• ९ मंसिर २०८१, आइतबार

चिटिक्कै भरतपुर विमानस्थल

blog

चितवन समाचारदाता

चितवन, पुस ६ गते । भरतपुर विमानस्थल कार्यालयले आन्तरिक व्यवस्थापनमा सुधार ल्याएको छ । विमानस्थल प्रयोग गर्ने यात्रुलाई सेवासुविधा दिनका लागि आन्तरिक व्यवस्थापनलाई व्यवस्थित पारेको भरतपुर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । विमानस्थल प्रवेश गर्ने स्थानदेखि कार्यालयभित्रसम्मको व्यवस्थापनमा विशेष निगरानीसहित सुविधा विस्तार गरिएको कार्यालयका प्रमुख दीपक विकले जानकारी दिनुभयो । 

कार्यालय प्रवेश गर्ने स्थानमा आकर्षक ढुङ्गाबाट निर्माण गरिएको धारा, बगैँचा, यात्रु प्रतीक्षालयको व्यवस्थापन, सरसफाइसहितको सुन्दरताका लागि आवश्यक व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मुख्य भवनभित्र बिरामीका लागि अलग्गै कक्ष निर्माण गरिएको छ । त्यस्तै बच्चाका लागि स्तनपान कक्ष, विशिष्ठ व्यक्तिसँग अन्तक्र्रिया गर्न पत्रकार सम्मेलन हल, विशिष्ठ व्यक्तिका लागि आकर्षक कक्ष, विमानस्थलको धावन मार्गको सुरक्षाका लागि सरसफाइ र फेन्सिङ व्यवस्थापन गरिएको प्रमुख विकले जानकारी दिनुभयो । 

विमानस्थलमा आएका यात्रुलाई चितवनको पर्यटकीय क्षेत्र तथा यहाँको ऐतिहासिक तथा महìवपूर्ण स्थलहरूको जानकारी दिने वृतचित्रको व्यवस्था छिट्टै गरिने पनि उहाँले जानकारी दिनुभयो । यात्रुहरूले यहाँ राखिएका भिडियो सामग्रीबाट चितवन जिल्लाको विशेषता र यहाँको पर्यटकीय स्थलको जानकारी पाउन सक्ने गरी व्यवस्था मिलाइने उहाँले बताउनुभयो । 

विमानस्थलको सुन्दरता र सुरक्षाका लागि थप व्यवस्था मिलाइएको प्रमुख विकले बताउनुभयो । विमानस्थल वरिपरि मापदण्डविपरीतका भवनहरू कनुनअनुसार हटाउने र व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिने तयारी रहेको पनि उहाँले बताउनुभयो । विमानस्थल प्रभावित स्थानमा कार्यालयले तोकेको मापदण्डभन्दा बाहिर रहेर कुनै पनि भवन निर्माण गर्न नदिने गरी भरतपुर महानगरपालिकालाई जानकारी गराइएको उहाँले जानकारी दिनुभयो । नक्सा पास गराउँदा तोकिएको मापदण्डमा रहेर र विमानस्थलले तोकेको नियमलाई ध्यानमा राखेर मात्र काम गर्नका लागि कार्यालयको नियम महानगरपालिकालाई जानकारी गराइएको उहाँले बताउनुभयो । जिल्लाको मेघौली विमानस्थलको प्रभावित स्थान क्षेत्रमा पनि मापदण्ड तोकेर अग्ला संरचना निर्माण गर्न नपाइने गरी नागरिक उड्डयन कार्यालयबाट पत्राचार भएको जानकारी दिनुभयो ।