गयो । यिनै अभिनेत्री शाह पछिल्लो समय अभिनेता पुष्प खड्कासँग देखिनुभएको छ । उहाँ दुईले मङ्गलम्, मारुनीपश्चात् अभिनय गरेको तेस्रो फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा रिलिज हुँदैछ ।

अभिनेत्री शाहले अतिथि भूमिकामा अभिनय गर्नुभएको पहिलो फिल्ममा काम गर्दा उहाँहरूको चिनजान नै थिएन । फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पुष्पले भन्नुभयो, “हाम्रो भेट नै दोस्रो फिल्मका लागि भएको थियो । उहाँको कामप्रतिको लगाव तारिफयोग्य छ । हामी मिल्ने साथी बनिसकेका छौँ ।” तेस्रो फिल्ममा काम गर्दा झनै एकअर्कालाई बुझ्न पाएको उहाँले बताउनुभयो ।

फिल्मनगरीसँग घुलमिल नभएकी अभिनेत्री शाहले पनि अभिनेता खड्कासँग काम गर्न पाउँदा ‘कम्फर्ट फिल’ हुने बताउनुभयो । “हामीले काम गर्ने शैली बुझिसकेका छौँ । त्यसैले तेस्रो सहकार्यमा झनै सजिलो भयो”, अभिनेत्री शाहले भन्नुभयो, “मैले आफू सुहाउँदो भूमिकाभन्दा बाहिर निस्केर काम गर्ने कोसिस गरिरहेकी छु । क्यारेक्टरमा आफूलाई देखेपछि अभिनय गर्न तयार हुन्छु ।”

पत्रकार सम्मेलनमा उहाँ दुईलाई अभिनय गराउनुका कारण सुहाउँदो केमेष्ट्री रहेको निर्देशक रमेश एमके पौडेलले बताउनुभयो । “उहाँहरूको फिल्म दर्शकले प्रतीक्षा गरिरहनुभएको जस्तो लाग्छ । मैले तयार गरेको कथामा समेत उहाँ दुई फिट हुनुभयो”, निर्देशक पौडेलले भन्नुभयो, “बाहिर जे–जस्तो हल्ला सुनिए पनि अभिनेत्री शाहसँग काम गर्न निकै सहज र सरल भयो ।” फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दीपिशा केसीलगायतका कलाकारको अभिनय छ । सवीर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको फिल्ममा शिव ढकालको छायाङ्कन, सुवास भुसाल/योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन छ ।