सबैलाई सङ्गीत मन पर्छ, जुन एउटा निर्विवाद तथ्य हो । सङ्गीत मनोविनोद र आत्मसुखको माध्यम भएकाले मानवजातिले यससँग युगौँदेखि अटुट नाता कायम गर्दै आएको छ । सङ्गीत आत्मिक सञ्चारको पनि अचुक माध्यम हो । हामीले देख्दै–भोग्दै आएको कुरा हो– सङ्गीतले पूर्वस्मृति जागृत तुल्याइदिन्छ, कहिले भावनाको सागरमा डुबाइदिन्छ, कहिले मनमा उमङ्ग भरेर ओँठमा मुस्कान फक्राइदिन्छ त कहिले भावुक तुल्याएर आँसुको वर्षा गरिदिन्छ ।
सङ्गीतलाई भाषाको पनि भाषा मान्ने गरिन्छ । सञ्चारकर्ममा भाषा असफल रहँदा पनि सङ्गीत सफल रहेको दृष्टान्त भेटिन्छ । कोरियाली गीत तथा नृत्य ‘ग्याम्नाम स्टाइल’ लाई दृष्टान्तको रूपमा लिन सकिन्छ । बहुसङ्ख्यक मानिस कोरियाली भाषासँग परिचित नभए पनि संसारभरका युवा यसमा झुमे । भाषिक पुल नहुँदा भावसञ्चार गर्ने अथाह तागत सङ्गीतमा रहन्छ भन्ने तथ्य ‘ग्याम्नाम स्टाइल’ ले स्थापित गरिदिएको छ ।
पूर्वउल्लिखित तथ्यलाई आत्मसात् गर्दै डेनिस–अमेरिकी रहस्यवादी म्याक्स हेन्डेल (सन् १८६५–१९१९)ले सङ्गीतलाई भाषाको आत्मा मानेका छन् । यसै प्रसङ्गमा अमेरिकी कवि हेनरी वाड्सवर्थ
बलङ्फेलो (सन् १८०७–१८८२) को बहुचर्चित भनाइ उद्धरणीय हुन आउँछ । उनले भनेका छन्, “सङ्गीत मानव जातिको विश्वभाषा हो ।”
सङ्गीतले राजनीति, अध्यात्म, युद्ध, स्वास्थ्य विज्ञान, जनचेतना अभिवृद्धि, प्रणयलगायत मानव जीवनका बहुआयामिक पक्षमा बहुआयामिक तरिकाले सञ्चार गर्ने तागत राख्छ ।
सङ्गीतले राजनीतिक सञ्चारमा शक्तिशाली भूमिका खेल्छ । नेपालको सन्दर्भमा कुरा गर्दा कम्युनिस्ट घटकले आफूहरू दीनहीन जनताको पक्षमा रहेको सन्देश प्रवाह गर्न र सत्तासीनहरूप्रति विद्रोहभाव जगाउन गीत–सङ्गीतलाई हतियारकै रूपमा प्रयोग गरे । गाउँबस्तीमा पुगेर जनतालाई जुरुक्कै उचाल्ने गीत गाए । यस दिशामा जेबी टुहुरेजस्ता ‘प्रगतिशील’ कलाकारको भूमिका रह्यो ।
‘लाखौँका लागि उजाड छ यो देश, मुट्ठीभरलाई त स्वर्ग छ”, ‘रातो भाले धुरीमा करायो, गरिबको चमेली निसापै हरायो’ जस्ता गीत कुनै समयमा जनजिब्रोमा झुन्डिएका क्रान्तिकारी गीत हुन् । यस्ता गीतमा राजनीति नभनीकनै राजनीतिक सन्देश निहित छ ।
यस्ता गीतले जनस्तरका नागरिकका दिल–दिमागमा विद्रोहको बीउ रोप्ने, राजनीतिक चेतना जगाउने तथा राजनीतिक हिसाबले सङ्गठित हुन सघाए । यो त भयो नेपालको कुरा । संसारभर नै सङ्गीतलाई राजनीतिक सञ्चारको प्रभावकारी माध्यम मानिन्छ ।
यसै प्रसङ्गमा चुनावी गीत पनि अर्को स्मरणीय पक्ष हो । हरेक चुनावमा ठूलो सङ्ख्यामा चुनावी गीत तयार गरिन्छन् । मतदाता र आमनागरिकको मन जित्ने अभिप्रायले तयार पारिने यस्ता गीत उत्पादनका क्रममा गायक–गायिका, सङ्गीतकार, गीतकार तथा सिङ्गो सङ्गीत उद्योग व्यस्त रहन्छ । यससँगै उनीहरूको आम्दानीको ग्राफ पनि उकालो लाग्छ ।
नेपालमा चुनावी गीत तयार पार्दा कति खर्च हुन्छ भन्नेबारे कुनै व्यवस्थित अध्ययन नभए पनि यसले सङ्गीत अर्थतन्त्रलाई लाखौँको योगदान दिने गरेको तथ्यलाई नकार्न सकिँदैन । यस वास्तविकताले राजनीतिक सञ्चारमा सङ्गीतको गहन भूमिकालाई प्रस्ट्याउँछ ।
सङ्गीतको माध्यमबाट हुने सञ्चारको कुरा बिगुल बजाएर गरिने सञ्चारको पनि प्रसङ्ग आउँछ । राणाकालमा देशमा राजनीतिक परिवर्तन हुँदा धरहराबाट बिगुल फुक्ने गरिन्थ्यो । प्रधानमन्त्री फेरिँदा वा यस्तै प्रकृतिका राजनीतिक परिवर्तन हुँदा धरहराबाट बिगुल फुकिन्थ्यो । धरहरामा बिगुल बजेपछि देशमा ठूलै राजनीतिक परिवर्तन भएछ भन्ने जानकारी सर्वसाधारणले पाउँथे । बिगुलले गर्ने राजनीतिक सञ्चारबारे संस्मरण सुनाउने बूढापाका अभैm भेटिन्छन् ।
सङ्गीत र अध्यात्मबीच नाता एकदमै गहिरो छ । मन्दिरमा बज्ने घन्टा, शङ्ख, डमरु आदिको ध्वनिले युगौँदेखि धार्मिक तथा आध्यात्मिक अनुष्ठानबारे हाम्रो समाजमा सञ्चार गर्दै तथा जागृत तुल्याउँदै आएको छ । त्यसमा पनि मन्दिर परिसरमा गुञ्जने भजन परम्पराको बेग्लै गाथा छ, जुन आध्यात्मिक सञ्चारका दृष्टिले बेग्लै खोजको विषय बन्न सक्छ ।
यसैगरी दशैँताका रेडियो, टेलिभिजन तथा मोबाइल फोनको रिङटोनमा बज्ने मालाश्री धुनले दशैँ आगमनको सङ्केत गर्छ । यी तमाम साक्ष्यका आधारमा यस्ता सङ्गीतलाई आध्यात्मिक–मानवीय सम्बन्धको सञ्चार–सेतु ९mभतबउजथकष्अब िजगmबल अयललभअतष्यलक० मानिन्छ ।
युद्धमा पनि सङ्गीत व्यापक रूपमा प्रयोग हुँदै आएको छ । आफ्ना समर्थकको मनोबल बढाउन र विरोधीको मनोबल गिराउन युद्ध–उन्मादी गीत प्रयोग हुँदै आएको इतिहास छ । यससँगै युद्धविरोधी सङ्गीत पनि अस्तित्वमा आएको पाइन्छ । ‘ह्वेयर इज द लभ’, ‘ह्वेन द चिल्ड्रेन क्राइ’, ‘वर्थलेस वार’ जस्ता अङ्ग्रेजी गीतलाई युद्धविरोधी गीतका रूपमा लिन सकिन्छ ।
बाइसे–चौबिसे राज्यकालमा भुरे–टाकुरे राज्य–सञ्चालकले पहाडको टुप्पोबाट नगरामा कुट हानेर शत्रु पक्षबाट हुन लागेको आक्रमणबारे सूचना प्रवाह गरिन्थ्यो । नगराका अनेकन् ताल र सुरले शत्रुको अवस्था तथा अवस्थितिबारे जानकारी दिन्थे भन्ने कथन यदाकदा सुन्न पाइन्छ । नगराको ताल र सुरले दिने सन्देशका आधारमा आवश्यक आक्रमण वा प्रत्याक्रमणका लागि फौज तम्तयार अवस्थामा रहन्थे भन्ने पुरानो संस्मरण गाउँघरतिर अझै सुन्न सकिन्छ ।
अर्कोतिर युरोप, भूमध्यरेखीय क्षेत्र, न्यु गिनी तथा अफ्रिकी मुलुकमा पनि विभिन्न प्रयोजनका लागि नगरा (ड्रम) प्रयोग भएको पाइन्छ । अमेरिकाको क्यालिफोर्नियास्थित सङ्गीत तथा नृत्य प्रशिक्षणशाला ‘ओमाहा स्कुल अफ म्युजिक एन्ड डान्स’ को वेबसाइटमा प्रकाशित लेखअनुसार अफ्रिकी तथा युरोपेलीहरूले प्रयोग गर्ने नगरामार्पmत पाँच माइल परसम्म सन्देश प्रवाह हुन्थ्यो ।
सङ्गीतको बहुपक्षीय उपयोगिताबारे चर्चा गर्ने क्रममा स्वास्थ्य विज्ञान र सङ्गीतबीच विद्यमान नातालाई पनि बिर्सन मिल्दैन । स्वास्थ्य विज्ञान र सङ्गीतबीच रहेको साइनो गहन अध्ययन र विश्लेषणको विषय बनेको छ । स्वास्थ्य विज्ञानमा प्रयुक्त सङ्गीतलाई चिकित्साशास्त्रीय भाषामा ‘म्युजिक थेरापी’ भन्ने गरिन्छ ।
मानसिक स्वास्थ्यसम्बन्धी वेबसाइट ‘भेरी वेल माइन्ड’ मा उल्लेख भएअनुसार स्मृतिलोप सम्बन्धी रोग ९ब्शिजभष्mभच०, मानसिक अवसाद ९मभउचभककष्यल०, अनिद्रा, बौद्धिक अपाङ्गता, मुटु रोग, मानसिक आघात, मधुमेहलगायतका तमाम रोगमा ‘म्युजिक थेरापी’ सहायकसिद्ध मानिएको छ । ‘म्युजिक थेरापी’ ले आत्मिक सञ्चार, मानसिक स्वास्थ्य र स्वास्थ्य सञ्चारसँग गहिरो नाता गाँसेको तथ्य एकपछि अर्को गरी उद्घाटित भइरहेको छ ।
जनचेतना विस्तारमा सङ्गीतको प्रयोग अर्को महìवपूर्ण पक्ष हो । सङ्गीतका माध्यमबाट हुने अभिव्यक्ति सरल, सरस र माधुर्यपूर्ण हुन्छ, जुन जनचेतना अभिवृद्धिमा ‘रामवाण’ मानिन्छ । दुई हजार शब्दले पनि प्रस्ट्याउन नसक्ने सन्देशलाई दुई हरफको लोकगीतले छर्लङ्ग पार्न सक्छ । यही आधारमा सञ्चार रणनीतिकारहरू ग्राम्य समाजमा जनचेतना विस्तारमा लोकगीतको प्रयोगमा जोड दिन्छन् । लोकजीवनमा लोकप्रिय रहेका गीतका भाकामा सन्देश प्रवाह गर्दा सन्देशको सम्प्रेषणीयता उच्च रहन्छ ।
अब आउँछ, प्रणय–सञ्चारको प्रसङ्ग । प्रणय–सञ्चारमा गीत–सङ्गीतले खेलेको भूमिकासँग जोडिएका किस्सा बताइनसक्नुको छ । गीतमार्पmत प्रवाह हुने प्रणयभाव बहुधा अकाट््य र प्रभावकारी रहन्छ । गीतैगीतमा माया–प्रेम भएर असङ्ख्य जोडी विवाह–बन्धनमा बाँधिएका रुमानी किस्सा हाम्रो समाजमा यत्रतत्र भेटिन्छन् । गीत गाउने क्रममा प्रवाहित प्रेमिलभाव, भावुकता, गीतको भाकामा विद्यमान लयात्मकता तथा माधुर्यले गीत गाउने जोडीलाई भावनात्मक रूपमा एकाकार गरिदिन्छ । भावनात्मक रूपमा एकाकार भएका जोडी रूप, कुल र धन–दौलतलाई बिर्सेर मायाको बन्धनमा पर्छन् भनेर लोकले भन्दै आएको छ ।
मानव कण्ठबाट निःसृत सुसेली पनि युगौँदेखि सङ्गीत र सञ्चारको हिस्सा बन्दै आएको छ ।
गाउँबस्ती तथा वनपाखामा सुसेलीलाई साङ्गीतिक अभिव्यक्ति माध्यम मानिन्छ । उकाली–ओराली तथा दाउरा–घाँस गर्दा सुसेलीमार्पmत गीत गुनगुनाउने प्रचलन पुरानो हो । सुसेलीको आदिम स्वभावलाई ध्यानमा राखेर सङ्गीत उद्योगले पनि यसलाई सङ्गीतको एक हिस्साको रूपमा उपयोगमा ल्याएको छ । कतिपय हिन्दी चलचित्रका गीतमा सुसेलीलाई सङ्गीतको रूपमा प्रयोग गरिएको पाइन्छ ।
सुसेलीका माध्यमबाट हुने सञ्चारकर्म पनि उत्तिकै पुरानो छ । आज पनि गाउँबस्तीमा ओल्लोडाँडा–पल्लोडाँडाका मानिसबीच अपर्भmट सञ्चार गर्नुपर्दा सुसेलीको प्रयोग गरिन्छ । आफ्ना प्रियजनलाई सुसेलीले बोलाउने चलन पनि हामीकहाँ छँदैछ । सञ्चारकर्ममा सुसेली विश्वव्यापी रूपमै प्रयोग प्रयोग भएको पाइन्छ । अर्कोतिर फुटबल, भलिबलजस्ता खेल एवं ट्राफिक (सवारी) व्यवस्थापनमा यान्त्रिक सिठीले सञ्चारको भूमिका निर्वाह गर्ने तथ्यलाई बिर्सन मिल्दैन ।
सुसेलीको सन्दर्भमा आन्ध्र महासागरमा अवस्थित केनरी द्वीप समूहमा पर्नेे टापु ‘ला गोमेरा’ मा प्रचलित सुसेली भाषा ९धजष्कतभि बिलनगबनभ०को प्रसङ्ग स्मरणीय हुन आउँछ । त्यहाँका अग्ला होँचो पहाड, खोँचबाट निर्मित जटिल भूगोलमा छरिएका बासिन्दाबीच सञ्चार गर्न प्रयुक्त सुसेली भाषाबारे डचे वेले, बीबीसीजस्ता अन्तर्राष्ट्रिय प्रसारण संस्थाले रिपोर्ट प्रसारण गरेका छन् ।
‘डचे वेले’ मा प्रसारित सामग्री (नोभेम्बर १३, सन् २०२२)का अनुसार सिल्बो गोमेरा ९क्ष्दिय न्यmभचब० नामबाट परिचित त्यस ‘सुसेली भाषा’ मा दुईवटा स्वर र चारवटा व्यञ्जन हुन्छन् । ‘ला गोमेरा’ टापुका विद्यालयमा ‘सुसेली भाषा’ को पढाइ हुन्छ । बीबीसी वेबसाइट (जुलाई २१, सन् २०२१) मा प्रकाशित एक लेखअनुसार त्यस प्रकार विशिष्ट सञ्चार पद्धतिलाई युनेस्कोले मानव जातिको मौखिक तथा अमूर्त संस्कृतिको बेजोड नमुना मान्दै सन् २००९ विश्वसम्पदा सूचीमा सूचीकृत गरिसकेको छ । यसलाई मानव जातिले युगौँदेखि प्रयोगमा ल्याएको ‘सुसेली भाषा’ को सर्वोच्च निशानीका रूपमा लिन सकिन्छ ।
नेपाली संस्कृतिमा पञ्चेबाजाको महìव उच्च छ । विवाहमा नौमती बाजा वा पञ्चेबाजा बजाउने युगौँ पुरानो प्रचलन हो । यसले विवाहोत्सवलाई रौनकपूर्ण मात्र बनाउँदैन, सांस्कृतिक सञ्चार पनि गर्छ । विवाहमा घन्कने बाजागाजाले छरछिमेकी तथा बटुवालाई कोही प्रणयसूत्रमा बाँधिँदैछन् भन्ने सञ्चार गर्छ । यसलाई सांस्कृतिक सञ्चारको एउटा महìवपूर्ण हिस्सा मान्न सकिन्छ ।
गाउँघरमा कुनै ठूलाबडा व्यक्ति वा विदेशी पाहुनाको आगमन हुँदा पञ्चेबाजा प्रयोग गरेर स्वागत गरिन्छ । यस प्रकारको परिपाटीले ‘स्वागतम्’ शब्द प्रयोग नगरिकनै पाहुनाप्रति उच्च स्तरको दिलदार स्वागत गर्छ, हार्दिकतापूर्ण भाव दर्साउँछ । कतिपय ऐतिहासिक चलचित्रमा दरबारमा सम्राटको आगमन हुँदा नरसिंहा तथा ढोल बजाइएको दृश्य देखाइन्छ । यसले प्राचीन समयमा दरबारमा महìवपूर्ण व्यक्तिको आगमनबारे जानकारी दिन नरसिंहा वा ढोल प्रयोग गरिन्थ्यो भन्ने ऐतिहासिकलाई उजागर गर्छ ।
झ्यालीलाई पनि पुरानो समयमा सञ्चार–उपकरणका रूपमा प्रयोग गरिएको पाइन्छ । वि.सं. १९०३ मा भएको कोतपर्वमा फत्तेजङ्ग शाह, वीरकेशर पाँडे, दलभञ्जन पाँडेलगायतका ३१ जना उच्च पदस्थ भारदारहरू मारिएको अभिलेख छ । त्यस रक्तरञ्जित घटनामा मृत्युवरण गरेकाहरूको शव बुझ्न आउनु भनी सम्बन्धित आफन्तहरूलाई खबर गर्नुपर्ने भयो । त्यस प्रयोजनका लागि झ्याली पिटिएको प्रसङ्ग इतिहासका पुस्तकमा पढ्न पाइन्छ ।
यस दृष्टान्तले विगतमा झ्यालीलाई सञ्चार–उपकरण वा प्रचार–यन्त्रका रूपमा लिने गरिएको तथ्यलाई प्रस्ट्याउँछ । आज पनि कसैले आफ्नोबारे अस्वाभाविक प्रचार गरेमा ‘फलानाले आफ्नोबारे झ्याली नै पिट्यो’ भनेर टिप्पणी गर्ने गरिन्छ ।
गीत, चलचित्र, रेडियो, टेलिभिजन तथा नाटकमा सङ्गीतले बेग्लै किसिमको ‘केमेस्ट्री’ छ ।
कुनै गीतमा गायक वा गायिकाको वास्तविक स्वर गुञ्जनुभन्दा अघि ३० सेकेन्डदेखि एक–डेढ मिनेट वाद्यसङ्गीत वा धुन बज्छ । यसलाई साङ्गीतिक भाषामा प्रिल्युड ९उचभगिमभ० भनिन्छ । प्रिल्युडले श्रोता वा दर्शकलाई गीतप्रति आकर्षित गर्छ । अर्को शब्दमा भन्दा यसले श्रोता वा दर्शकलाई गीत सुन्न÷हेर्न परोक्ष रूपमा निम्ता मात्र गर्दैन, मानसिक रूपमा पनि तयार गर्छ ।
चलचित्रको कथाले पृष्ठभूमि सङ्गीत ९दबअपनचयगलम mगकष्अ० को माग गर्छ । यसले चलचित्रको कथानक तथा पात्रहरूको दिशा र दशाबारे दर्शकलाई परोक्ष किसिमले जानकारी गराउँछ । सँगसँगै यसले चलचित्रको कथावस्तुमा विकसित घटनाक्रमसँग दर्शकको मनोदशालाई एकाकार गर्न पनि सहयोग गर्छ । रेडियो तथा टेलिभिजनमा समाचार बुलेटिन अघि बज्ने धुनले श्रोता÷दर्शकलाई समाचार सुन्न अप्रत्यक्ष रूपमा निमन्त्रणा गर्छ ।
नाटकमा सङ्गीतको भूमिकालाई उच्च स्थान दिइन्छ । भरतमुनिको बहुचर्चित प्राचीन नाट्यशास्त्र ‘भरत नाट्यम्’ मा नाट्यकर्ममा सङ्गीतको अपरिहार्यताबारे बखान गरिएको छ । त्यस नाट्यशास्त्रमा सङ्गीतले भावसञ्चारमा खेल्ने भूमिकाबारे व्यापक चर्चा गरिएको छ । त्यस बहुश्रुत नाट्यशास्त्रको नाटकमा अभिनय गर्दा शारीरिक हाउभाउ तथा सङ्गीतबीचको पद्धतिबद्ध तादात्म्यबाट भावसञ्चारमा आउने प्रबलता र बेजोडपनबारे विशद चर्चा गरिएको छ ।
यहाँनेर राष्ट्रकवि माधव घिमिरेद्वारा लिखित गीतिनाटक ‘मालती मङ्गले’ को चर्चा गर्नु सान्दर्भिक हुन आउँछ । ‘मालती मङ्गले’ को अभिनय अधिकतम लोकप्रिय रह्यो । नाटक दर्शकले अति रुचाए । नाटक कथावस्तु र साङ्गीतिक पक्षबीच विद्यमान सुन्दर तादात्म्यतालाई यसको अपार सफलता र लोकप्रियताको श्रेयभागी मान्ने गरिन्छ ।
मृत्यु संस्कारमा सङ्गीतले खेल्ने भूमिका अर्को गहन विश्लेषणको पाटो हो । नेपालका तामाङ, गुरुङ, दुरा आदि समुदायमा मृत्यु संस्कार गर्ने क्रममा झ्याली, ढ्याङ्ग्रो तथा शङ्ख बजाउने चलन छ । काठमाडौँ उपत्यकाका नेवार समुदायमा पनि मृत्यु संस्कारमा मुरली तथा अन्य बाजा बजाउने चलन छ ।
यस प्रकारको सङ्गीतले मृत व्यक्तिको आत्मासँग सञ्चार गरेको हुनुपर्छ, जुन बेग्लै अध्ययनको विषय बन्न सक्छ । यसमा सोझै देखिने पक्ष के हो भने मृत्यु संस्कारमा प्रयुक्त सङ्गीतले वरिपरिका गाउँबस्तीका छिमेकी गाउँमा कसैको देहान्त भएको सन्देश दिन्छ ।
यीबाहेक प्रकृति स्वयंले सङ्गीत जन्माउँछ । हावाको प्रवाहले कोरल्ने सुसेली, खोलानालाको कलकल आवाज, झरनाको झरझर, चराचुरुङ्गीको चिरबिर, ढिकीजाँतोको लयात्मक आवाज, वर्षाको सवत, पहरापखेरामा आवाज ठोक्किएर आउने प्रतिध्वनि आदिमा पनि सङ्गीतको अंश रहन्छ, जसबाट कवि हृदय भएका मानिसमा गहिरो भावसञ्चार हुन पुग्छ । यस्ता प्राकृतिक सङ्गीतको वर्णन महाकवि लक्ष्मीप्रसाद देवकोटालायतका प्रकृतिप्रेमी साहित्यकारहरूका रचनामा भेटिन्छन् ।
अर्को स्मरणीय पक्ष के छ भने शब्दमा पनि सङ्गीत लुकेको पाइन्छ । सूक्ष्म किसिमले हेर्ने हो भने हाम्रा पुर्खाले विभिन्न कालखण्डमा रचेका छन्दोवद्ध श्लोक, मन्त्र तथा लयात्मक लोकपद्यमा पनि पर्याप्त साङ्गीतिक तागत भेटिन्छन् । ती पुस्तौँ पुराना लोकसिर्जना एउटा पुस्ताबाट अर्को पुस्तामा मुखैमुख हस्तान्तरण हुँदै आउनु चानचुने कुरा होइन । यसका पछाडि तिनमा विद्यमान सङ्गीतिक रस र लयबद्धता नै मुख्य कारक तìव हुन् ।
भानुभक्तीय रामायण जगत्प्रसिद्ध हुनुका पछाडि पनि त्यसमा खिपिएको जीवन्त भाषाशैली र सङ्गीतमय पदावलीको अतुलनीय भूमिका छ । भानुभक्तीय रामायणले नेपाली लोकजीवनमा छरेको आध्यात्मिक ज्ञान एक विशिष्ट गाथा हो, जसको सफलता महìवपूर्ण ‘केस स्टडी’ बन्न सक्छ ।