• १२ असोज २०८१, शनिबार

२० दिनभित्र प्रदेश सभाको बैठक आह्वान गर्नुपर्ने

प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाइयो

blog

मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाउनुहुँदै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया। तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली 

विराटनगर, पुस २ गते। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाउनुभएको छ। प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम प्रमुख निर्वाचन आयुक्तले मत परिणामसहितको प्रतिवेदन बुझाउनुभएको हो। 

निर्वाचन आयोगले प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाएसँगै अब प्रदेश सभाको बैठक बोलाउन र सरकार गठन गर्ने बाटो खुलेको छ। नेपालको संविधान २०७२ बमोजिम निर्वाचन आयोगले प्रतिवेदन बुझाएपछि २० दिनभित्र प्रदेश सभाको बैठक आह्वान गर्नुपर्नेछ। योसँगै दलहरुले संसदीय दलको बैठक बोलाउने र सरकार गठन गर्ने बाटो पनि खुलेको छ। 

सम्पन्न निर्वाचन परिणाम अनुसार प्रदेश १ को प्रदेश सभामा ६ वटा राजनीतिक दलको प्रतिनिधित्व भएको प्रतिवेदनमा उल्लेख छ। प्रदेश सभा निर्वाचनमा कुल सदर मतको १.५ प्रतिशत मत प्राप्त गरेका दलले समानुपातिकतर्फ प्रतिनिधित्व गरेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो। 

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको कर्तव्यको रुपमा प्रदेश प्रमुखलाई निर्वाचन मतपरिणामसहितको प्रतिवेदन पेश गरेको बताउनुभयो। 

निर्वाचनमा प्रदेश १ मा समानुपातिक निर्वाचनमा सहभागी भएका ३० वटा राजनीतिक दलको धरौटी जफत भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो। कुल सदर मतमध्ये न्यूनतम १.५ प्रतिशत मत प्राप्त गर्न वा प्रत्यक्षतर्फ एक स्थानमा पनि निर्वाचित हुन नसक्ने दलको धरौटी जफत हुने कानुनी व्यवस्था छ। 

प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाएलगतै प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेश सभा सचिवालयलाई समेत प्रतिवेदन बुझाएको जानकारी गराउनुभयो। प्रदेश सभा भवनमा पत्रकार सम्मेलन आयोजना गरेर उहाँले प्रदेश सभा बैठक बोलाउन र सरकार गठन गर्ने बाटो खुलेको जानकारी दिनुभएको हो।