• ८ पुस २०८१, सोमबार

सरकार गठनको प्रक्रिया सुरु

blog

नवीन सुवेदी

सुर्खेत,  पुस ५ गते । निर्वाचन आयोगले निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुख तिलक परियारसमक्ष बुझाएसँगै कर्णाली प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुख परियारले २२ पुसभित्रै प्रदेशसभाको अधिवेशन आह्वान गर्नुहुनेछ ।  

अबको एक महिनाभित्र प्रदेश सरकार पनि गठन भइसक्नेछ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउनेछन् । सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल सभामुखको भूमिकामा ज्येष्ठ सदस्य रहनेछन् । ज्येष्ठ सदस्यले नै अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन् । त्यतिन्जेलसम्म दलहरूले संसदीय दलको नेता चयन गरिसक्नुपर्ने हुन्छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख÷उपसभामुखको निर्वाचन गराइसक्नुपर्ने हुन्छ । त्यतिन्जेलसम्म कम्तीमा ५ वटा बैठक सञ्चालन भइसक्छन् । 

प्रदेशसभाका नवनिर्वाचित ४० सदस्यमध्ये ज्येष्ठ सदस्य एमालेका विनोदकुमार शाह हुनुहुन्छ भने सबैभन्दा कान्छो सदस्यको रूपमा रुकुम पश्चिमकी तुल्सा मल्ल हुनुहुन्छ । ज्येष्ठ सदस्यका रूपमा शाहले नै सांसदहरूलाई शपथ खुवाउनुहुनेछ । शाह दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित हुनुभएको हो उहाँ ६६ वर्षको हुनुहुन्छ । सभामुख र उपसभामुख निर्वाचित नहुञ्जेलसम्म ज्येष्ठ सदस्यका रूपमा उहाँले नै सभा सञ्चालन गर्नुहुनेछ । शाहलाई भने प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाउनुहुनेछ । 

यस्तै कर्णालीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा केन्द्रको हातमा रहेको नेताहरूको भनाइ छ । प्रदेशमा सत्तारुढ गठबन्धनको बहुमत छ । गठबन्धनभित्रका दलहरू काँग्रेस, माओवादी र समाजवादीको गरी २८ सिट छ भने एमालेसँग १० सिट छ । गठबन्धनबाट कर्णालीमा काँग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वका लागि दाबी गरिरहेका छन् ।

बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही केन्द्रीय नेताहरूकै सल्लाह अनुसार आफू मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने उद्देश्यसहित प्रदेशमा आएको बताउनुहुन्छ । यो हिसाबले कर्णाली काँग्रेसको भागमा पर्ने आकलन गरिएको छ । तर अन्य प्रदेशको तुलनामा माओवादीको जना धार कर्णालीमा बलियो भएकाले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने माओवादीको दाबी छ । त्यसका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादीका तर्फबाट सुझाव पत्रसमेत पठाइएको छ ।