• १३ साउन २०८१, आइतबार

ग्राफिक सञ्चार सार्वजनिक

blog

कलाकार तथा कला शिक्षक अग्रज कार्टुनिष्ट अशोकमान सिंको पुस्तक सार्वजनिक गर्नुहुँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता

काठमाडौं मंसिर २९ गते । कलाकार तथा कला शिक्षक अग्रज कार्टुनिष्ट अशोकमान सिंको ग्राफिक सञ्चार एक परिचय एवं संक्षिप्त इतिहास नामक पुस्तक सार्वजनिक भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बिहीबार पुस्तक सार्वजनिक गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै कुलपति कर्माचार्यले नेपाली कलाको एक अभिन्न अङ्ग ग्राफिक डिजाइनको इतिहासलाई खोतल्न, डिजाइनको र सञ्चारको सम्बन्धबारे थाह पाउन चाहनेका लागि पुस्तक निकै उपयोगी रहेको बताउनुभयो ।

 कार्टुनिष्ट अविन श्रेष्ठले आफ्नो युवा अवस्थामा कामना लगायतका पत्रिका बजारमा आउँदा सो पुस्तकका रेखाचित्र र लेआउटले प्रभावित पार्ने गरेको स्मरण गर्नुभयो । ती डिजाइन र लेआउट अशोकमान सिंको रहेको बताउनुभयो । उहाँले विशिष्टीकृत रूपमा लेआउट डिजाइनको थालनी अशोकमान सिंले नै गरेको दाबी गर्नुभयो।

कला पत्रकार देवेन्द्र थुम्केलीले बहु प्रतिभाका धनी कलाकार सिं लेआउट डिजाइनका अलावा कला लेखन, पत्रकारिता, टोपोग्राफी, दृष्यचित्रण, दृष्टान्त चित्रण मात्र नभई परम्परागत पौभा शैलीको कलामासमेत निपुर्ण  रहेको बताउनुभयो । बहुआयामिक प्रतिभाले निकै मिहिनेत साथ यो पुस्तकमा कार्टुन, फोटोग्राफी र नेपाली छापाको इतिहास समेत खोतलेको बताउनुभयो ।

लेखक सिंले पुस्तकको तयारी १०/१२ वर्ष अघि नै सुरु गरिसकेको तर पुस्तकको कलेवरमा आउन निकै लामो समय कुर्नु परेको बताउनुभयो । प्रज्ञा प्रतिष्ठानबाट पुस्तक तयारीका लागि अनुरोध हुनासाथ कोरोनाको महामारीले खोजीकार्यमा निकै बाधा उत्पन्न भएको बताउनुभयो । पुस्तकलाई मुर्त रूप दिन धेरै पुस्तकालय, सङ्घसंस्था र व्यक्तित्वको योगदान रहेको स्मरण गर्नुभयो ।

३१४ पृष्ठको पुस्तकलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । पुस्तकको मूल्य पाँच सय रुपैयाँ रहेको छ ।