• १३ साउन २०८१, आइतबार

ग्वंगलाई रमेश विकल वाङ्मय पुरस्कार

blog

काठमाडौँ, मङ्सिर ३ गते । रमेश विकल साहित्य प्रतिष्ठानले ५० हजार रुपियाँ राशिको यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । त्यसैगरी २० हजार रुपियाँ राशिको रमेश विकल सुशीला समाजसेवी पुरस्कार पशुपति क्षेत्रमा लावारिस शवहरूको निःशुल्क सद्गति गरी समाजसेवा गर्दै आउनुभएका सपना रोका मगरलाई प्रदान गरियो । 

रमेश विकल सिर्जना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खाली, रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्कार लक्ष्मी उप्रेती तथा रमेश विकल सङ्घर्षशील नारी सम्मान धर्मशीला चापागाईंलाई प्रदान गरियो । त्यसैगरी रमेश विकल कला–सङ्गीत पुरस्कार वरिष्ठ कलाकार तथा निर्देशक बद्री अधिकारीलाई प्रदान गरियो । यी सबै पुरस्कारको राशि नगद १० हजार रुपियाँ रहेको छ । 

१४औँ विकल स्मृति दिवसका अवसरमा शनिबार राजधानीमा गरिएको कार्यक्रममा यी पुरस्कार प्रदान गरिएको रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले उद्घाटन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रदेश सभासद् छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाललगायतले स्रष्टाहरूलाई पुरस्कार प्रदान गर्नुभएको हो । 

सोही अवसरमा रमेश विकलका प्रतिनिधि कथाहरू र विकलका चार पुस्ताका कथाहरूको लोकार्पण गरियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य शान्ति श्रेष्ठ, साहित्यकारहरू प्राध्यापक डाक्टर हेमनाथ पौडेल, प्राध्यापक जगत उपाध्याय, आलोक चालिसे, महेन्द्र चालिसे, वसन्त रिजाललगायतले नेपाली साहित्यमा विकलको योगदानको  चर्चा गर्दै प्रतिष्ठानका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

चन्द्रशेखर रमेश विकल शोध सम्मान गोरखाका रमेश पोखरेललाई रमेश विकलका उपन्यासमा प्रतिनिधित्व, पहिचान र प्रतिरोध विषयमा दर्शनाचार्य (एमफिल) गरेबापत सोध सम्मान २० हजारको पुरस्कार पनि प्रदान गरिएको थियो ।