रेखीराम राना
पाल्पा, पुस ५ गते । जिल्ला सदरमुकाम तानसेन–४ स्थित सिल्खानटोलमा पुराना हतियार तोपका गोला भेटिएको छ । नेपाली सेनाले घडेरी खन्दा ऐतिहासिक रूपमा प्रयोग भएको हतियारको गोलाहरू फेला परेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।
सिलेखाना हाल सिल्खान (हतियार खाना) रहेको क्षेत्रमा तोपका २०० बढी गोलाहरू फेला परेको प्रजिअ पन्तले जानकारी दिनुभयो । उक्त गोला कुन समयमा केका लागि प्रयोग भएको भन्ने बारेमा अहिल्यै भन्न नसकेपनि दुई÷तीन वर्ष वर्षअघि प्रयोग भएको हतियार हुन सक्ने प्रजिअ पन्तको भनाइ छ ।
फेला परेको गोलाहरू सङ्कलन गरिएको छ । त्यसलाई नेपाली सेनाले नै सम्बन्धित स्थानमा पुर्याउने जनाएको छ । पाल्पास्थित नेपाली सेनाको दि फेमस महिन्द्रा दल गणका गणपति बालमुकुन्द विष्टले सिल्खान (पाल्पा अस्पताल नजिकै)मा खन्ने क्रममा तोपका गोला फेला परेको जानकारी दिनुभयो । उक्त गोलाहरू सङ्कलन गरेर राखिएको र अहिले पनि उक्त स्थानमा खन्ने क्रम जारी रहेकाले गोलाको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । फेला परेका गोलाहरू माथिल्लो निकायमा पठाउने उहाँले बताउनुभयो ।
उक्त गोलाको बीच भागमा साना प्वाल छन् । उक्त प्वालमा बारुख राखेर फड्काउने गोला हुने सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि, उक्त गोला पड्कने नभई प्रयोग गर्न नमिल्ने पुरानो हतियार मात्रै भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।