• ८ पुस २०८१, सोमबार

स्वास्थ्यको पहुँच बाहिर रहेकालाई पहुँच पुर्‍याउने नीति

blog

नवन सुवेदी

सुर्खेत, पुस ७ गते । कर्णालीमा स्वास्थ्यको सर्वव्यापी पहुँच बाहिर रहेका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य रणनीति तयार पारी सार्वजनिक गरिएको छ । बुधबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स्वास्थ्यमा सर्वव्यापी पहुँच विषयक् सञ्चारकर्मी र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका समुदायलाई पहुँच र उपभोगमा अभिवृद्धि गर्न स्वास्थ्य रणनीति तयार पारेकोे जनाएको छ । 

मन्त्रालयले तयार पारेको रणनीतिमा भौगोलिक विकटताका कारण पहुँच बाहिर रहेका समुदायमा स्वास्थ्य सेवाको पहुँच र उपभोगमा वृद्धि, आर्थिक अभावका कारण स्वास्थ्य सेवाको उपभोगबाट वञ्चित समुदायलाई मूल प्रवाहमा समावेश गर्दै सामाजिक, लैङ्गिक तथा सांस्कृतिक बाधा व्यवधानका कारण स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका समुदायसम्म पहुँच विस्तार गरी स्वास्थ्य सेवा प्रणाली सुदृढ र गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उल्लेख छ । 

यस्तै, प्रदेशवासीलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरी सेवाको व्यवस्थापनलाई सुदृढ एवम् प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवामा सीप मिश्रित जनशक्ति विकास र विस्तार, गुणस्तरीय औषधि तथा प्रविधिजन्य सामग्रीमा पहुँच वृद्धि गर्न उत्पादन, आपूर्ति, भण्डारण तथा वितरण र प्रयोगमा जोड दिइएको छ ।

जनस्वास्थ्यको क्षेत्रमा प्रदेशको लगानीलाई वृद्धि र व्यवस्थित गरी व्यक्तिगत खर्च गर्नुपर्ने अवस्थाको न्यूनीकरण, व्यक्ति परिवार र समाजलाई परिचालन गरी स्वस्थ्य जीवनशैली अपनाउन अभिप्रेरित गर्दै नसर्ने रोगको उपचारलाई आधारभूत स्वास्थ्य सेवास्तरदेखि नै व्यवस्थापन लगायतका नीति अवलम्बन गरिने सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले बताउनुभयो । 

सबै नागरिकलाई स्वास्थ्य सहज सेवा पुर्‍याउन प्रदेश सरकार रातदिन लागिपरेको बताउँदै यसमा सङ्घ र स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।